एभरेस्ट प्रिमियर लिग : बाहिरियो पोखरा
काठमाडौं : पोखरा राइनोज एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार जित्नै पर्ने दबाबमा रहेको खेलमा काठमाडौं किङ्स इलाभेनसँग पाँच विकेटले पराजित भएसँगै पोखरा प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको हो ।
पोखराले शुक्रबार प्रतियोगितामा चौथो खेलमा चौथो पराजय बेहोरेको हो । पोखराले अब राउन्ड रोबिन लिगको बाँकी रहेको आफ्नो अन्तिम खेलमा जित हात पारेको अवस्थामा समेत प्ले अफ चरणको यात्रा सम्भव हुने छैन ।
जितसँगै काठमाडौंले भने प्ले अफ चरणको सम्भावना बलियो बनाएको छ । काठमाडौंले तेस्रो खेलबाट दोस्रो जित हात पारेको हो । त्रिवि क्रिकेट मैदानमा आइरिस खेलाडी केभिन ओब्राइनको अल राउन्ड प्रदर्शनमा काठमाडौंले जित निकालेको हो । ओब्राइनले ३५ बलमा अविजित ५४ रन जोड्दै दुई विकेट पनि लिँदा एक सय ६६ रनको लक्ष्य काठमाडौंले निर्धारित ओभरको अन्तिम चार बल अघि पाँच विकेट गुमाएर पार गरेको हो ।
आफ्नो पालीमा तीन छक्का र चार चौका प्रहार गरेका ओब्राइन म्यान अफ दी म्याचसमेत चुनिए । उनले टोलीलाई विजयी बनाउँदा खुसी व्यक्त गरे । ‘सायद आज मेरो दिन थियो । बल र ब्याटमा राम्रो प्रदर्शन भयो’, ओब्राइनले भने, ‘टोलीको जितमा योगदान पु¥याउँदा खुसी लागेको छ ।’
उनीबाहेक कप्तान रोहन मुस्तफाले ३१ बलमा थप ४० रनको योगदान गरेका थिए । नियमित कप्तान सोमपाल कामी अझै चोटमुक्त भई नसकेकाले शुक्रबार पोखराविरुद्धको खेलमा मुस्तफाले काठमाडौंको कप्तानी गरेका थिए ।
त्यसअघि त्रिवि मैदानमा टस हारी पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६५ रनको योगफल तय गरेको थियो । पोखराका लागि प्रारम्भिक ब्याट्सम्यान रिचर्ड लेभीले ३८ तथा कप्तान काइजर र पल कघलिनले समान ३७÷३७ रनको योगदान गरेका थिए । दक्षिण अफ्रिकी लेभीले २१ बलको आफ्नो पालीमा तीन छक्का र चार चौका प्रहार गरेका थिए भने स्कटिस काइजरले २५ बलमा ६ चौका र इङ्लिस कघलिनले एक छक्का र एक चौका प्रहार गरेका थिए ।
टोलीको पराजयपछि पोखराका कप्तान कोइजरले राम्रो खेल्दा खेल्दै पराजित प्रतियोगिताबाट बाहिरिनु पर्दा दुःख लागेको प्रतिक्रिया दिए । ‘सायद प्रतियोगिताभरि नै हामीले फिल्डिङमा खराब प्रदर्शन ग¥र्यौं । प्रत्येक खेलमा दुईचार वटा क्याच ड्रप भए’, उनले भने, ‘प्रत्येक खेलमा ठूलो योगफल तय गरेर पनि प्रतियोगिताबाट बाहिरिँदा दुःख लागेको छ ।’
काठमाडौंका कप्तान मुस्तफाले सबैको मेहनतमा जित सम्भव भएको बताए । ‘आज सबैले राम्रो खेले । सबैको मेहनतमा जित सम्भव भएको छ । चार वर्षअघि नेपालमा यूएई (राष्ट्रिय टोलीबाट) बाट खेल्न आउँदा यहाँको क्राउडले मेरो समर्थन गरेका थिएनन् । आजको खेलमा घरेलु दर्शकको पनि साथ पाइयो’, मुस्तफाले भने, ‘आगामी खेलमा पनि यस्तै प्रदर्शनसहित सीधै फाइनल पुग्न चाहन्छौं ।’
चितवनको सम्भावना बाँकी, विराटनगर दबाबमा
शुक्रबारको पहिलो खेलमा विराटनगर वारियर्सलाई पाँच रनले पराजित गर्दै चितवन टाइगर्सले प्ले अफ चरणको सम्भावना जीवितै राखेको छ । त्यसका लागि चितवनले शनिबार हुने पोखराविरुद्धको खेलमा जित हात पारेर मात्रै पुग्ने छैन, विराटनगरको बाँकी अन्तिम खेलको नतिजासमेत कुर्नु पर्नेछ ।
विराटनगरका लागि भने चितवनसँगको पराजयपछि लिग प्ले अफ चरणमा स्थान सुरक्षित गर्न काठमाडौंविरुद्ध हुने आफ्नो अन्तिम खेलमा कुनै पनि अवस्थामा जित अत्यावश्यक बनेको छ । त्रिवि मैदानमा टस हारी पहिले ब्याटिङ गरेको चितवन टाइगर्सले निर्धारित ओभरमा चार विकेट गुमाउँदै एक सय ९६ रनको योगफल तय गरेको थियो । जवाफी ब्याटिङमा आएको विराटनगरले निर्धारित ओभरमा आठ विकेट गुमाउँदा एक सय ९१ रन मात्रै जोड्न सकेपछि चितवनले प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।
चितवनको जितमा ब्याटिङतर्फ बेलायती खेलाडी जोन सिम्पसन ४४ बलमा ७८ रन जोडे भने र बलिङतर्फ ललित भण्डारीले चार विकेट लिए । बेलायतको यू–१९ राष्ट्रिय टोलीबाट समेत खेलिसकेका सिम्पसनले आफ्नो पालीमा पाँच छक्का र ६ चौका प्रहार गरे । यस्तै दीपेन्द्रसिंह ऐरीले २२ बलमा ३२ तथा सन्दीप सुनारले २२ बलमा ३० रन जोड्दा अर्का बेलायती खेलाडी जर्ज स्कट १० बलमा २४ रन जोड्दै अविजित रहे । ललित म्यान अफ दी म्याचसमेत चुनिए । उनी बाहेक सागर ढकालले पनि तीन विकेट लिएका थिए ।
विराटनगरका लागि बाबरले ४२ बलमा ९० रनको योगदान दिए पनि टोलीको जित सम्भव भएन । ललितको बलमा आउट हुनुअघि बाबरले आठ छक्का र पाँच चौका प्रहार गरेका थिए । पराजयपछि विराटनगरका कप्तान पारसले फिल्डिङ र ब्याटिङमै कमजोरी भएको बताए । ‘आज फिल्डिङमा केही कमजोरी ग¥र्यौं । अतिरिक्त रनहरू गए । बाबरले राम्रो ब्याटिङ गरे तर ब्याटिङमा फेरि पनि सुधार आएन’, पारसले भने, ‘हारको कारण त्यही बन्यो । अब राउन्ड रोबिन लिग चरणको अन्तिम खेल गर या मरको अवस्थामा आइपुगेको छ ।’
चितवनका कप्तान पृथु बाँस्कोटाले पहिलो जितले ठूलो राहत मिलेको प्रतिक्रिया दिए । ‘अब केही आशा पलाएको छ । यसअघिका खेलमा राम्रो गर्दागर्दै पनि पराजय बेहोर्दै आइरहेका थियौं’, पृथुले भने, ‘आजको खेल निक्कै राम्रो भयो । आगामी खेलमा यही रफ्तारलाई कायम राख्न चाहन्छांै ।’
बाबरको छक्काले क्षति
चितवनविरुद्धको खेलमा विराटनगरका हङकङेली खेलाडी बाबर हायातले छक्का प्रहार गरेको बलले लागेर ईपीएल आयोजक जोहरा स्पोटर्स म्यानेजमेन्ट कम्पनीका मालिक आमिर अख्तरको गाडीमा क्षति पुगेको छ । बाबरले प्रहार छक्का प्रहार गरेको बलले लाग्दा पार्किङ गरिराखेको अख्तरको गाडीको अगाडिको सिसा फुटेको हो ।
एक हात क्याच लिनेलाई ५० हजार
जारी ईपीएलअन्तर्गत विराटनगरविरुद्धको खेलमा चितवनका बेलायती खेलाडी जर्ज स्कटले छक्का प्रहार गरेको बललाई एक हातले क्याच लिएका कृष्णबहादुर भण्डारीले ५० हजार पाउने भएका छन् । आयोजकले टेलिभिजन फुटेजमार्फत एक हातले क्याच लिएको निश्चित गरी उनलाई रकम हस्तान्तरण गरिने जनाएको छ । आयोजकले खेलको दौरान छक्का आएको बललाई एक हातले क्याच लिने दर्शकलाई ५० हजार पुरस्कार प्रदान गर्ने जनाउँदै आएको छ ।