'समयचेत'मा छुटेका सवाल
भेनेज्वेलाकी अभिनेत्री एलिसिया क्याकाडो भन्छिन्, ‘ग्ल्यामर अस्थायी हो, चेतना सधैंका लागि।’ एउटी ग्ल्यामरस अभिनेत्रीको यस्तो महान् आत्मस्वीकृतिको प्रशंसा जति गरे पनि कम हुन्छ। यही ऐनामा कस्मेटिक र कालजयी लेखनको प्रतिबिम्ब हेर्न सकिन्छ।
समयचेत अर्थात् इतिहासचेत भएका साहित्य नै कालजयी हुन्छन्। तर, नेपाली मिडिया र पुस्तक बजारमा कस्मेटिक लेखनलाई केन्द्रमा राखेको देखिन्छ। यस्तो लेखनको प्रवद्र्धनमा प्रायोजित साहित्य उत्सव, पुस्तक प्रकाशक, बिक्रेता, दलाल, मिडियाकर्मी, ठुटे समीक्षक, लेफ्टिस्ट एलिट, एलिटिस्ट डेमोक्रेट र निखिल हल्लावाजहरूको अघोषित र अपवित्र गठबन्धन छ।
अहिलेलाई नेपाली लेखनको सबैभन्दा ठूलो समस्या र अवसर दुवै यिनै हुन्। अवसर कुन अर्थमा भने आज बजारअनुकूल लेख्न सक्ने जति कमजोर लेखक पनि टिक्न सक्छ। यही प्रवृत्ति बजारको पछि नलाग्ने लेखकलाई समस्या हुन्छ। यहाँनिर फ्रान्सेली कवि तथा फिल्मकार जँ कोक्टोको कथन स्मरणीय छ, ‘कला र फेसनमा गजबको भिन्नता हुन्छ। कलाले कुरूप चिज जन्माउँछ जो पछि सुन्दर हुन्छ। फेसनले सुन्दर चिज जन्माउँछ जो पछि कुरूप हुन्छ।’
नेपाल अध्ययन केन्द्रले केहीअघि नगरकोटमा ‘समयचेतना–३’ शीर्षकमा एउटा विमर्श चलायो। नेपाली साहित्यको आगामी मार्गचित्रबारे लेखक संगीत श्रोता र नेपाली लेखनप्रति राजनीतिक नेता, कार्यकर्ताको दृष्टिकोणबारे नेकपाभित्रका सदाबहार प्रतिपक्षी नेता घनश्याम भुसालले अवधारणापत्र प्रस्तुत गरे। अवधारणापत्रमाथिको विमर्श कस्तो भयो भन्ने त्यति महत्वपूर्ण भएन, जति कार्यक्रमले उठाउन खोजेको कुरा महत्वपूर्ण थियो।
दुवै कार्यपत्रमाथि टिप्पणी गर्ने प्रायः तिनै थिए, जो साहित्य पढ्नमा रुचि छैन भनेर साहित्यमाथि टिप्पणी गरिरहेका थिए। खगेन्द्र संग्रौला, नारायण ढकाललगायत सीमित व्यक्तिबाहेक सबैजसो टिप्पणीकार गैरसाहित्यिक नै थिए। श्यामल, नयनराज पाण्डे, शार्दूल भट्टराई, राजेन्द्र पराजुली, आभास, स्वप्निल स्मृति, केशव सिलवाल, श्याम साह, राजु स्याङ्तान, गणेशकुमार राईलगायत स्रष्टालाई बोल्ने मौका नै मिलेन। विमर्शमा उठाउनैपर्ने केही सवाल यस्ता थिए, जुन अन्तैतिर अलमलियो।
भानुभक्त कि रिमाल ?
नारीबारे भानुभक्त आचार्य र गोपालप्रसाद रिमालका फरक धारणा झल्काउने तलका दुई कवितांशबाट प्रसंगको थालनी गरौं।
हाँस्नू छैन कदापि नारिहरुले बेश्या हुने हाँस्तछन्।
बेश्या लौ नहउन् तथापि घरको काम् ती सबै नास्तछन्।।
एक्लै हाँस्न हूँदैन कोहि नभई अर्को सँगी भो जसै।
हाँस्तैमा दिन जान्छ एहि रितले सब् काम बित्छन् तसै।। १९।।
–भानुभक्त आचार्य, ‘बधुशिक्षा’ को अंश
‘नारी’ शब्द बोल्दाखेरि देखिएको तिम्रो आँखाको चमलाई
मेरो हृदयको गहिराइमा नहराउने गरी छाड्न नबिर्से
किनभने त्यो चमक नभए नारीउपरको हरेक विचार
रुखो हुँदोरहेछ, त्यो चमकबिना
नारी ‘नारी’ शब्दमा अटाउन पनि अटाउन्न।
–गोेपालप्रसाद रिमाल, ‘नारी’ कविताको अंश
कालजयी लेखकका सिर्जना युगौंयुग सान्दर्भिक हुन्छ। माथिको उदाहरणबाट प्रस्ट हुन्छ, रिमालको चेतनालाई आजका कविले समेत भेट्न मुस्किल पर्छ जब कि भानुभक्तको चेतना मध्ययुगीन छ। तर, नेकपाको एउटा सांस्कृतिक समूह मदन भण्डारी फाउन्डेसनको पहलमा भानुभक्त आचार्यको जन्मजयन्ती मनाउन गत असारमा हिमवत् खण्ड बृहत् साहित्य सम्मेलन वा यस्तै शीर्षकमा काठमाडौंमा एउटा नामी प्रहसन गरियो।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आँसुकविता सुनाए। डा. विजय सुब्बाजस्ता अग्रगामी र आदिवासी सौन्दर्यचेतयुक्त लेखक तथा नेता अध्यक्ष रहेको संस्थाले गणतन्त्रमा पनि भानुभक्तलाई आदर्श कवि मानेर उत्सव मनाएको देख्दा नेपाली साहित्य हुनसम्म लज्जित भयो। भानुभक्त आचार्यको अपमान गर्नुपर्ने कुनै कारण छैन। उनको सरस, सरल र सुललित भाषा, सिर्जनशीलता र आफ्नो समयमा उनले नेपाली साहित्यलाई लगाएको गुनको कदर गर्नैपर्छ।
त्यसो भन्दैमा गणतन्त्रमा उनलाई आदर्श कवि मान्नु ठूलो दृष्टिदोष हो। उनका अधिकांश रचनाको चेत मध्ययुगीन अर्थात् ‘सौताको रिस गर्नु पाप छ बहुत एकै दुवैका पति, मर्दामा पनि जानुपर्छ जसले मिलेर सँगै सती’ स्तरको वा आदर्श रामराज्यको जस्तै छ।
वाल्मीकि, तुलसीदास वा भानुभक्तले जस्तै हाम्रा गणतन्त्रवादी नेता पनि अझै आदर्श राज्यको उदाहरण दिँदा रामराज्यलाई अगाडि सार्छन्। उनीहरू अझै पनि रामलाई आदर्श पुरुष र सीतालाई आदर्श नारी मान्छन्। राम चलाख, वीर र कूटनीतिक त थिए, उत्तिकै जातिवादी र पत्नीपीडक पनि थिए। उनकै आक्षेपका कारण सीताले आत्महत्या गर्नुपर्यो।
सीतालाई आदर्श नारीका रूपमा राष्ट्रिय विभूति मान्नुको सन्देश के हो भने अन्यायमा परेका नारीले सहनु केवल सहनु, केही नलागे आत्महत्या गर्नु। भानुभक्तलाई आदर्श मानेर राज्यको आर्थिक सहयोगमा त्यत्रो कार्यक्रम गर्नुको अर्थ त्यही चेतनालाई अँगाल्नु हो। हाम्रा प्रगतिशील र अग्रगामी भनिएकै मित्रहरूको पहलमा भएको यस्तो कार्यक्रमलाई के भन्ने ? किन उनीहरू रिमाल जस्ता उच्च चेतनाका कविलाई सम्झन समेत चाहँदैनन् ?
किनभने उनले आमाको सपना, प्रति, होस, मेरो प्रेमको कथा, नारी, सान्त्वना, एक दिनमा एक चोटि आउँछ, परिवर्तन, तिमी र म, दन्त्यकथा जस्ता उच्च चेतनाका कविता लेखेका थिए। किन उनीहरू भूपि शेरचनलाई महत्व दिँदैनन् ? किनभने उनले आफ्ना कवितामा हामी नेपालीको मनोदशा र चरित्र छताछुल्ल पारिदिएका थिए।
प्रस्ट छ, सिर्जनाको प्राण चेतना हो। सिर्जना विशुद्ध कला मात्र हुँदो हो त गणतन्त्रमा नयाँ राष्ट्रिय गीत नै जरुरी हुँदैनथ्यो। संगीतको उचाइका दृष्टिले नयाँ राष्ट्रिय गीत ‘सयौं थुंगा फूलका हामी’ भन्दा पुरानो ‘ श्रीमान्, गम्भीर’ धेरै भव्य थियो। तर, नयाँ राष्ट्रिय गीत किन स्थापित गरियो भने यसमा गणतन्त्रकालीन समाजको चेतना र राष्ट्रिय एकताप्रति नयाँ धारणा छ। राज्यको सहयोगमा हुने कार्यक्रममा भानुभक्तको जयगान गर्नु भनेको पुरानै राष्ट्रिय गीतलाई स्थापित गर्न खोज्नुजस्तै हो।
अनेक अन्तर्राष्ट्रिय पुस्तकका उदाहरण दिने बुद्धिजीवीहरूले नगरकोटमा यो महत्वपूर्ण सवालप्रति ध्यान दिएनन्।
घोडा तान्ने बग्गी
रुसी साहित्यकार म्याक्सिम गोर्की र तत्कालीन सोभियत नेता लेनिनबीच प्रेम र संघर्षमय सम्बन्ध प्रसिद्ध छ। गोर्की दुई दिनसम्म रेल चढेर लेनिनलाई भेट्न मास्को आउँथे। लेनिन नेतृत्वको त्रुटिको फेहरिस्त प्रस्तुत गर्थे। यी दुईबीच चर्को बहस र बाझाबाझ हुन्थ्यो। गोर्कीसँग लेनिन रिसाउनुसम्म रिसाउँथे। ‘तपाईंको सुझाव लागू गर्न असम्भव छ’ भनेर हकार्थे। अन्ततः उनी गोर्कीकै सुझावअनुसार आफूलाई सच्याउँथे।
सबैलाई थाहा छ, प्रधानमन्त्री केपी ओली अत्यन्त प्रभुत्वशाली छन्। उनी सबैमाथि हावी हुन्छन्। महाकवि देवकोटाको घर सरकारले किनेर त्यसलाई राष्ट्रिय संग्रहालय बनाउन उनले प्रशंसनीय पहल गरेका हुन्। मलाई लाग्दैन, यो कुनै साहित्यिक वा नेकपाका सांस्कृतिक संगठनको सुझावमा वा उनीहरूसँग छलफलपछि भएको निर्णय हो।
सिर्जना विशुद्ध कला मात्र हुँदो हो त गणतन्त्रमा नयाँ राष्ट्रिय गीत नै जरुरी हुँदैनथ्यो। राज्यको सहयोगमा हुने कार्यक्रममा भानुभक्तको जयगान गर्नु भनेको पुरानै राष्ट्रिय गीतलाई स्थापित गर्न खोज्नुजस्तै हो।
प्रधानमन्त्रीलाई यो गर्नु ठीक लाग्यो, सकियो। सुनिएको छ, भानुभक्तको सम्झनामा बृहत् साहित्य उत्सव गर्ने मनसुवा पनि प्रधानमन्त्री ओलीबाटै आएको हो। राष्ट्रपतिका रूपमा हिन्दु मन्दिरमा भएका औपचारिक पूर्जाअर्चना, दसैंमा टीका थाप्न राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको सार्वजनिक आह्वान पनि सल्लाहकार वा संस्कृति क्षेत्रका व्यक्तिको सुझावमा भएको पक्कै होइन होला। यसो हो भने यहाँ घोडाले बग्गी तानिरहेको छैन, बग्गीले घोडा तानिरहेको छ।
निश्चय पनि प्रधानमन्त्री देशका कार्यकारी प्रमुख हुन्। नीति, निर्णय कार्यान्वयनको नेतृत्व उनैले गर्ने हो। तर, देशको संस्कृति निर्माणको ज्ञाता उनी हुँदैनन्। अतः त्यसको अगुवाइ कार्यकारी प्रमुखले होइन, संस्कृति क्षेत्रकै विज्ञहरूले गर्नुपर्छ, जसरी लेनिनको गल्ती औंल्याउने र बाटो देखाउने काम गोर्कीले गर्थे।
नगरकोटमा यी र यस्ता सांस्कृतिक सवाल उठाउने पनि कोही भएन।
वर्ग र वर्णा श्रम
कार्ल माक्र्स र फ्रेडेरिक एंगेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ सन् १८४८ मा प्रकाशित भयो। प्रा. माणिकलाल श्रेष्ठका अनुसार यो त्यस वर्ष फेब्रुअरी १ मा पहिलो पल्ट पर्चाका रूपमा निकालिएको थियो। मेनिफेस्टोबारे उत्तर कोरियाका पूर्वराष्ट्रपति किम इल सुङले भनेका थिए, ‘उहाँहरूको समय र अहिलेको समय धेरै फरक छ। परिस्थिति बदलिसकेको छ।
त्यसकारण यसमा धेरै कुरा बदल्नुपर्छ। तर, बदल्नुको अर्थ त्यसलाई नै त्याग्नु किमार्थ होइन।’ माक्र्स र एंगेल्स स्वयंले घोषणापत्र प्रकाशित भएको २५ वर्षपछि सन् १८७२ मा जर्मन भाषाको नयाँ संस्करणको भूमिकामा लेखेका थिए, ‘२५ वर्षमा विश्वको, खासगरी युरोपको परिस्थिति धेरै नै बदलिसकेको छ।
हामीले घोषणापत्रमा क्रान्तिका लागि के के कदम उठाउनुपर्छ भनेर लेखेका छौं। त्यसमा जोड दिएर भन्छौं, सिद्धान्त अहिले पनि ठीक छ, किनभने यो वैज्ञानिक सिद्धान्त हो।’ अर्थात् २५ वर्षपछि सिद्धान्त उही कायम गरेर कार्यक्रम बदल्नुपर्ने उनीहरूको विचार थियो।
समाजमा दुई वर्ग छन्। पुँजीपति र कामदार वर्ग। अर्थात् हुने र नहुने, पीडक र पीडित। तीबीच संघर्ष हुन्छ। यही संघर्षले समाजवाद ल्याउँछ। घोषणापत्रले भनेको सार कुरा यही हो। कम्युनिस्ट घोषणापत्र जारी भएको एक सय ७० वर्ष भयो। अहिले परिस्थिति धेरै नै बदलिसक्यो। अझ दक्षिण एसियाको कुरा अलग छ। यहाँको वर्ग विश्लेषण गर्दा वर्णा श्रम व्यवस्थालाई छुटाएर हेर्नै मिल्दैन।
किनभने यहाँ कति अर्थमा वर्णले नै वर्ग निर्माण गर्छ। दलित अनि तामाङ, चेपाङ, राउटे, सतार, शेर्पा लगायत अधिकांश आदिवासी जनजाति किन निम्न वर्गका छन् ? आदिवासी जनजातिमा नेवार र थकालीलाई धनी जात मानिन्छ। तर, नेवार समुदायभित्र ब्राह्मण र छ थरका प्रधान बाहेक अरु किन निम्न वर्गकै छन् ? प्रस्ट छ, वर्णकै कारण इतिहासदेखि नै राज्यको स्रोत र साधनमा उनीहरूको पहुँच छैन। अर्कातिर वर्गीय मुक्ति मिल्दैमा यहाँ दलित र उत्पीडित जनजाति पूर्णतः मुक्त हुँदैन।
समान आर्थिक हैसियत भएका ब्राह्मण र सार्कीलाई अनि क्षत्री र तामाङलाई हाम्रो समाजले किन समान दृष्टिले हेर्दैन ? यसले प्रस्ट हुन्छ, आर्थिक मुक्तिसँगै यहाँ उत्पीडितको आत्मसम्मानको पुनर्बहाली अर्थात् जातीय मुक्ति हुनु पनि अनिवार्य छ। (जातीय मुक्तिको अर्थ अहिलेका उच्च, अभिजात र शासक जातिको भाषा, संस्कृतिको हक खोस्ने भन्ने किमार्थ होइन। बरु, खस नेपाली भाषा, संस्कृतिजस्तै अरू जातका भाषा, संस्कृतिलाई पनि राज्यका तर्फबाट मान्यता दिने भन्ने हो।)
अन्यथा, मन्त्री भइसके पनि दलित व्यक्ति उच्च जातिको समाजमा सधैं अछूत नै हुन्छ। भाषिक, सांस्कृतिक अधिकार खोसिएकाहरूले सधैं हीन ग्रन्थी लिएरै बाँच्नुपर्ने हुन्छ।
खगेन्द्र संग्रौला, हरि रोका, हरि शर्मा, झलक सुवेदी, राजेन्द्र महर्जन, उज्ज्वल प्रसाई, रामचन्द्र झाहरू बारम्बार यही आवाज उठाइरहेछन्। स्वप्निल स्मृति, केशव सिलवाल, राजु स्याङ्तान, गणेशकुमार राई आदिले पनि कवितामा यिनै कुरा उठाएका छन्। (संगीत श्रोताले अवधारणापत्रमा यसलाई वर्गइतर प्रसंग भनेर संकेत गरेका थिए। खासमा यो वर्गइतर होइन, वर्गीय कुरा नै हो, अधिकार पाएका र नपाएकाको कुरा।)
तर, विमर्शमा सबैभन्दा टड्कारो सुनिए नेपाल अध्ययन केन्द्रका डा. खगेन्द्र प्रसाई जो पहिचान, नारी आन्दोलनलगायत अस्मिताको राजनीतिले वर्गसंघर्षलाई पथभ्रष्ट बनाउने विचार व्यक्त गरिरहेका थिए। माक्र्सवादलाई सारमा होइन, शब्दमा पछ्याउँदा हुने सायद यही हो। वर्गलाई वर्णा श्रमसँग नजोड्दा क्रान्ति त के यहाँको समाजको अन्तर्यमा समेत छिर्न सकिँदैन।
नगरकोटको विमर्शमा यो सवाल पनि टड्कारो रूपले उठाउने कोही भएन।
थोत्रो रीतविरुद्ध वागी विचार
संसारमै अधिकांश व्यक्ति परम्परादेखि मानिँदै आएको विचारका पक्षपाती अर्थात् कम्फर्मिस्ट हुन्छन्। कार्ल माक्र्स भन्छन्, ‘समाज अर्थात् सर्वसाधारणले बोल्ने भाषा सत्ताले स्थापित गरेको भाषा हो। त्यसलाई उल्ट्याउनु नै क्रान्तिको सुरुआत हो।’ खासमा साहित्यले गर्ने पनि त्यही हो। बीपी कोइरालाको उपन्यास ‘मोदीआइन’ मा एउटी प्रेमाशक्त युवतीका आँखाबाट महाभारत युद्धलाई हेरिएको छ।
कृष्ण र पाण्डवहरूले धर्मयुद्ध भनेको महाभारत युद्ध एक प्रेमाशक्त युवतीका आँखामा शक्तिको दम्भ, क्रूरता अनि प्रेम, दया, करुणा, क्षमाशीलताको हत्याभन्दा बढी केही होइन। त्यसले पाण्डवलाई राज्य दिलाउनुको मूल्यमा सारा मानवीय मूल्य र मान्यताकै उल्लंघन गरेको मोदिआइनको निष्कर्ष छ।
मोदनाथ प्रश्रितको ‘देवासुर संग्राम’मा हामीले देवता मानेका शूर कति अकर्मण्य अनि राक्षस मानेका असुर कति परि श्रमी थिए भन्ने नयाँ अवधारणा छ। राजेश्वर देवकोटाको ‘द्वन्द्वको अवसान’मा महाभारतमा खलनायक मानिएका कर्णलाई नायक मानिएको छ। हिन्दू पौराणिक कथाको समयसापेक्ष र मानवीय व्याख्या गर्ने यी तीनै महत्वपूर्ण नेपाली कृति हुन्।
परम्परागत धारणा उल्ट्याउने अन्य नेपाली कृतिहरू के के हुन् ? अब लेखिनुपर्ने विषय के के हुन सक्छन् ? नगरकोट भेलामा यी सवाल पनि कतैबाट उठेनन्।
अन्त्यमा
नउठेका यस्ता सवालमाथि आगामी कार्यक्रममा बहस गर्न सकिन्छ। साहित्य राम्ररी पढेका, बुझेका नेता र बुद्धिजीवी तथा राजनीतिक चेत भएका लेखक, कलाकार सम्बन्धित विषयमा तयारीसाथ उपस्थित भए बहसलाई सार्थक बनाउन सकिन्छ। अन्यथा, देशकै सबैभन्दा बढी चलेका बुद्धिजीवी र लेखक सम्मिलित बहसको हालत सधैं यस्तै हुन्छ।