पूर्वलडाकुको दुखेसो : हिजो बन्दुक भिराउनेले आज हामीलाई चिनेनन्
काठमाडौँ: कलेटी परेका ओठमा थुक पनि सुकिसकेको जिब्रो एक फेर घुम्छ। मास्क खोल्दा निरिह लाग्छन् मंगलसिंह प्रजाका आँखा। उनका फुङ्ग उडेका दुई आँखा चारैतिर घुम्छन् र, ढाडलाई अडेस लगाउँछन् पुसको चिसोले ढाकिसकेको पेटीमा।
प्रजा मंसिर २७ देखि माइतीघर मण्डलामा आमरण अनशनरत पूर्वलडाकु मध्येका एक हुन्। अनशनकै क्रममा बेहोस भएका प्रजा एक पटक बौरिएका छन्। मकवानपुरको मनहरी गाउँपालिकाका ३३ वर्षीय उनी आफ्ना समस्या नेतालाई सुनाउन केही महिनाअघि राजधानी छिरेका थिए। तर, उनलाई हिजो सपनाका कयौँ पहाड देखाएर बन्दुक बोकाएका तिनै नेताले चिनेनन्।
१५-१६ वर्षको कलिलो उमेरमै प्रजा माओवादी जनयुद्धमा होमिएका उनी। त्यो बेला उनलाई लाग्थ्यो-देशको शासन सत्ता बदल्नुपर्छ तब न हामी जस्ता गरिबको दिन आउँछ। 'तर, त्यो बेलाको मेरो सोच गलत रहेछ, हाम्रा दिन आएनन् नेताहरूका दिन आए' उनी भन्छन्।
उनी अहिले ज्यान जोखिममा राखेर जनयुद्धमा होमिएको पछुताएका छन्। युद्धमा होमिन प्रेरित गर्ने तत्कालीन माओवादी नेताबाटै अहिले आफुहरू उपेक्षित र अपहेलित भएको गुनासो प्रजा सुनाउँछन्।
प्रजाका युद्धका क्रममा विभिन्न विस्फोटमा परे। उनका शरीरमा अझै पनि छर्रा छन्। ती छर्रा निकाल्न उनीसँग पैसो छैन। 'उपचार गर्दागर्दै बुवाले कमाएको सम्पती पनि सकियो' उनी भन्छन्,'गरिबीले परिवारको बिजोक छ, मेरो उपचार नपाएर यहाँ बेवारिसे लडिरहेको छु।'
प्रजाको परिवारमा उनका दाजु र बुवा आमासहित चार सदस्य थिए। परिवार सुखी नै थियो। प्रजाका दुई भाइ माओवादी जनयुद्धमा होमिए। केही समयपछि एउटा विस्फोटमा परेर दाजुको मृत्यु भयो। छोराको मृत्युको खबर सुनेर आमाको पनि हृदयघातबाट मृत्यु भयो। 'शरीर अपाङ्ग छ कमजोर छ केही काम पनि गर्न पनि सक्दिनँ' प्रज्ञा भन्छन्,'कि यहीँ मरिन्छ कि अधिकार लिइन्छ।'
ज्यानसँगै घर पनि लथालिङ्ग
अनशनरत अर्का पूर्वलडाकु हुन् बर्दिया गुलरियाका संङ्ग्रामे सार्की (४०)। जनयुद्धमा होमिँदा उनको घर कालिकोटमा थियो। २०५७ सालमा तत्कालीन धौलगो गाविसका उनी पहिलो माओवादी लडाकु हुन्। संङ्ग्रामे आफ्नो घरको भरुवा बन्दुर बोकेर प्रख्यात किलोशेरा अप्रेशनका क्रममा सरकारी फौजसँग लड्न गएका थिए।
अहिले संङ्ग्रामे लठ्ठीको साहाराबिना उभिन सक्दैनन्। उनका दुवै खुट्टा फ्याक्चर भएका छन्। एउटामा रड हालिएको छ भने अर्को खुट्टाको कुर्कुच्चाले काम गर्दैन। २०५९ साल भदौमा अर्गाखाँचीको सन्धिखर्क र अन्य स्थानमा भएका आक्रमणका क्रममा उनलाई गोली लागेको थियो।'शरीरमा रहेका गोली निकाल्नै बाँकी छ, उपचार गर्ने पैसो छैन' पूर्वलडाकु संङ्ग्रामे भन्छन्,'श्रीमती किस्मता सार्की 'नमिता' पनि जनयुद्धकी घाइते हो, घर चलाउनै हम्मे-हम्मे छ, छोरीको मृगौला फेल भएर डाइलोसिस गराइरहेको छु, आफ्नो केले कसरी उपचार गर्नु?'
संङ्ग्रामे जनयुद्धका नेताहरूसँग सहयोग माग्न काठमाडौं आएको १० महिना भयो। आफ्नो समस्या लिएर उनी जनयुद्धमा आफुलाई आदेश दिने जनार्दन शर्मा 'प्रभाकर', बर्षमान पुन 'अनन्त' लगायतका नेताको निवासमा पुगे। तर, नेताहरूले संङ्ग्रामेलाई चिनेनन्, मुन्टो बटारे।
'जनयुद्धमा आफूलाई परिचालन गर्दा नाम बोलाउने नेताहरूले अहिले नचिन्दा धेरै पीडा भयो', उनी भन्छन्,'नचिने पनि आफ्ना समस्या राखेँ, तत्काल हुन्छ भन्नुभयो तर, उहाँहरूको तत्काल हाम्रा लागि कहिल्यै आएन । '
देशको शासन सत्ता परिवर्तनका लागि ज्यानको वास्ता नै नगरी युद्धमा होमि एपनि अहिले र पहिलेमा कुनै परिवर्तन नदेखिएको संङ्ग्रामे बताउँछन्। उनलाई लाग्छ,'अहिले नेताहरूलाई पैसाको मात लागेको छ।'
उपचारमा सबै सकियो
दैलेखका नरवीर दमाई(४०) अर्का अनशनरत पूर्वलडाकु हुन्। युद्धका बेला पेटमा लागेको गोली र छर्राहरू टाउकोबाट निकाल्न बाँकी छ। उपचार गर्दागर्दै ३६ लाख रुपैयाँ खर्च भइसकेको उनी सुनाउँछन् ।
'१० महिना भयो नेताहरूसँग सहयोग माग्दै काठमाडौं आएको, घरमा श्रीमतीले मजदुरी गरेर बालबच्चा पालेकी छ' नरवीर भन्छन्, 'भारतमा गएर उपचार गर्न लागेको तीन वर्ष भयो, सम्पती सबै सकियो।' जुम्लाको खलङ्गा, रुकुमको खारा र रोल्पाको गाम हमलामा उनी घाइते भएका थिए।
आँखो गुम्यो, पीडा बढ्यो
बीरबहादुर परियार(३६) पनि माइतीघरस्थित मण्डलामा अमरण अनशन बसिरहेका छन्। जनयुद्धका बेला ०६८ साल म्याग्दीको लडाइमा उनको आँखामा छर्रा पस्यो। पछि त्यो छर्रा निकालेर फालियो अनि एउटा आँखा नदेख्ने भए। त्यस्तै बाँकेको कुशुममा पनि उनको खुट्टामा गोली लाग्यो। त्यसको पीडा अहिलेसम्म भोगिरहेको बताउँछन् बीरबहादुर।
'केही पूर्वलडाकुको घरपरिवार बलियो छ, उनीहरूले धानेका पनि छन् तर हाम्रो अवस्था साह्रै नाजुक भएर अनशन बसेका हौं', बीरबहादुर भन्छन्,'भएको सम्पती पनि आँखा अप्रेसन गरेर छर्रा निकाल्दा सकियो, अभावमा परिवार तड्पिरहेका छन्, म घाइते भएर तड्पिरहेको छु।'
जिउँदै मरेसरह भएँ
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको गृहजिल्ला कालिकोटको त्रिवेणी गाउँपालिकाका मन सार्की(३५) अनशन बसेका अर्का पूर्वलडाकु हुन्। उनको शरीरमा चारवटा गोली छन् तर, अप्रेसन गरेर गडेका गोली झिक्न उनीसँग पैसा छैन।
कालिकोटको कोटवाडामा भएको युद्धका बेला मन विस्फोटमा परे। जसको कारण उनको छातीमा ठुलो चोट लाग्यो। पछि उनको छातीबाट जमेको रगत समेत निकालियो। र, उनी बाँच्न सफल भए।
'विस्फोटबाट बाँचे पनि अहिले मरेसरह भएको छु' उनी भन्छन्,'उपचारका क्रममा ३-४ लागि पैसा सकियो, मुखबाट रगत आइरहन्छ, अब मसँग उपचार गर्ने पैसा नै छैन।' नेताहरूबाट सहयोग पाइन्छ कि भनेर उनी चार महिनाअघि काठमाडौं आएका थिए। तर, नेताहरूले आफूलाई वास्ता नगरेको गुनासो उनको छ।
'गाउँमा सामान्य औषधी मात्र नि:शुल्क दिन्छ, महंगो त्यहाँ पाइदैन, औषधि किन्न यतै आउनुपर्छ' उनी मन भन्छन्,'डाक्टरहरू क्यान्सर हुन्छ भन्छन्, आफूसँग उपचार गर्ने कुनै उपाय छैन।' केही सीप नलागेपछि आफू अनशन बसेको उनी बताउँछन्।
अनशनरत अर्का पूर्वलडाकु हुन् बर्दिया सानोश्रीका लिलाचन्द्र कामी (४५)। जनयुद्धका बेला उनलाई सरकारी सुरक्षा निकायले धेरै पटक चरम यातना दियो। सोही कारण उनलाई जीवनभर औषधी खानुपर्ने भएको छ।
आफूलाई सेनाले पक्राउ गरेर करेन्ट लगाएको र हड्डी धुलो हुने गरी पिटेकाले अहिले आफ्नो स्वास्थ्य अवस्था निकै खराब रहेको उनी बताउँछन्। 'प्रहरी र सरकारी सेनाको यातनाले मेरो मानसिक अवस्था नै बिग्रियो, मानसिक अवस्था सन्तुलनमा ल्याउन मर्नुभन्दा अगाडिसम्म औषधि खानुपर्ने भएको छ' लीलाचन्द्र भन्छन्,'भएको अलिकति जमिन धरौटी राखेर औषधोपचार गरिरहेको छु।'
'कि मर्छौं कि सङ्घर्ष गर्छौं'
माइतीघर मण्डलामा आमरण अनशनरत पूर्वलडाकुहरुले न्याय नपाएसम्म सङ्घर्षमै रहने बताएका छन्। जुम्लाका नरवीर दमाई, बर्दिया गुलरियाका संग्रमे सार्की, बर्दिया सानोश्री लिलाचन्द्र कामी, मकवानपुरका मंगलसिंह प्रजा, कालिकोटका मन दर्जी र जुम्ला तातोपानीका वीरबहादुरपरियारसहित ६ जना पूर्वलडाकु अमरण अनसनमा छन्।
जनयुद्ध तथा आन्दोलनका घाइतेलाई समय सन्दर्भिक जीवन निर्वाह भत्ता ग्यारेन्टी गर्ने, त्यस्ता व्यक्तिहरूलाई नि:शुल्क शिक्षा तथा रोजगारीको व्यवस्था गर्ने, औषधि तथा उपचारका आर्थिक सहायता गर्ने, जनयुद्धका क्रममा घाइतेको पुन: अवलोकन प्रतिशन निर्धारण खारेज गर्ने जस्ता मागहरू उनीहरूले राखेका छन्।
पूर्वमाओवादी लडाकु युवराज विकलाई अपराधमा मुद्दा चलाएको समेत अनसनरत पूर्वलडाकुले विरोध गरेका छन्। प्रहरीले विकलाई विहीगृहमन्त्रालयबाट पक्राउ गरेर सामाजिक हितविरुद्धको मुद्दा चलाएको हो।
यस पक्राउ प्रकरणलाई उनीहरूले आफूहरूमाथि षड्यन्त्र हुन लागेको निष्कर्ष निकालेका छन्। सशस्त्र द्वन्द्वका घाइते तथा अपांग संघर्ष समितिका संयोजक समेत रहेका विकलाई प्रहरीले पक्राउ गरेपछि उनीहरूले अनसन सुरु गरेका थिए।
के हो पूर्वलडाकु समस्या?
जनयुद्धमा लागेका १९ हजार ६ सय जनमुक्ति सैनिकमध्ये चार हजार ९ जनालाई अयोग्य भन्दै विदा गरिएको थियो। करिब १४ सय जना नेपाली सेनामा समायोजन भएका थिए। बाँकीले स्वेच्छिक अवकाश रोजेका थिए।
पूर्वमाओवादीका लडाकुहरु तथा द्वन्द्वपीडितहरुले पटक–पटक आन्दोलन गर्दै नेतृत्वको ध्यानार्कषण गरेका थिए तर उनीहरूका समस्याप्रति राज्य अझ गम्भीर बन्न नसकेको उनीहरू बताउँछन्। पूर्वलडाकु र द्वन्द्वपीडितका समस्याप्रति सरकारले कानुन बनेको छैन भन्दै पन्छिदै आएको उनीहरूको आरोप छ।