अप्ठ्यारोमा ‘लोकबाजा संग्रहालय’

अप्ठ्यारोमा ‘लोकबाजा संग्रहालय’

काठमाडौं : थापाथलीबाट त्रिपुरेश्वर जाने बाटोको छेउमै छ एउटा भत्किन लागेको भवन। चर्किएका भित्ता काठको टेको लगाएर अड्याइएको छ। पुरानो छानोमा झार उम्रेर सुकेको छ। जहाँ, मूलबाटोबाटै देखिने गरी ‘नेपाली लोकबाजा संग्रहालय’ लेखेको बोर्ड झुन्ड्याइएको छ।

यही भवनको दोस्रो तलामा नेपालका ६ सय ५० प्रकारका लोकबाजा संकलित छन्। विभिन्न अध्ययन, अनुसन्धानले नेपालमा एक हजार तीन सय ५० प्रकारका लोकबाजा प्रयोगमा रहेको देखाउँछ। पुरानो मधुकर बाजादेखि शीतम्बर, ढोलक, तबला, मादल, ठूलो सारंगी, सहनाई, नरसिंगा र पञ्चैबाजाका सेट संग्रहालयमा छ। भवनको अवस्था भने अत्यन्तै नाजुक छ। नेपालमा परापूर्वकालदेखि लोकबाजा प्रचलनमा छन्। नेपाली लोकबाजा, लोकगीत, लोकसंगीतमा बेग्लै मादकता छ। गाउँघरमा गन्धर्व दाइले बजाउने सारंगीको सुमधुर धुन होस् या विवाहमा बजाइने पञ्चैबाजाको ताल। सबैमा नेपाली संस्कृति झल्किन्छ। लोकबाजा कुनै फुकेर बजाइन्छ भने कुनै रेटेर सुर निकालिन्छ। कुनै ठटाएर बजाइन्छ।

लोकबाजा संग्रहालयका परिकल्पनाकार धादिङ गजुरीका रामप्रसाद कँडेल २५ वर्षदेखि बाजा संग्रहमा जुटेका छन्। उनी २०५२ सालबाट लोकबाजा खोज्न गाउँगाउँ घुमिरहेका छन्। उनले केही साथीसँग मिलेर २०५४ सालमा नेपाली लोकबाजा संग्रहालय स्थापना गरे। अहिले यो संस्थामा २५ जना सदस्य छन्। ती सबै निःशुल्क रूपमा संस्थाका लागि काम गरिरहेका छन्।

केही वर्ष कँडेलले आफ्नै कोठामा लोकबाजा थुपारेर राखे। उपयुक्त ठाउँको खोजी गरिहेकै बेला उनी नेपाल सम्पदा संघको कार्यसमिति सदस्य बने। त्यही बेला भद्रकाली गुठी संस्थानको भवनको माथिल्लो तला भाडामा लिएर २०५८ सालदेखि पाँच वर्षसम्म संग्रहालय बनाएर लोकबाजा संकलन गरिरहे।

बाजाको संख्या बढिरहेको थियो। आफ्नै कुनै भवन थिएन। २०६३ सालमा संस्कृतिमन्त्री बुद्धिराज वज्राचार्यको कार्यकालमा उनले पुरातत्व विभागसँग आग्रह गरेर त्रिपुरेश्वरमा संग्रहालय सार्ने निधो गरे।

पुरातत्व विभागमा कोषप्रसाद आचार्य महानिर्देशक थिए। उनकै सहयोगमा कँडेलले त्रिपुरेश्वर महादेव मन्दिरको सत्तल रहेको भवनमा नयाँ स्वरूपमा संग्रहालय स्थापना गरे। त्यसपछि उनले लगातार भाडा तिरेर संग्रहालय चलाइरहेका छन्।

लोकबाजा संग्रहालयमा करिब ४० हजार अडियोभिडियो संगृहीत छन्। भीमशमशेर जबराको पालामा खिचिएको दुर्लभ भिडियो पनि छ। नेपालको संस्कृतिमा गरिएको अध्ययन तथा अनगिन्ती सामग्री पनि छन्। उनीहरू अब यी सबै सामग्री कुनै विश्वविद्यालय वा सरकारलाई जिम्मा दिन चाहन्छन् तर जिम्मा लिन कोही तयार छैनन्।

बाजाको सांगीतिक अध्ययन जरुरी छ। यो पेसामा आउन खोज्नेलाई बाजा बजाउन सिकाउने, नेपालको मौलिक संस्कृति संरक्षण गर्नु जरुरी भएको उनी बताउँछन्। सरकारले आफैं गर्नुपर्ने काम एउटा संस्थाको माध्यमबाट आफूले गरिरहेको उनले बताए।

३५ लाखसम्मका बाजा

संग्रहालयमा रहेका बाजाहरू चार हजारदेखि ३५ लाखसम्म मूल्यका छन्। हिमाल, पहाड र तराईका सबै भूभागमा बजाइने बाजाको कलेक्सन छ। यसका साथै यो संग्रहालयमा सारंगी, मादल तथा अनेक बाजा बजाउन सिक्न पनि सकिन्छ। केही समयअघि लोकबाजा प्रयोग प्रायः दुर्लभ भइसकेको थियो। यो संस्थाका माध्यमबाट उनीहरूले केही चेतना जगाउने काम गरे। विद्यालयस्तरको पाठ््यक्रममा कँडेलले लेखेको लोकबाजासम्बन्धी एउटा निबन्ध पनि समावेश छ। अहिलेका केही युवा पुस्ता संगठित रूपमा लोकसंस्कृति र लोकबाजा संरक्षणमा लागेका छन्।

उनी भन्छन्, ‘हामीसँग अन्य देशमा नभएका अनेक बाजा प्रचलनमा छन्। सहनाई मात्रै २८ प्रकारका छन्। पुर्खाका सीपलाई हामीले प्रयोग गर्न पनि नजान्ने भइसक्यौं।’ तर पछिल्लो समय यस क्षेत्रमा पुनर्जागरण भइरहेको उनको ठम्याइ छ। दौरा, सुरुवाल लगाउने चलन बढ्नु, विवाहमा आधुनिक ब्यान्डको सट्टा पञ्चैबाजा प्रयोग हुनु नेवारी समुदायमा पारम्परिक पहिरन लगाउनेको संख्या बढिरहेको उनको बुझाइ छ।

अहिले संग्रहालय हटाउन दबाब आएको उनले जानकारी दिए। त्रिपुरेश्वर महादेव मन्दिरको निर्माण रानी ललित त्रिपुरा सुन्दरीले गरेकी थिइन्। उनले मन्दिरको निर्माण गरेपश्चात् काठमाडाैं बाहिरबाट आउने पाहुनालाई आ श्रय दिन मन्दिरको छेउमा संग्रहालय रहेको सत्तल निर्माण गरेको बताइन्छ। सत्तल रहेको स्थान संस्कृति मन्त्रालयअन्तर्गत पर्छ भने भवन गुठी संस्थानअन्तर्गत पर्छ।

गुठी संस्थानले काठमाडाैं विश्वविद्यालयलाई अहिले यो संग्रहालय भएको भवन र ठाउँ भाडामा दिने गोप्य सम्झौता गरिसकेको छ। लोकबाजा संग्रहालय रहेको भवन भत्काएर केयूको म्युजिक विभाग सार्ने तयारी भइरहेको छ। अहिले निर्माणसम्बन्धी काम पनि भइरहेको छ। यसले गर्दा लोकबाजा संग्रहालय कहाँ राख्ने, कसरी यी अनमोल सम्पत्ति जोगाउने भन्ने चिन्ता छ।

उनी भन्छन्, ‘हामीले सांगीतिक पर्यटनमा धेरै प्रगति गर्न सक्ने सम्भावना छ। हाम्रा संस्कृति अमूल्य निधिका रूपमा छन्।’ संग्रहालयमा भएका बाजाको संरक्षण गरेर विश्वविद्यालयले उचित तरिकाले पाठ्यक्रममा समावेश गरिदिएमा आफ्नो सपना पूरा हुने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.