अलैंलीकाे भएन भर

अलैंलीकाे भएन भर

भोजपुर : करिब तीन वर्षअघि हरेक गाउँमा अलैंचीको मूल्य प्रतिमन ८५ हजारदेखि एक लाख १० हजार रुपैयाँसम्म थियो। दलालहरू गाउँमै आएर अलैंची खरिद गर्थे। त्यो देखेर भैसीपंखा जिमीगाउँका दुर्ज राई दंग थिए।

आफ्नो ५ रोपनी जग्गामा फलेको साढे सात मन अलैंचीले राम्रो भाउ पाएपछि उनले सयौं मुरी धान फल्ने १९ रोपनी खेतमा इलामबाट राम्रो जातको अलैंची बेर्ना ल्याएर रोपे। तर, अलैंची खेतीले माथि पुर्‍याउला भन्ने सोचले हात धोएर लागेका उनलाई त्यसको पछिल्लो वर्ष अलैंचीको सधैंको तुलनामा भाउ आधाभन्दा धेरै घटेपछि उनको मेहनतमाथि पानी फिर्‍यो।

मूल्य घटे पनि अलैंचीबाट घाटा नहुने आशले दिनरात बिताएका दुर्जलाई त्यसको पछिल्ला वर्षमा भाउ झनझन गिर्न थालेपछि उनी चिन्तित बने। अलैंचीको मूल्यमा आएको क्रमिक गिरावटले उनलाई अलैंची खेती काउसो बनेको छ।

‘बर्सेनि भाउ घटेको घट्यै छ। फलेको अलैंचीको आम्दानीले काम गर्ने श्रमिकलाई दिने ज्यालासम्म धान्न गाह्रो भइसक्यो। खै खेती छोडौँ भने त्यत्रो खेत बरबाद पारियो, गरौँ भने पनि भाउ राम्रो छैन’, उनले भने, ‘सुरुमा दलालीहरू अलैंची खरिद गर्न घरमै आएपछि राम्रो होला भनेर खेत मासेर अलैंची लगाइयो। अन्तिममा भाउ एकाएक घटेपछि दलाल पनि गाउँ पस्न छाडे।’

०७२ सालमा अलैंचीको भाउ आकासिएपछि भोजपुरका किसान जोडतोडले अलैंची विस्तारमा लागि परे। तर बर्सेनि क्रमिक रूपले मूल्यमा आएको भारी गिरावटले सारा मेहनत खेर गएपछि उनीहरु अलैंची खेतीमा हौसिन पुगे। राम्रो भाउ पाएपछि छोराछोरीको पढाई र घरगर्जो राम्रै धान्ने आसले भएको धानखेती थाँती राखी अलैंची लगाएका भैँसीपंखाकै अर्का अलैंची कृषक प्रेमकुमार राईलाई पनि उस्तै पीडा छ।

अलैंचीको आम्दानीभन्दा ज्यालादारीमा काम लगाइने श्रमिकलाई ज्याला वरपर छरछिमेकमा ऋण लिँदै तिर्ने गरेको सुनाउँदै उनले भने, ‘भाउ नभएपछि ज्याला दिनै छिमेक आफन्तमा सरसापट गरेर चलाउनु परेको छ। के गर्नु अलैंचीको आम्दानीले धान्न छाडिहाल्यो। मेहनत मात्रै धेरै जान्छ, मूल्य छैन।’

अन्तर्राष्ट्रिय बजारमै नेपालबाट निर्यात गरिने अलैंचीको मूल्यमा आएको गिरावटले आम्दानीभन्दा श्रम ज्यादा हुने गरेको किसानको गुनासो छ। अलैंची उत्पादनअनुसार मूल्य नभएपछि सिजनका बेला ३५/३६ दिनसम्म लगातार बगानमा अलैंची टिप्ने, छोडाउने, सुकाउने, ओसार्ने, गोड्मेल गर्ने, पानी लगाउने काममा श्रमिकलाई दिइने ज्याला मात्रै दुई लाखसम्म लाग्ने गरेको अलैंची कृषक सुनाउँछन्।

उत्पादन घटेर वर्षमा अलैंची ६ देखि ७ मनसम्म फलाउने किसानलाई आम्दानीभन्दा ज्याला बढी तिर्नुपरेको पीडा एकातिर छ अर्कोतिर भाउ लगाउने दलालीले कमसल भन्दै अलैंची नउठाइदिने सबै मेहनत खेर जाने जिमीगाउँकै अर्का अलैंची कृषक देउचन्द्र राई गुनासो गर्छन्।

उनका अनुसार गाउँमा एकजनाको अलैंची बगानमा करिब डेढ–दुई सय हाराहारी खेतालालाई पाँच सय रुपैयाँका दरले खेताला लगाइन्छ। उनीहरूलाई मेलामा गएका खेतालालाई भन्दा राम्रो खाना, खाजा दिनुपर्दा आम्दानी सोचेजस्तो नहुने उनको बुझाइ छ।

गाउँ आउन छोडे व्यापारी

अलैंचीले भाउ नपाएपछि अलैंचीको ठेक्का, ढुवानी गर्ने व्यापारी गाउँ पस्न छाडेको टेम्केमैयुङ गाउँपालिका छिनामखुका अलैंची कृषक सुमन प्रधान बताउँछन्। ‘अलैंचीले भाउ पाउन छोडेपछि यो पेसालाई निरन्तरता दिने कि नदिने भन्नेमा द्विविधा छ।

अझै पनि गाउँका ६÷ ७ घरको ३० मनभन्दा बढी अलैंची थन्किएका छन्। भाउ घटेपछि अलैंची ठेकेदार पनि गाउँ पस्न छाडिसकका छन्’, प्रधानले भने, ‘अलैंचीको भाउ घट्नुमा बाहिरी बजारबाटै विवाद भएको हो वा नेपाल सरकारकै कमीकमजोरी भएको हो भन्ने पनि छ।’

अलैंचीको भाउ ओरालो लाग्दा किसानलगायत ठेकेदार पनि मारमा परेको देखिन्छ। गत वर्षको तुलनामा यो वर्ष अलैंचीको भाउमा भारी गिरावट आएपछि राम्रो भाउको मौकामा बसेका ठेकेदारले पनि गाउँबाट उठाएका अलैंचीका बोरा गोदाममै थन्क्याउनुपरेको छ।

‘राम्रो भाउ पाइन्छ भनेर गाउँबाट अलैंची उठाइयो अहिले घट्दा कसरी ढुवानी गर्ने दोधारमा छौँ’, एक अलैंची व्यापारी मणिकुमार राईले भने, ‘एक्कासि अलैंचीको भाउमा आएको भारी गिरावटपछि गोदाममा बोराकाबोरा अलैंची त्यत्तिकै थन्क्याउनुपर्ने अवस्था छ।’

कृषि ज्ञान केन्द्र भोजपुरको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३÷७४ मा जिल्लामा कुल एक सय ५५ मेट्रिक टन अलैंची उत्पादन भएको थियो। उत्पादन भए पनि अन्तर्राष्ट्रिय भाउमा आएको उतारचढाव र गुणस्तरीय अलैंची उत्पादन हुन नसक्नाले अलैंचीले राम्रो भाउ नपाइरहेको केन्द्रका सूचना अधिकारी भट्टराईले बताए। उनका अनुसार अहिले अलैंचीको मूल्य एक्कासि खस्किएपछि अलैंची किसान, ठेकेदारले सस्तोमै अलैंची बेचविखन गर्नुपर्ने समस्या खेप्नुपरेको हो।

बाँदर आतंकले हैरान

उत्पादनमा आएको कमी एकातिर अर्कोतिर अलैंची कृषकलाई बाँदर आतंकले सताएको छ। विशेष गरी खोलाबगरका क्षेत्रमा बाँदरले अलैंची सखाप पार्न थालेपछि कृषक चिन्तित बनेका हुन्। वर्ष दिनसम्म गोडेको, मलजल, स्याहारसुसार गरेको अलैंची बाँदरले खाने, बोट डाँक्ला भाँचिदिने गर्दा किसानले हैरानीले बेहोर्नु परेको सुनाए।

रोगले थप्यो चिन्ता

मुख्य नगदेबालीको रूपमा लिइने अलैंची खेतीमा रोग देखिन थालेपछि पछिल्लो केही समययता कृषक चिन्तित बनेका छन्। मेहनतले लगाएको अलैंचीमा पातमा कीरा लाग्ने, छिर्के फुर्के, गानो कुहिने, पात कालो भएर सुक्ने जस्ता रोग र ढुसीजन्य प्रकोप देखिएपछि खेती नै मासिने अवस्थामा पुगेको छ।

 रोग पहिचान भए पनि विविध जैविक कीटनासक औषधि प्रयोगले पनि रोग नियन्त्रणमा नआउनाले अधिकांश अलैंची बगान खाली हुने क्रममा रहेको भोजपुर हेलौछाका पूर्णबहादुर गुरुङको गुनासो छ। उनले भने, ‘अलैंचीबाट राम्रो आम्दानी हुन्छ भनेर खेती सुरु गरेँ तर रोग लागेर बगान खाली हुने अवस्थामा पुगेको छ।’

षडानन्द नगरपालिका दिङ्लाका मक्कर तामाङले रोग विस्तारै पूरै बगानमा फैलिएको र बोट धमाधम मर्न थालेकाले अलैंचीको सट्टा अन्य बाली लगाउन सुरु गरिएको बताए।

यता कृषि ज्ञान केन्द्र भोजपुरले अलैंचीमा लागेको रोग नियन्त्रण गर्ने क्रममा रहेको बताएको छ। अलैंचीमा देखिएको रोगको प्रकोपलाई नियन्त्रण गर्न बगान व्यवस्थापन र प्रांगारिक मलको प्रयोग गर्नुपर्ने केन्द्रका सूचना अधिकारी युकमणि भट्टराईले बताए। उनका अनुसार अलैंचीमा लागेको रोगका कारण जिल्लाको अलैंची उत्पादनमा समेत ह्रास ल्याएकाले रोग नियन्त्रण गर्न कार्यालयले प्राविधिक सहयोग गरिरहेको र दक्ष प्राविधिक त्यस क्षेत्रभित्र खटाइरहेको छ।

साबिक जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लाका दोभाने, खावा, ओख्रे, तिम्मा, श्यामशिला, षडानन्दा नगरपालिका, कोट, सिद्धेश्वर, चम्पे, बोखिम, भैंसस्पंखा, बोया, गोगने, खार्ताम्छा, कुदाककाउले, हेलौछालगायत स्थानमा करिब तीन सय ६० हेक्टर क्षेत्रमा अलैंची खेती गरिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.