सामूहिक नेतृत्व कि बलियो सभापति ? के भन्छन् कांग्रेस महासमिति सदस्य ?

सामूहिक नेतृत्व कि बलियो सभापति ? के भन्छन् कांग्रेस महासमिति सदस्य ?

इन्द्र बानियाँ, मकवानपुर– १

महासमिति बैठकले संविधानबमोजिम कांग्रेस विधान संशोधन गर्ने हो। परिमार्जित विधान युवालाई अवसर र पुरानो पुस्तालाई सम्मान हुने खालको बन्नुपर्छ। सातवटा प्रदेश सभापति, जिल्ला सभापति, स्थानीय तहमा नगर÷गाउँपालिका सभापति, सातवटै प्रदेश हेर्ने गरी सात सहमहामन्त्री वा कम्तीमा पाँच सहमहामन्त्री, दुई महामन्त्री, तीन उपसभापति (कम्तीमा एउटा महिला) हुने गरी सामूहिक नेतृत्वमा जानुपर्छ। विधान संशोधनपछि पार्टीको सांगठनिक संरचना, राजनीतिक प्रस्ताव, मुलुक चलाउँदा पार्टीको आर्थिक नीतिबारे छलफल हुन्छ। त्यसलाई महासमितिले पारित गर्छ। अहिलेको सरकारको अर्थनीति असफल छ। तरलता अभाव छ। विकास बजेट खर्च हुन सकेको छैन। जताततै अभाव र तनाव मात्र छ। यो स्थितिलाई चिर्ने गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणको बाटो पार्टीले अर्थनीति तय गर्छ।

महेन्द्र शर्मा, बर्दिया– २

महत्वपूर्ण समयमा महासमिति बैठक भइरहेको छ। कांग्रेसप्रति नागरिक समाज, बौद्धिक जमातका साथै सबैको ध्यान केन्द्रित भएको छ। हिजो लोकतन्त्रका पक्षमा, नागरिक अधिकारका पक्षमा हिजो जसरी सशक्त रूपमा उभिएको थियो, त्यही भूमिकामा कांग्रेस आज पनि हुनुपर्छ भन्ने धेरैको अपेक्षा छ। दुईतिहाइको कम्युनिस्ट सरकारको दम्भसहित सर्वसत्तावादी सोचबाट सरकार चलिरहेको अवस्थामा त्यसलाई चुनौती दिने गरी कांग्रेस उभियोस् भन्ने आमनागरिकको आशा छ। त्यसका लागि जारी महासमिति बैठकले ठोस निर्णय गरोस्। त्यसका लागि कांग्रेसको संगठन सशक्त हुनुपर्छ। पार्टी नीति निर्माण तहमा सबै क्षेत्र र जातजातिका समुदायको समुचित प्रतिनिधित्व हुने गरी पार्टी विधान बनोस्।

मोहम्मद अफ्ताव आलम, रौतहट– २

कांग्रेसको पुरानो साख र पहिचान फर्किने गरी पार्टीले नयाँ अभियान सञ्चालन गरोस्। बीपी कोइराला, सुवर्णशमशेर, किसुनजी, गणेशमान, गिरिजाबाबु र सुशील कोइरालासम्म आइपुग्दा पार्टीको जुन शक्ति थियो, त्यो आज गुमेको छ, त्यसलाई ब्युताउने गरी पार्टीले रणनीति बनाओस्। कांग्रेसको मूल्य र मान्यता आत्मसात गर्दै कांग्रेस बलियो बनाउने गरी विधान बनाउनुपर्छ। विडम्बना, नेताहरू पार्टीलाई बेवास्ता गरेर आफू कसरी बलियो बन्न सकिन्छ भन्ने रणनीतिअनुसार विधान बनाउने मानसिकतामा देखिन्छन्, यो राम्रो होइन।

रणबहादुर रावल, कैलाली— १

संविधानअनुसार पार्टीको संरचना बनाउनु छ। यो स्थानीय सरकार, प्रदेश सरकार हाम्रा लागि नयाँ हो। यसका लागि पार्टीको विधानमा संशोधन गर्नुपर्नेछ। देश, काल र परिस्थितिअनुसार पार्टीले आफ्नो कार्यनीति बनाउनु छ। संविधान कार्यान्वयनमा कांग्रेस नेतृत्वको अघिल्लो सरकारले धेरै काम गरे पनि अहिलेको कम्युनिस्ट सरकार यसप्रति गम्भीर देखिँदैन। संघीयता कार्यान्वयनका लागि सरकारले गर्नुपर्ने काम, बनाउनुपर्ने आवश्यक कानुनमा संघीय सरकार उदासीन छ। शान्तिसुरक्षाको अवस्था कमजोर छ। सरकारका गतिविधि अलोकतान्त्रिक छन्। मूल्यवृद्धि बढ्दै गएको छ। राज्यका हरेक निकाय भ्रष्टाचारमा लिप्त छन्। यस्तो अवस्थामा कांग्रेस चुप लागेर बस्नु हुँदैन। अंकगणितीय हिसाबले कांग्रेस पछाडि परे पनि सरकारका गलत क्रियाकलापप्रति सतीसाल भएर उभिने हैसियत राख्नुपर्छ। सत्ताबाहिर रोएर बस्ने होइन कि भोलि सत्तामा जाँदा के गर्ने भन्ने रणनीति बनाउने यो समय पनि हो। यसका लागि हामीले अहिलेदेखि पार्टीको नीति बनाएर अगाडि बढ्नुपर्छ।

महिन्द्रा कुमारी लिम्बू, सांसद तथा महासमिति सदस्य, झापा

पार्टीभित्र अनुशासनहीनता मौलाएको छ। कांग्रेस भएर कांग्रेसलाई नै चुनावमा अन्तरघात गर्ने जुन प्रवृत्ति छ, त्यसको अन्त्य हुन जरुरी छ। पार्टीले स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउने अन्तरघातीलाई कारबाही हुनुपर्छ। संगठनमा काम गर्ने व्यक्तिलाई पराजित गराएर अर्को प्रतिस्पर्धी पार्टीका उम्मेदवारलाई जिताउने जुनसुकै तहको नेता भए पनि त्यसलाई कारबाहीको दायरामा ल्याउनैपर्छ। यसका लागि महासमितिले पार्टीलाई निर्देशनात्मक सुझाव दिनुपर्छ। पार्टीका शीर्ष नेताभित्र चुनावमा जयपराजयलाई लिएर जुन खालको आरोपप्रत्यारोप भइरहेको छ, त्यो शोभनीय छैन। टिकट लिएर गएपछि जित्ने–हार्ने भन्ने कुरा धेरै हदसम्म उम्मेदवारमा भर पर्छ। उम्मेदवारको संगठन, सक्रियता र जनसम्पर्कले निर्वाचनमा धेरै फरक पार्छ। चुनाव हार्ने अनि पराजयको दोष सभापतिलाई लगाउने उचित तरिका होइन।

पार्टीभित्र गुटबन्दी व्यापक भयो। म त यसलाई अस्वाभाविक नै भन्छु। बीपी कोइराला, सुवर्णशम्मशेर, किसुनजी, गणेशमानले जे सोचेर यो पार्टी बनाए, लोकतन्त्रका लागि लडे आज हामी आफैंभित्र लडिरहेका छौं, यसले हामीलाई राम्रो गर्दैन। महासमिति बैठकको हलबाटै नेताहरूले गुटगत राजनीति अन्त्य भएको घोषणा गर्नुपर्छ।

गोविन्द ढुंगाना, जिल्ला सभापति तेह्रथुम

संघीय संरचनाअनुसार पार्टीको विधान संशोधन गर्नुपर्ने पहिलो दायित्व महासमिति बैठकको हो। विधानलाई जनपक्षीय, समयसापेक्ष, लोकतान्त्रिक र पारदर्शी बनाउने उद्देश्य यो बैठकको हो। कांग्रेस परम्परागत शैली, विचार र दृष्टिकोणबाट मात्र होइन, अब नयाँ विचार र नयाँ उचाइका साथ अगाडि आउनुपर्छ भन्ने हाम्रो माग हो। महासमिति बैठकले त्यही नयाँ विचार र दृष्टिकोणसहितको नयाँ जीवन दिनुपर्छ। गुटको राजनीति अति भइसक्यो। हामी गुटगत राजनीतिको विरुद्धमा छौं। हामी सक्षम नेतृत्व चाहन्छौं। अहिलेकै नेतृत्वबाट पार्टीमा नयाँ ऊर्जा आउँछ भन्ने हामीलाई विश्वास छैन।

रमेश पाण्डे, मेयर

मध्यनेपाल नगरपालिका लमजुङ

पार्टीमा लामो समय काम गरेका तर गुमनाम रहेका साथीहरूको नाम हुनुपर्‍यो। पार्टी गुटरहित, फुटरहित र झूटरहित र एकताबद्ध हुनुपर्‍यो। आम कांग्रेसका नेता–कार्यकर्तामा उत्साह र जाँगर ल्याउन महासमिति बैठक सफल हुनुपर्छ। पार्टी नेतामुखी होइन, जनतामुखी हुनुपर्छ।

हाम्रो धर्म–संस्कृतिमाथि प्रहार भएको छ। यसबारे महासमिति बैठकमा बहस चलाउनुपर्छ। धर्म निरपेक्षता होइन, धार्मिक स्वतन्त्रताका पक्षमा पार्टी उभिनुपर्छ भन्ने हाम्रो मान्यता हो।

सनदकुमार मण्डल, सप्तरी क्षेत्र नं. २

महासमिति बैठक निर्वाचनअघि बस्नुपथ्र्यो। यसले पार्टीलाई निर्वाचनमा सकारात्मक परिणाम दिन सहयोग पुर्‍याउँथ्यो तर ढिलै भए पनि बैठक बसेको छ। अहिले हामी विधानमाथि छलफल गर्न आएका छौं। हामीले पार्टी विधानलाई समावेशी बनाउनु जरुरी छ। जुन आरक्षणको व्यवस्था छ, त्यसमा पनि सीमित व्यक्तिले निरन्तर अवसर पाउने अवस्था छ, यसको अन्त्य हुनैपर्छ। आरक्षण जनघनत्वका हिसाबले गर्नुपर्‍यो। पदाधिकारी र केन्द्रीय समिति पनि बढाउनुपर्छ। नयाँ व्यक्तिलाई पार्टीको केन्द्रीय तहमा पुग्ने अवसर दिनुपर्छ। नेतृत्व पनि जुझारु र सक्रिय हुन आवश्यक छ। पुरानै तरिकाले पार्टीले गति लिन सक्दैन। यसका साथै पार्टी गुटउपगुटले एकदमै कमजोर भएको छ। तल्लो तहसम्म यसको प्रभाव परेको छ। यसको अन्त्यका लागि शीर्ष नेताकै तहबाटै पहल हुन आवश्यक छ। कांग्रेस भएर हामी उभियौं भने पार्टी बच्छ, होइन भने थप कमजोर बन्नेछ।

वेद मगर, गुल्मी– १

कांग्रेस देशको सबैभन्दा ठूलो लोकतान्त्रिक र जिम्मेवार पार्टी हो। कांग्रेसकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो। तसर्थ कांग्रेसको नेतृत्वमा बनेको संविधान र यसले तोकेका मू्ल्य र मान्यता स्थापित गर्न महासमितिले ठोस निर्णय लिनुपर्छ।

कांग्रेस मासबेस पार्टी हो। तर हामीबीच कस्तो खालको सदस्यता दिने भन्नेमा विवाद देखिएको छ। क्रियाशील सदस्यता राख्ने कि नराख्ने या साधारण सदस्यता मात्र कायम राख्ने भन्नेमा विवाद हुुनु हुँदैन। कांग्रेस बन्न चाहने सबैलाई हामीले पार्टीमा स्वागत गर्नुपर्छ। त्यसका लागि विधान बाधक बन्नु हुँदैन।

सिजन गुरुङ

सुनसरी– २

कांग्रेस गत वर्ष सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि सांगठनिक रूपमा शिथिल भएकोमा सर्वत्र चिन्ता छ। तर यथार्थ त्यो होइन। निर्वाचनमा पराजय भएकै कारण कांग्रेस कमजोर भएको ठान्नु भ्रम मात्र हो।

पार्टीका नेताकार्यकर्तालाई नयाँ ऊर्जा र उत्साहको खाँचो छ। त्यसका लागि शीर्ष नेताहरूले आफूहरू एक भएको सन्देश दिन सक्नुपर्छ। त्यो भयो भने कांग्रेस फेरि जुर्मुराउनेछ र सरकारविरुद्ध देशव्यापी सशक्त रूपमा कांग्रेस उत्रिने निश्चित छ। अर्को निर्वाचनमा पार्टीलाई पहिलो कसरी बनाउने भन्नेतर्फ महासमिति बैठकमा सघन छलफल हुनुपर्छ। अर्कोतर्फ विधान समावेशी हुनु पनि जरुरी छ।

प्रफुल्लराज घिमिरे, धनुषा– ४

पहिलो कुरा, पार्टीले अहिलेको समग्र राष्ट्रिय राजनीतिका बारेमा मिहिन रूपमा विश्लेषण गरेर पार्टीको स्पष्ट राजनीतिक खाका तयार गर्नुपर्छ। संघीय संरचनाअनुसार पार्टीको संगठन विस्तार गर्नुपर्छ। यसका लागि सबैलाई समेटेर संगठनलाई चुस्तदुरुस्त बनाउनुपर्छ। यति मात्र नभएर पार्टी कागजी रूपमा मात्र होइन, साँच्चिकै व्यावहारिक रूपमै एकता भएको सन्देश दिन जरुरी छ। अहिले पनि पार्टीमा नेतैपिच्छे गुटउपगुट छन्, यसले पार्टीलाई निरन्तर कमजोर बनाइरहेको छ। यसको अन्त्य यही महासमिति बैठकबाट हुनुपर्छ। एकताबद्ध कांग्रेसले मात्र यो कम्युनिस्ट सरकारसँग जुध्ने क्षमता राख्छ। संविधानअनुसार संगठन पनि समावेशी हुनुपर्छ। संगठनभित्र रहेका घातअन्तर्घात र अनुशासनहीनता छ, त्यसविरुद्ध पार्टी कडारूपमा प्रस्तुत हुनुपर्छ। यसले मात्र कांग्रेसलाई सशक्त बनाउँछ। त्यसकारण महासमिति बैठकले यी सबै विषयमा गम्भीरतापूर्वक समीक्षा र बहस गर्नुपर्छ।

राधा घले, काठमाडौं

महासमिति बैठक पार्टीको नियमित बैठक नै हो। विधानअनुसार नै प्रत्येक वर्ष महासमिति बस्नुपर्ने प्रावधान छ तर यो पछिल्ला समय नियमित मात्र हुन नसकेको हो। संविधानअनुसार विधान परिमार्जन गर्नु यसको प्रमुख कार्यभार हो। पार्टी र देश कठिन अवस्थाबाट गुज्रिरहेको अवस्थामा महासमिति बैठक बसिरहेको छ। बैठकले पार्टीलाई मात्र होइन, सिंगो देशलाई नै नयाँ दिशा र गति दिने खालको निर्णय गर्नुपर्छ। पार्टी गुटउपगुटमा विभक्त छ। यो समग्र कांग्रेसका लागि नै पीडादायी विषय हो।

कांग्रेस बनाउनेभन्दा पनि नेताहरू आफ्नो राजनीति कसरी जोगाउने र गुटलाई बलियो बनाउने भन्नेमा बढी चिन्तित देखिन्छन्। यसैको परिणाम कांग्रेसले स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित परिणाम भोग्नुपरेको हो। यसबाट नेताहरूले पाठ सिकेर पार्टीलाई एकताबद्ध बनाउने गरी महासमिति बैठकबाट त्यसको प्रतिज्ञा होस्। पार्टी संगठनलाई थप प्रभावकारी बनाउनुका साथै राज्यको अधिनायकवादी शैलीविरुद्ध पनि सडक र सदनबाट सशक्त प्रतिरोध गर्न सक्ने बलियो कांग्रेस बन्नुपर्छ।

शान्ता भण्डारी, अर्खाखाँची

अहिले हामी जिल्लामा बसेर संगठनमा काम गरिरहेका साथीहरूलाई ठूलो समस्या गुटउपगुटको राजनीति भएको छ। गाउँमा संगठन गरेर काम गरेका नेता–कार्यकर्ताले अवसर पाउन सकिरहेका छैनन्। गुटको राजनीतिले पार्टी छिन्नभिन्न छ। गुटका आधारमा पार्टीमा अवसर पाउने अवस्थाले संगठनमा खट्ने साथीहरूको मनोबल कमजोर बनाउने काम भएको छ। त्यसकारण हाम्रो जोड गुटको अन्त्य हुनैपर्छ भन्ने हो। संगठनमा काम गर्नेको मूल्यांकन गर्ने परिपाटी सुरुवात हुनुपर्छ। संगठनमा योगदानका आधारमा पार्टीले अवसर दिनुपर्छ। त्यसो भयो भने मात्र कांग्रेस सांगठनिक रूपमा बलियो बन्छ। जहाँसम्म विधानको कुरा छ, संविधानले अख्तियार गरेका मूल्य र मान्यताअनुसार पार्टीले पनि विधान तयार गर्नुपर्छ।


प्रस्तुति : खगेन्द्र भण्डारी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.