जसले बाँड्दै छन् स्कुलमा प्याड
वीरगन्ज : पर्साको ग्रामीण भेगका सामुदायिक विद्यालयमा सेनिटरी प्याडको प्रबन्ध नहुँदा रजस्वलाका बेला किशोरीहरू चार–पाँच दिन घरमै बस्थे। स्कुल आएकै बेला रजस्वला भयो भने उनीहरू बिसञ्चोको बहाना बनाएर घर जान्थे। तर, अब उनीहरूले यस्तो अवस्थामा पढाइ छुटाउनुपर्ने बाध्यता हटेको छ।
मकवानपुरको हेटौंडा स्थायी घर भई काठमाडौंमा बस्दै आएका माधवप्रसाद भण्डारीले बिहीबार प्याड निःशुल्क वितरण गरेका छन्। उनले पाँच स्कुलमा २ सय थान प्याडसँगै साबुन र हेन्डवास उपलब्ध गराएका हुन्। ‘पर्सामा कम्तीमा १ सय ५० स्कुलमा पुगेर प्याड बाँड्ने लक्ष्य छ’, उनले भने, ‘अब केही दिनमा बाँकी विद्यालयमा पुग्छु।’
पर्साका छात्राको अवस्थाबारे समाचार सुन्दा नमज्जा लागेपछि सहयोग गर्न आएको उनले सुनाए। ‘एक महिनाअघि म गाडी चढेर पूर्व जाँदै थिएँ, पथलैयाको हाइवेमा पुगेका बेला रेडियो समाचारमा पर्साका स्कुलमा सेनिटरी प्याड नहुँदा किशोरीहरू रजस्वलाका बेला घरमै बस्ने गरेको सुनें’, उनले भने, ‘साह्रै नमज्जा लाग्यो। त्यही भएर पर्साका स्कुल–स्कुलमा प्याड बाँड्न थालेको हुँ।’
भण्डारीको अभियानले छात्रा पनि उत्साहित देखिएका छन्। ‘पहिले त रजस्वला हुने बेला भयो भने पछि हामी चार–पाँच दिन स्कुल नआई घरमै बस्थ्यौं। स्कुल आएको बेला रजस्वला भइहाल्दा बिरामीको बहाना पारेर घर दुर्गथ्यौं’, रामचरित्र भगत मावि पकाहाकी छात्रा पूजाकुमारी चौहानले भनिन्, ‘तर, अब हामीलाई ढुक्क भएको छ। स्कुलमै रजस्वला भइहाल्यो भने पनि बीचमै क्लास छाडेर घर जानुपर्दैन अब।’
पूजाकी सहपाठी अन्तिमा कुमारीले अब पढाइ बिग्रिने चिन्ता हटेको बताइन्। ‘रजस्वलाका बेला स्कुल छाडेर घरमै बस्नुपर्ने बाध्यता थियो’, उनले भनिन्, ‘तर, अब स्कुलमै प्याड राखिएको छ। त्यसैले अब पढाइ बिग्रिने चिन्ता पनि हटेको छ।’
भण्डारीले छोरी रोजका नाममा रोज बहिनी सिर्जनशील महिला समाज स्थापना गरेका छन्। उनी संस्थाका संरक्षक छन्। छोरीले गाउँघरका दिदीबहिनीका लागि सामाजिक काम गरिदिन आग्रह गरेकाले यो काम गर्न थालेको उनले बताए। उनले संस्थामार्फत यसअघि रोल्पा, कञ्चनपुर, भोजपुर, दाङ, सुर्खेत, बाँके, कैलाली, नवलपरासी, धादिङलगायत जिल्लाका ग्रामीण भेगमा प्याड बाँडेका थिए। विपन्न समुदायका किशोरी अध्ययनरत स्कुलमा पुग्ने लक्ष्य रहेको उनले सुनाए। ‘यो कामका लागि मैले डेढ करोड रुपैयाँ छुट्याएर राखेको छु’, उनले भने।
ग्रामीण महिलाले रजस्वलाका बेला फोहोर कपडाको टालो प्रयोग गर्छन्। यसबाट संक्रमण भई अनेक रोग लाग्ने जोखिम पनि हुने उनले बताए। ‘त्यसैले हामीले निःशुल्क रूपमा प्याड दिएर मिन्सका बेला प्याड नै प्रयोग गर्ने बानी बसाल्न खोजेका हौं’, उनले भने, ‘स्कुलका नानीहरूलाई यो बानी पर्यो भने उनीहरूले आमा–भाउजूहरूलाई सिकाउँछन्।’
स्कुलमा प्याड सकिनेबित्तिक्कै थप पठाइने समाजकी प्रदेश २ संयोजक माधुरी महतोले बताइन्। ‘स्कुलमा निरन्तर प्याड वितरणका लागि स्थानीय तहसँग सहकार्य गर्ने योजना छ’, उनले भनिन्, ‘सहकार्य गर्दा हामी धेरैभन्दा धेरै स्कुलमा पुग्न सक्छौं। स्थानीय तहले सहकार्य गर्न चाहेनन् भने संस्थाले आफ्नो बजेटले भ्याएसम्म काम गर्छ।’ प्याड बाँडेका स्कुलमा किशोरी क्लब गठन गरिएको उनले सुनाइन्। क्लबले नै स्कुलको शौचालयमा दिनहुँ प्याड बक्स राखिदिने उनको भनाइ छ।
पहिलेजस्तो अब किशोरीको पठनपाठनमा असर नपर्ने शिक्षकले बताएका छन्। ‘रजस्वला हुने बेलादेखि नै किशोरीहरू स्कुल नआउने समस्या थियो। कसैलाई पढिरहेका बेला रजस्वला भयो भने बीचमै घर दगुर्नुपर्ने बाध्यता थियो। यसले उनीहरूको पढाइ बिग्रिन्थ्यो’, सेढवास्थित नेपाल राष्ट्रिय माविकी शिक्षिका सुचिता यादवले भनिन्, ‘स्कुलमै प्याडको व्यवस्था भएपछि भने उनीहरूलाई स्कुल छाडेर घर जानुपर्ने अवस्था रहँदैन।’
पर्साको बिरन्चीबर्वास्थित दिव्यकन्या माविका प्रधानाध्यापक रामयतन प्रसादका अनुसार बजेट अभावमा प्याडको प्रबन्ध हुन सकेको थिएन। ‘ प्याड नहुँदा छात्राहरूको पढाइ बिग्रिरहेको थियो’, उनले भने, ‘तर, संस्थाले स्कुलमै प्याड ल्याएर राखिदिएकाले छात्राको पढाइमा पनि सुधार आउँछ।’
संस्थाले महिला हिंसाका घटना र लैंगिक विभेदविरुद्ध पनि काम गर्दै आएको संयोजक महतोले सुनाइन्। उनका अनुसार क्लबका सदस्य हिंसाका घटना रोक्न सक्रिय रहेको उनको भनाइ छ।