माइनसमा झर्यो मुस्ताङको तापक्रम
बेनी : हिमपात सुरु भएसँगै हिमालपारिको जिल्ला मुस्ताङको तापक्रम माइनसमा झरेको छ। उपल्लो मुस्ताङको लोमान्थाङ र ल्यो घेयकर दामोदर कुण्ड गाउँपालिकाका बस्तीहरुमा हिमपात भएसँगै चिसो बढेको हो।
लोमान्थाङ, चराङ, छोसेर, मराङ, छोन्हुप, धेताङग्य, घिलीङ गाउँमा हिमपात भएपछि त्यहाँको तापक्रम माइनस १६ डिग्रीमा पुगेको प्रजिअ गंगाबहादुर क्षेत्रीले बताए।
लोमान्थाङका वाङदी गुरुङले चिसो बढेपछि जनजीवन प्रभावित भएको बताए। ‘घरबाहिर निस्कन सकिएको छैन’, गुरुङले भने ‘घरभित्रै आगो तापेर बसेका छौँ। गाइबस्तु र भेडाच्याङग्रालाई सुख्खा घाँसपात खुवाएर राखेका छौँ।’
हिउँ परेपछि खेतीबाली सप्रने भएकाले कृषकहरु भने उत्साहित भएका छन्। हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोट बिरुवा फस्टाउने, उत्पादन बढ्ने कृषकहरु बताउँछन्। स्याउको परागसेचनका लागि माइनस तापक्रमको आवश्यकता पर्छ। स्याउ, जौ, गहुँ, उवा, फापर बाली सप्रने जनाइएको छ।
तल्लो मुस्ताङको कैशाङ क्याम्प लगायतका डाँडाहरु पनि सेताम्मे हिउँले ढाकिएका प्रजिअ क्षेत्रीले बताए। चिसो छल्न उपल्लो मुस्ताङका धेरैजसो बासिन्दाहरु न्यानो ठाउँ बेशी क्षेत्रमा झरेका छन्।
जाडो याममा नेपालका विभिन्न सहर तथा भारतसम्म पुगेर घुम्ती व्यापार गर्छन्। कात्तिकमा बेसी झरेका उपल्लो मुस्ताङबासी गर्मी याम सुरु भएपछि फागुनदेखि घर फर्कन थाल्छन्।
बेसी झरेका बालबालिकाहरुको पठनपाठनका लागि पोखरामा घुम्ती विद्यालय सञ्चालन गरिएको छ। गाउँमा कुरुवा, जेष्ठ नागरिक, कर्मचारी र सुरक्षाकर्मीहरु मात्र छन्। पर्यटकको आगमन पनि घटेकाले सुनसान बन्दै गएको चराङका कर्मचारी सुविन थकालीले बताए।