पहिचान पुरस्कारका लागि अन्तिम पाँच कृति छानिए
काठमाडौं : प्रत्येक वर्ष वितरण हुँदै आएको पहिचान पुरस्कारका लागि यो वर्ष अन्तिम पाँचवटा कृति छनोट भएका छन् ।
छनोट भएका पाँच कृतिमध्येबाट उत्कृष्ट एउटालाई छनोट गरी पुरस्कार दिइने पहिचान पुरस्कारका संस्थापक नरेश काङमाङले बताए । छनोट भएका कृतिहरुमा उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतिक्षाको ‘नथिया’, नवीन जिरेलको ‘भिषण दिनहरु’, बसन्त बस्नेतको ‘७२ को बिस्मय’ र गणेश राईको ‘फोकल्याण्ड जर्नल’ रहेका छन ।
उत्कृष्ट कृति छनोट भई उक्त कृतिले २ लाख २ हजार दुई रुपैया राशीको पहिचान पुरस्कार पाउने छ । लेखनको माध्यमबाट पहिचानको कुरालाई विशेष प्राथमिकता दिने कृतिलाई पहिचान पुरस्कार दिइदै आएको छ । नेपाली कला साहित्यमा पहिचानलाई स्थापित गर्न पुरस्कारको स्थापना गरिएको हो ।
यसभन्दा अगाडि तीनवटा कृतिले पहिचान पुरस्कार पाइसकेका छन् । राजन मुकारुङको ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयङको सुगन्ध’ र यज्ञशको ‘भुइँया’ले पहिचान पुरस्कार पाइसकेका छन । यसपल्ट वितरण गरिने पहिचान पुरस्कार चौथो संस्करण हो ।
पुरस्कार पुरस्कार चैत्रको दोस्रो हप्ता वितरण गरिने भएको छ । पहिचानलाई अनुसन्धानमुलक बनाउन र स्थापित गर्नका लागि पुरस्कार स्थापना गरिएको पुरस्कारका संस्थापक नरेश काङमाङले बताए ।