चिसो बढेपछि पानी जम्न थाल्यो
बेसीसहर : हिमाली जिल्ला मनाङमा चिसो बढेको छ। रात र बिहानमा तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म झर्न थालेपछि जनजीवन प्रभावित बनेको छ। चिसो बढेपछि दैनिक काम गर्न नसकिएको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए।
चिसोले सानासाना खोला जम्न थालेका छन्। राति जमेको पानी दिउँसो भएपछि मात्रै बग्छ। कहिलेकाहीँ पानी जमेर लघु जलविद्युत् आयोजनासमेत बन्द हुने गरेका छन्। ‘साँझ परेपछि पाइपभित्र जमेर धारामा पानी आउँदैन, खानेपानी नै पाइँदैन’, घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत प्रदीप न्यौपानेले भने।
चिसो बढेसँगै मनाङका प्रायः बासिन्दा जाडो छल्न सहरबजार झरेका छन्। कतिपय कर्मचारी पनि बिदा मिलाएर झरिसकेका छन्। चिसोका कारण कार्यालय सञ्चालनमा समस्या परेको कर्मचारी बताउँछन्। बिहानबेलुका आवतजावत गर्नसमेत कठिन भएको उनीहरूको भनाइ छ।
माथिल्लो मनाङ, नारफूलगायत केही स्थानमा केही दिनअघि हिमपात भएको थियो। हिउँ पर्न थालेपछि मानिस बाहिर निस्कन नसकेको मनाङ गाउँका छिरिङ लोप्साङ गुरुङले बताए। चिसोले धारा, बाटोघाटो तथा स-साना पोखरीमा पानी जमेको चामेकी मेलिना गुरुङले जानकारी दिइन्। बाहिर निस्कनै मुस्किल हुने गरी चिसो बढेको छ। चिसोकै कारण मोबाइल सेवा र इन्टरनेटमा समस्या आएको उनले बताइन्। मौसमकै कारण पर्यटक पनि कम आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख बाबुलाल तिरुवाले जानकारी दिए।