कविता : एउटा यक्ष प्रश्न
रमाउँदै रमाउँदै हामफालेर हिँड्ने
झरना, खोला र छाँगाहरूले
किन गाउन छाडे संघर्षका गीत ?
अहिले शिशिरलाई काँधमा राखेर
कुम्भकर्ण पहाड उक्लिरहेको समय देख्दा
प्रश्न यही उब्जिन्छ,
र म आधा झुकेको झण्डामुनि सीधा उभिएको छु ।
मेरा आँखाअगाडि—
जनयुद्धताका एम्बुसमा परेर छुटेको खुट्टा
प्रश्नैप्रश्नको तबेलामा उभिएको छ,
जनयुद्धताका नै छुटेको
कुनै नाबालिगको जामा पनि छ
जसले न्यायको बधशालामा प्रश्नहरूको तरबार बोकेकी छे
प्रश्नहरूकै मसाल बोकेर उभिएको छ—
कुनै आन्दोलनमा परिचय गुमाएको भूमिपुत्र
सायद जे नहुनुपर्ने हो
त्यो भइरहेको समय हो यो
अनि म आफैं प्रश्नविहीन भएर यति बेला
आधा झुकेको झण्डामुनि सीधा उभिएको छु ।
मेरो छेउमै उभिएको शासकको साालिक
जादु देखाउँदा–देखाउँदै जादु बिर्सिएको जादुगर जसरी
ङिच्च हाँसिरहेको छ
सायद,
हुनसक्छ उसको हाँसो आफैंप्रतिको लज्जाबोध हो
या हो तमाम परिवर्तनप्रतिको खिसिट्युरी
यो समय
म सीधा उभिएको छु आधा झुकेको झन्डामुनि
मेरो कानमा प्रश्नका आवाज थर्किरहेका छन्
कुनै आवाज— पुछिएको सिन्दूरको जस्तो लाग्छ
कुनै आवाज— छोरा कुरिरहेको बाआमाको जस्तो लाग्छ
कुनै आवाज— श्रीमान्को यादमा ओछ्यान छोइरहेकी महिलाको जस्तो लाग्छ
कुनैकुनै आवाज भने कलिला नानीहरूका जस्तो लाग्छ
जसले अँध्यारो भविष्यमा आफूलाई खोज्नुपर्नेछ
यति बेला यी तमाम प्रश्नलाई एकछिन थाती राखेर
एउटा प्रश्न गर्न मन छ—
सरकार ! तिमीले देखिरहेको सपनाको रंग कस्तो छ ?