काभ्रेमा मोटरसाइकल चोरी बढ्यो
बनेपा : काभ्रे जिल्लामा पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढ्दै गएका छन्। मोटरसाइकल चोरीमा संलग्न गिरोहले पार्किङ गरेको स्थान र घर कम्पाउण्डबाटै मोटरसाइकल चोरी विकट ग्रामीण भेगमा प्रयोग र बिक्री गर्ने गरेको खुल्न आएको हो।
गत तीन महिनाभित्र २९ वटा हराएको मोटरसाइकल खोजी गर्न प्रहरीकोमा निवेदन परेको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी रविराज खड्काले जानकारी दिए। 'सहरमा हराएका मोटरसाइकल खोजतलास गर्ने क्रममा गाउँमा भेटिन्छन्,' खड्काले भने, 'विभिन्न समयमा मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई अप्रेसन र खोजतलास गरी कानुनको दायरामा ल्याएका छौं।' उनले थपे, 'जिल्लाका दुर्गम गाउँमा छड्के चेकिङ, अरनी र बीपी राजमार्गमा नियमित चेकजाँच र अन्य घुमुवा प्रहरीमार्फत गिरोहको खोजी कार्य र कारबाही गरिहेका छौं।'
खड्काका अनुसार जिल्लाभर पछिल्लो ३ महिनामा मात्रै २९ वटा मोटरसाइकल हराएर चोरीका उजुरी परेकामध्ये ११ वटा मोटरसाइकल चोरीका अभियुक्तसहित पक्राउ गरी मुद्दा चलाइएको बताए।
ग्रामीण भेगमा चोरीमा मोटरसाइकल सहज रुपमा चलाउन सकिने, कागजपत्र नचाहिने, चेकजाँच नहुने र सस्तो मुल्यमा नयाँ मोटरसाइकल पाउने र नक्कली विलबुक समेत बनाएर बिक्री गर्न सहज भएसँगै गिरो सहरमा मोटरसाइकल चोर्दै गाउँमा बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पछिल्लो समय चोरीका मोटरसाइकल वर्कसपमा समेत बिक्री हुने गरेको बनेपाका एक वर्कसप व्यापारीले नाम नबताउने शर्तमा भने। 'पछिल्लो समय चोरीका मोटसाइकल वर्कसपमै किनबेच हुने गरेको छ, मोटरसाइकलको इन्जिनबाहेक अन्य पाटपूर्जा झिकेर सहज र सस्तोमा बिक्री गर्ने गरेका छन्।' उनले भने, 'प्रहरीले वर्कसपमा छापा मार्दा मोटरसाइकल नभेटे पनि मोटरसाइकलका पाटपुर्जा भेटिन्छन्।'
मोटरसाइकल चालकले अव्यवस्थित पार्कीङ गर्ने, ह्याण्डल लक नगर्ने, एकान्त र घर बाहिर धेरै समय मोटरसाइकल पार्किङ गर्ने जस्ता लापरबाहीका कारण मोटरसाइकल चोरी हुने गरेको प्रहरीको भनाई छ। काठमाडौं उपत्यका र जिल्लाभित्र चोरी भएका मोटरसाइकल विकट तथा ग्रामीण भेग खानीखोला, माहाभारत, चौरीदेउराली, रोशी,तेमाल, बेथानचोक गाउँपालिकाका ग्रामीण भेगमा चलाउने र विक्री वितरण हुने गरेको छ। चोरी हुने अधिकांश मोटरसाइकल बजाज कम्पनीका छन्।
पटकपटक चोरी गर्ने प्रक्राउ
इलाका प्रहरी कार्यलय बनेपाले पटकपटक चोरीमा सम्लग्न एक मोटसाइकल गिरोहलाई प्रक्राउ गरेको छ। अरनीको राजमार्गमा गुड्ने मोटरसाइकल चेकिङ गर्ने क्रममा सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका ३० वर्षीय विश्वराज तामाङ, प्रक्राउ गरेका हुन्।
उनी मोटरसाइकल चोरी मुद्दामा सजाय भोगेर छुटेको दुई दिन नबित्दै मोटरसाइईकल चोरीको अभियोगमा प्रक्राउ परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका बताए।
भट्टराईका अनुसार विश्वराजसँग उदयपुरका नरेन्द्र तामाङ पनि चारीको अभियोगमा उनीसँगै पक्राउ परेका बताए। दुवै जनालाई चोरीको मलअन्तर्गत मुद्दा चलाइएको भट्टराईले जानकारी दिए।
गत कात्तिक २९ गते ३ महिना जेल र एक लाख जरिवानसहित चोरी मुद्दा भुक्तान गरेर निस्किएका विश्वराजले ३ महिना जेलभित्र बस्दासमेत मोटरसाइकल चोरीको योजना बनाउने गरेको प्रहरी अनुसन्धानले देखिन्छ। तामाङले बनेपाका सिर्जन मान्नधरले बा ८५ प ८४३२ नम्बरको मोटरसाइकल चोरी गरी प्रयोग गर्दै आएका थिए।