विराट कोहलीले बनाए नयाँ कीर्तिमान
पर्थ : भारतीय टोलीका कप्तान विराट कोहली टेस्ट क्रिकेटमा सबैभन्दा कम इनिङ (पाली) खेलेर २५ शतक प्रहार गर्ने विश्वकै दोस्रो ब्याट्सम्यान बनेका छन्। अस्ट्रेलियाविरुद्घको दोस्रो टेस्ट क्रिकेटको तेस्रो दिन आइतबार शतक पूरा गरेसँगै कोहलीले यस्तो कीर्तिमान बनाएका हुन्। यस्तो कीर्तिमानमा अस्ट्रेलियाका सर्वकालीन महान् खेलाडी सर डन ब्राडम्यान मात्र कोहलीभन्दा अगाडि छन्।
पहिलो पालीमा दुई सय ८३ रन बनाउँदै अलआउट भएको भारतका लागि कोहली एक्लैले एक सय २३ रनको योगदान गरे। यस क्रममा उनले दुई सय ५७ बलको सामना गरी एक छक्का र १३ वटा चौका प्रहार गरे। डन ब्राडम्यानले केवल ६८ पाली खेलेर २५ शतक हिर्काएका थिए भने कोहलीले एक सय २७ पाली खेल्दै २५औं शतक पूरा गरेका हुन्। चर्चित भारतीय खेलाडी सचिन तेन्दुल्करले एक सय ३० र सुनील गावस्करले एक सय ३८ पालीमा २५औं शतक पूरा गरेका थिए।
टेस्ट क्रिकेटमा २५ वा सोभन्दा बढी शतक बनाउने कोहली विश्वकै २१औं ब्याट्सम्यान हुन्। यस्तो उपलब्धि हात पार्ने उनी केवल चौथो भारतीय खेलाडी हुन्। ३० वर्षीय कोहलीको यस्तो कीर्तिमानका बाबजुद भारत पहिलो पालीमा अस्ट्रेलियासँग ४३ रनले पछि पर्यो। कोहलीबाहेक पहिलो पालीमा भारतका लागि अजिनक्या राहानेले पनि अर्धशतक बनाए। उनले एक सय पाँच बलमा एक छक्का र ६ चौकाको मद्दतले ५१ रन जोडे।
पहिलो पालीमा भारतलाई सस्तोमा समेट्न अस्ट्रेलियन बलर नाथन लियोन एक्लैले पाँच विकेट लिए। मिचेल स्टार्क र जस हेजलउडले दुई÷दुई विकेट हात पारे। तेस्रो दिनको खेल सकिँदासम्म अस्ट्रेलियाले आफ्नो दोस्रो पालीमा चार विकेट गुमाएर एक सय ३२ रन बनाएको छ। घरेलु टोली अस्ट्रेलियाले भारतसँग एक सय ७५ रनको अग्रता हासिल गरिसकेको छ।
अस्ट्रेलियाका लागि उस्मान ख्वाजा अविजित ४१ र कप्तान टिम पाइन अविजित आठ रन बनाउँदै क्रिजमा छन्। भारतीय बलर मोहम्मद सामीले दुई विकेट लिए। अस्ट्रेलियाले पहिलो पालीमा तीन सय २६ रन बनाएको थियो।