तीन विभागीय टोली र हेल्प नेपालको जित
पोखरा : राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगितामा तीन विभागीय टोलीसहित हेल्प नेपालले विजयी सुरुआत गरेका छन् । आइतबार भएको खेलमा साबिक विजेता त्रिभुवन आर्मी क्लबले जाउला खेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै तीन अंक जोड्यो । आर्मीले जाउलाखेल २५–१९, २५–१५, २५–११ ले हरायो । आर्मीले दुर्गा खड्का र शरण सामरीलाई पोखराबाटै राष्ट्रिय प्रतियोगितामा डेब्यु गराएको छ ।
यसैगरी हेल्प नेपालले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्यो । पहिलो सेट २५–१८ ले जितेको हेल्प नेपालले दोस्रो सेट भने १७–२५ ले गुमायो । एकएक सेटको बराबरीपछि तेस्रो सेट भने हेल्प नेपालले २७–२५ ले जित्दै अग्रता बनाउँदा चौथो सेट पनि २५–१४ ले जित्दै तीन अंक जोडेको हो ।
पोखरा रंगशालामा भएको तेस्रो खेलमा नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लब रूपन्देहीलाई ३–० को सोझो सेटमै पराजित गर्यो । पहिलो सेट २५–२० ले जितेको पुलिसले दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्यो । यसैगरी सशस्त्र प्रहरी बलको एपीएफ क्लबले भारतीय खेलाडी सम्मिलित नयाँबजार स्पोर्ट्स क्लबलाई पनि ३–० कै सोझो सेटमा पराजित गर्यो । एपीएफले नयाँबजारलाई २५–२२, २५–२१, २५–१० ले स्तब्ध बनायो ।
प्रतियोगिताका विजेताले नगद दुई लाख रुपैयाँ पाउनेछन् । यसैगरी उपविजेताले एक लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पाउनेछन् । यसैगरी उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्दा विधागत रूपमा उत्कृष्ट हुनेले जनही पाँच हजार रुपैयाँ पाउनेछन् ।