पूर्वलडाकुको पीडा : जनयुद्धमा गोलीले शरीर छेड्यो, उपचार गर्दा घरबारी सकियो
काठमाडौं : माओवादी पूर्वलडाकुले जनयुद्ध लडेर अहिले आफूहरू पछुताएको बताएका छन्। २७ मंसिरदेखि माइतीघर मण्डलामा आमरण अनशनरत पूर्वलडाकुहरुले युद्धमा होमिन प्रेरित गर्ने तत्कालिन माओवादी नेताबाटै अहिले आफुहरुलाई उपेक्षा गरेको गुनासो गरे ।
जुम्लाका नरवीर दमार्इ, बर्दिया गुलरियाका संग्रमे सार्की, बर्दिया सानोश्री लिलाचन्द्र कामी, मकवानपुरका मंगलसिंह प्रजा, कालिकोटका मन दर्जी र जुम्ला तातोपानीका वीरबहादुर परियारसहित ६ जना पूर्वलडाकु अमरण अनसनमा छन्।
उनीहरूले जनयुद्ध तथा आन्दोलनका घाइतेलार्इ समय सन्दर्भिक जीवन निर्वाह भत्ता ग्यारेन्टी गर्ने, त्यस्ता व्यक्तिहरूलार्इ नि:शुल्क शिक्षा तथा रोजगारीको व्यवस्था गर्ने, औषधी तथा उपचारका आर्थिक सहायता गर्ने, जनयुद्धका क्रममा घाइते भएका व्यक्तिको पुन: अवलोकन प्रतिशन निर्धारण खारेज गर्ने जस्ता माग राखेका छन् ।
जुम्लाको खलङ्गा, रुकुमको खारा र रोल्पाको ग्राममा हमलामा घाइते दैलेख भैरव वडाका नरवीर दमार्इ आफ्नो समस्या नेताहरूले नबुझेपछि अनशन सुरु गरेको बताए।
'टाउकामा छर्रा छन्, पेटमा लागेको गोली पनि निकाल्नै बाँकी छ, तीन वर्षबाट उपचार गर्न लागेको हुँ, उपचार गर्दा गर्दै ३६ लाख रुपैयाँ खर्च भइसक्यो' नरवीर भन्छन्,'केही सीप नलागेपछि यहाँ आइयो।'
अलिअलि भएको सम्पति पनि उपचारमा खर्च भएपछि परिवार निरीह भएको अर्का पूर्णलडाकु वीरबहादुर परियार बताउँछन् । 'आर्थिक रुपमा सक्षम भएको भए ठीकै थियो, आँखामा परेको छर्रा निकाल्दा भएको सम्पति पनि सकियो' वीरबहादुर भन्छन्,'राम्रोसँग खान नपाएर परिवार तड्पिरहेको छ ।'
सरकारले त्रिपाल लगाउन नदिएर माइतीघर मण्डलामा आफूहरूले चिसो रात कटाइरहेको अनसनरत पूर्वलडाकुहरू बताउँछन्। 'एउटा कम्बलको भरले भोको पेटमा चिसो रात कटाइरहेका छौं' वीरबहादुर भन्छन्,'त्रिपाल लगाउन लाग्दा प्रहरी प्रशासनले अनुमति दिँदैन, हाम्रो माग पुरा नभए यहीँ मर्छौं तर यहाँबाट उठ्दैनौं।'
पूर्वमाओवादी लडाकु युवराज विकलाई अपराधमा मुद्दा चलाएको समेत अनसनरत पूर्वलडाकुले विरोध गरेका छन्। प्रहरीले विकलाई बिहिबार गृहमन्त्रालयबाट पक्राउ गरेर सामाजिक हितविरुद्धको मुद्दा चलाएको हो।
यस पक्राउ प्रकरणलार्इ उनीहरूले आफूहरूमाथि षड्यन्त्र हुन लागेको निष्कर्ष निकालेका छन्। सशस्त्र द्वन्द्वका घाइते तथा अपांग संघर्ष समितिका संयोजक समेत रहेका विकलाई प्रहरीले पक्राउ गरेपछि उनीहरूले अनसन सुरु गरेका थिए।
गत मंसिर ५ गते गृहमन्त्रालय अगाडि विष खाएका पूर्वलडाकु कुलप्रसाद भट्टराई (कुसुम)लाई उक्साएको भन्दै विकलाई प्रहरीले पक्राउ गरेको हो। भट्टराई पनि अहिले प्रहरी हिरासतमा छन्।
सरकारको तर्फबाट अनसनरत पूर्वलडाकुसँग छलफल गर्न अहिलेसम्म कोही पनि नआएको उनीहरूको गुनासो छ। 'चिसोमा तड्पिरहेका छौं, हामीलार्इ युद्ध लडाएर यो अवस्थामा ल्याएकाहरू सरकारमा छन्, तर हामीलार्इ कसैले वास्ता गरेको छैन' अनसनरत लालचन्द्र कामी भन्छन्।