मृत्युलाई जितेकी मनीषा भन्छिन् : क्यान्सरले झन् साहसी बनायो

मृत्युलाई जितेकी मनीषा भन्छिन् : क्यान्सरले झन् साहसी बनायो

काठमाडौँ : मृत्युसँको महासंग्रामपछि जितिएको जीवन अति नै प्यारो र ऊर्जावान् हुन्छ । त्यसको एक ज्वलन्त उदाहरण हुन् अभिनेत्री मनीषा कोइराला । उनी पाठेघरको क्यान्सरको जोखिमपूर्ण अवस्था पार गरेर बाँच्न सफल भएकी हुन् । यो जीवन नयाँ जन्मसरह भएको छ उनका लागि । मृत्युसँग साक्षातकार गरेर बाँच्दा उनलाई बाँकी जीवन सार्थक बनाउने जोश आएको छ । त्यही जोशको उदाहरण हो उनको प्रकाशोन्मुख पुस्तक ‘हिल्ड’ । 

क्यान्सरको पीडादायी याद सेलाउन नपाउँदै उनले पुस्तकाकार रुपमा प्रस्तुत गर्ने विचार गरिन् । खुसी वा दुःख जे भए पनि मानिसले समयसँगै बिर्सिँदै जाने बताउँदै उनले भनिन्, ‘मेरो दुःख अरुको लागि उत्प्रेरणा बन्न सक्छ । त्यसैले यसलाई समयसँगै मर्न नदिने विचार मैले गरेँ । त्यसलाई जीवित राख्ने एउटै बाटो लेखन हो भन्ने मैले बुझेको थिएँ । ती पीडाका असह्य यादहरुलाई किताबका रुपमा जीवित राख्ने प्रयास गरेँ।’

अभिनय भन्दा लेखन गाह्रो

किताब लेख्ने काम अभिनयभन्दा निकै गाह्रो हुने उनको अनुभव छ । ‘म सानै उमेरदेखि पढ्ने वातावरणमा हुर्किएकी हुँ । पढाइमा रुची भए पनि सानासाना कथा लेखेर फाल्ने बाहेक लेखनका लागि थप केही गरिनँ’, उनी भन्छिन्, ‘अभिनयभन्दा लेखन मेरा लागि धेरै गाह्रो थियो, लेखन पनि एउटा साधना हो । मैले ३० वर्षसम्म अभिनय गरेर आफूलाई निखारेँ, त्यसैले लेखनभन्दा अभिनय सहज लाग्छ ।’

पीडादायी समयलाई उतार्नु भावनात्मक रुपमा पनि कष्टदायी भएको उनले सुनाइन् । ‘किताब लेखन मेरा लागि असाध्यै कठिन भयो । कष्टका साथ बिताएका ती दिनहरु सम्झिँदा मलाई रोग लागेकै समयमा जति पीडाबोध हुन्थ्यो’, उनले सुनाइन्, ‘धेरै पटक असाध्यै गाह्रो भयो भनेर लेख्दिनँ जस्तो लाग्यो । पछाडि फर्केर पीडाका दिन याद गर्न धेरै निकै कठिन हुन्छ । लेख्दा अनायासै कयौँपटक आँसु झरेका छन् ।’

अर्को कितावको तयारी

आफूले दुःखले लेखेको किताब पाठकले कति रुचाउने हुन् भन्ने विषयमा उत्साहित भएको उनले बताइन् । ‘किताब लेखेर म निकै नै उत्साहित छु । मेरा पाठकले के प्रतिक्रिया दिन्छन् त्यसको पर्खाइमा छु’, उनले भनिन् । लेखन कार्यमा निरन्तर लाग्ने ऊर्जा उनमा पलाएको छ । पहिलो किताब प्रकाशनपूर्व नै उनी दोस्रो किताब निकाल्ने योजनामा लागिसकेकी छन् । 

आफूले दोस्रो किताब पारिवारिक सम्बन्ध र राजनीतिबारेमा ल्याउन लागेको बताउँदै उनले भनिन्, ‘म अर्को किताब नेपाली भाषामा लेख्ने योजनामा छु । मेरो र पिता प्रकाश कोइरालासँगको कुराकानीलाई आधार बनाएर कोइराला परिवार र राजनीतिक विषयलाई त्यसमा उतार्ने छु ।’

नकारात्मक कुरा नसुन्नु

उनले बिरामी भएपछि त्यसको मानसिक असरबाट निस्केर आफूलाई बलियो बनाउन निकै नै प्रयास गर्नुपर्यो । त्यस अवस्थामा नकारात्मक कुरा गर्ने मानिसको संगत छाडिन् । नकारात्मक विचार पलाउने कुरा पढ्न र सुन्न पनि छाडिन् । ‘नकारात्मक कुराले मनोबल कमजोर पार्ने भएर जुन कुराले मनोबल बढाउँछ त्यही मात्र हेर्न सुन्नतिर म लागेँ । निराशा बढाउने सबै कुरालाई छाडिदिएँ ।’

क्यान्सरले आफूलाई सहासी बनाएको उनको अनुभव छ । ‘तीन वर्षसम्म रोग आउँछ भनेर डरमा बाँच्नुभन्दा आए आउँछ, त्यही बेला भोग्छु, अहिले नै देखि डराउँदै बाँचेर जीवनको मज्जा लिन सकिन्नँ । जतिदिन हुन्छ त्यतिदिन खुसीसँग बाँच्छु भन्ने कुरा मलाई क्यान्सरले सिकायो ।’

विरामी भएपछि जीवन हेर्ने दृष्टिकोण नै फेरिएको बताउँदै उनले अगाडि भनिन्, ‘म अहिले सम्पूर्ण कुरामा रमाउन सक्छु । सबै मानिसलाई सहजै माफी दिन सक्छु । जीवन नै फरक जस्तो लाग्छ ।’

जीवनको अर्थ बुँझेँ

आफूलाई क्यान्सले धेरै हदसम्म जीवनको अर्थ सिकाएको भन्दै उनले भनिन्, ‘म अभिनयमा भएको बेलामाभन्दा अहिलेको जीवनमा धेरै रमाइरहेकी छु । मरेर बाँचेको भएर होला मलाई वर्तमान समयको महत्व धेरै छ । जीवित हुनु निकै ठूलो उपलब्धि जस्तो लाग्छ ।’ 

क्यान्सर लागेका मानिसलाई बाँच्ने आशा नमारी सधैँ सकारात्मक बन्न आग्रह गर्दै उनले थपिन्, ‘क्यान्सर के कारणले भएको हो पत्ता लगाएर उपचार गराउनु पर्छ । धेरै हदसम्म निको हुन्छ । हरेस नखाई मनोबल बढाइराख्नु पहिलो सफलता हो । जीवनको अर्थ बाँचुन्जेल हुने भएकाले रमाएर बाँच्नुस् र समयमै उपचार गर्नुस् भन्न चाहन्छु ।’ 

हिल्ड नेपालीमा आउने 

कोइरालाको पुस्तक ‘हिल्ड’ नेपालीमा अनुवाद हुने भएको छ। भारतीय प्रकाशन पेन्गुइनबाट अंग्रेजी भर्सनमा प्रकशन भएको यो पुस्तक फाइन प्रिन्टले नेपाली भाषामा ल्याउन लागेको हो।

सोमबार नक्सालमा भएको कार्यक्रममा अभिनेत्री कोइरालाले पोखरामा हुने ‘नेपाल लिटरेचर फेस्टिभल’ मा पुस्तकको अंग्रेजी संस्करण विमोचन हुने बताएकी छन्। पुस्तकमा मनिषाले क्यान्सरले आफूलाई कसरी नयाँ जीवन दियो भन्नेबारे उल्लेख गरेकी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.