तलबबाट कटाएर विद्यालयलाई सहयोग
जुम्ला : समाजसेवी भावनाले उत्प्रेरित नेपाल प्रहरीमा कार्यरत रमन बुढाले आफ्नो जन्म जिल्लाका विभिन्न चारवटा विद्यालयको स्तारोन्नतिका लागि सहयोग गरेका छन् ।
जुम्लाका विभिन्न विद्यालयमा भुइँमा बसेर पढ्न बाध्य विद्यार्थीहरुका लागि आवश्यक फर्निचर लगायतका सामाग्री बुढाले सहयोग गरेका हुन् ।
जिल्लाको पातारासी गाउँपालिका-५ मा जन्मेका बुढाले त्यस क्षेत्रको शैक्षिक बिकासमा निरन्तर प्रयास गर्दै आएका छन् । समाजका सबै सदस्य शिक्षित भएमात्रै समाज विकसित हुने भन्दै बुढाले आफ्नो तलबको केही प्रतिशत विद्यालयको सहयोगका लागि खर्चिरहेका छन् ।
जिल्लाका शंकर आधारभूत विद्यालय, गंगा मावि पेरे, सरस्वती मावि रिनी र मालिका मावि लोटचौरमा फलामे बेञ्च बनाएर बुढाले हस्तान्तरण गरिसकेका छन् ।
बुढाको सहयोगपछि भुईँ छाडेर विद्यार्थीहरु बेञ्चमा बसेर खुसीसाथ अध्ययन गर्न थालेका छन् । आफू जन्मेको गाउँपालिकालाई शिक्षित बनाउने अभियानमा आफ्नो सहयोग निरन्तरर रहने बुढाले बताए ।