भक्तपुरका होटलमा भारतीय सञ्जाल ओयोको प्रवेश
भक्तपुर : भक्तपुरको होटल व्यवसायमा भारतीय अनलाइन होटल बुकिङ सञ्जाल ओयो (ओवाईओे) प्रवेश गरेको छ। उसले भक्तपुर नगर क्षेत्रका तीनवटा होटलमा आफ्नो संलग्नता देखाएको हो। ओयोले भक्तपुर नपा ५ टौमढीस्थित न्यातापोल भ्यू गेस्ट हाउस र हर्ट अफ भक्तपुर गेस्ट हाउस तथा भक्तपुर नपा ९ दत्तात्रयस्थित दत्तात्रय गेस्ट हाउसमा आफ्नो संलग्नता देखाएको छ। जसअनुसार यी होटलको अनलाइन बुकिङ खुला गर्दै ओयोले तीन सय ९९ रुपैयाँमा बेड एन्ड ब्रेकफास्ट उपलब्ध गराएको छ।
ओयोको संलग्नताअघि न्यातापोल भ्यूको बेड एन्ड ब्रेकफास्टको शुल्क २१ सय ८७ रुपैयाँ थियो। त्यस्तै हर्ट अफ भक्तपुरको १७ सय ६५ रुपैयाँ र दत्तात्रय गेस्ट हाउसको १८ सय ५६ रुपैयाँ थियो तर ओयोको संलग्नतासँगै तीनवटै गेस्ट हाउसको बेड एन्ड ब्रेक फास्टको शुल्क समान तीन सय ९९ रुपैयाँ कायम भएको छ। व्यवसायीले आफ्नै मूल्य पाउँछनओयोले बेड एन्ड ब्रेकफास्टको तीन सय ९९ रुपैयाँ तोके पनि होटल तथा गेस्ट हाउस व्यवसायीले भने आफ्नो शुल्क नै पाउने व्यवस्था गरिएको छ। ओयोसँग संलग्न भएका न्यातापोल भ्यूका सञ्चालक रमेश सत्यालले ओयोले आफ्ना ग्राहकसँग तीन सय ९९ रुपैयाँ लिए पनि गेस्ट हाउसलाई तोकिएको शुल्क भुक्तानी दिने जानकारी दिए।
‘ओयोले आफ्ना ग्राहकसँगै तीन सय ९९ रुपैयाँ लिनुहुन्छ’, उनले भने, ‘तर हामीलाई हाम्रै शुल्क तिर्नुहुन्छ। बरु हामीकहाँ ग्राहक पठाएबापत सहमतिअनुसार ओयोलाई कमिसन उपलब्ध गराउँछौं।’ उनका अनुसार ओयोले आफ्नो बुकिङमार्फत आउने ग्राहकको सुविधाका लागि निश्चित मापदण्ड निर्धारण गरेको छ। उक्त मापदण्ड पूरा गरेपछिमात्रै ओयोले आफ्नो सञ्जालमा संलग्न गर्ने उनको भनाइ थियो।
ग्राहकलाई ओयोकै साबुन र स्याम्पू
ओयोले आफू संलग्न भएको होटल तथा गेस्ट हाउस पुगेका ग्राहकका लागि भनी साबुन, स्याम्पू, बडी लोसन, टावेलजस्ता सामान उपलब्ध गराएको होटल व्यवसायी सत्याल बताउँछन्। ‘हामीले एक वर्षका लागि ओयोसँग सम्झौता गरेका छौं’, उनले थपे, ‘ओयोसँगको कारोबार चित्त नबुझे सम्झौता तोड्न सकिने व्यवस्था छ।’
बुकिङ निश्चित गर्न होटलमा ओयोको ट्याबलेट
सम्झौताअनुसार ओयोले ४० प्रतिशत अकुपेन्सी कभर गर्नुपर्छ। त्यस्तै होटल व्यवसायीले ६० प्रतिशतसम्म अकुपेन्सी लिन पाउँछ। होटलकै निजी ग्राहक शतप्रतिशतसम्म पनि गर्न पाइन्छ। होटलको अकुपेन्सी कभर भएको जानकारी लिनदिन ओयोले आफ्नो सदस्य होटल तथा गेस्ट हाउसमा एक÷एकवटा ट्याबलेट उपलब्ध गराएको छ। सोही ट्याबको आधारमा बुकिङ निश्चित गरिने व्यवसायी सत्याल बताउँछन्। उनका अनुसार बेला बेलामा ओयोका प्रतिनिधि सञ्जालको होटल तथा गेस्ट हाउसको अनुगमन गरेर सुधार्नुपर्ने भएर सुधार्न लगाउँछन्।
के हो ओयो ?
ओयो भारतीय युवा रितेश अग्रवालले सन् २०१३ मा सञ्चालनमा ल्याएको अनलाइन होटल बुकिङ सञ्जाल हो। यो सञ्जालमा भारत र नेपालसँगै चीन, मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), इन्डोनेसिया, सिंगापुरका करिब दुई हजार सहरका आठ हजार पाँच सय होटल तथा गेस्ट हाउस समावेश छन्।
नेपालमा काठमाडौंको एअरपोर्ट र ठमेल, पोखरा, काभ्रेको धुलिखेलका होटलमा ओयो सञ्जाल फैलिएको छ। उसले भक्तपुरकै नगरकोटका होटलमा समेत आफ्नो सञ्जाल विस्तार प्रक्रिया अघि बढाएको छ।
‘भक्तपुरबारे नराम्रो सन्देश जान्छ’
ओयोले भक्तपुरका एक सय होटलमा आफ्नो सञ्जाल विस्तार गर्ने लक्ष्य लिएको होटल एसोसियसन अफ भक्तपुर (ह्याब) का अध्यक्ष सत्यराम सुवालले जानकारी दिए। उनले होटल तथा गेस्ट हाउसको मनपरी शुल्क तोकिन हुन्न भनेर आफूहरुले भनेकाले धेरै होटल तथा गेस्ट हाउस सञ्चालक ओयो सञ्जालमा समावेश नभइरहेको सुनाए।
‘एकै ठाउँका होटल तथा गेस्ट हाउसको फरक फरक शुल्कले पर्यटकमा राम्रो सन्देश जाँदैन’, उनले भने, ‘त्यसैले ह्याबले कम्तीमा २० अमेरिकी डलरभन्दा तल शुल्क निर्धारण नगरौं बरु होटल तथा गेस्ट हाउसले दिने सेवासुविधाबारे मापदण्ड निर्धारण गरौं भनेका छौं।’ उनका अनुुसार ओयोको शुल्कमा बेड एन्ड ब्रेक फास्ट दिँदा भक्तपुरमा सस्तोखाले पर्यटकमात्रै आकर्षित हुने सम्भावना बढ्छ।
ओयो सञ्जालको शुल्कले भक्तपुरको होटल व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढेर सिंगो होटल व्यवसाय संकटमा पर्न सक्ने अध्यक्ष सुवाल बताउँछन्।
‘व्यवसायीले आफ्नो पहिचान गुमाउँछन्’
त्यस्तै भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले यस्तो सञ्जालको प्रवेशले व्यक्तिगत वा संस्थागत रूपमा व्यवसायी र होटलले आफ्नो छुुट्टै पहिचान गुमाउने आशंका व्यक्त गरे। ‘ओयोजस्तै बुकिङडटकम, इस्पेरिया, अगोडा आदिले होटल तथा गेस्ट हाउसकै नाउँमा कोठा बुकिङ गर्छ’, उनले भने, ‘तर ओयोले व्यवसायीको होटल तथा गेस्ट हाउसको कोठा आफ्नै नाउँमा बुकिङ गर्छ। जसले गर्दा व्यवसायी र होटलको छुट्टै पहिचान र परिचय गुमेको देखिन्छ।’
यस्तो सञ्जालले व्यवसायीलाई ग्राहक ल्याउन सजिलो भए पनि व्यवसायीले प्राप्त गर्ने व्यावसायिक दक्षता पनि गुम्ने अध्यक्ष भेले बताउँछन्।