अमेरिकालाई उत्तर कोरियाको यस्तो चेतावनी
सोल : उत्तर कोरियाले अमेरिकाद्धारा हालै जारी गरिएको नाकाबन्दीप्रति आपत्ति जनाएको छ । उत्तर कोरियाले नाकाबन्दीका कारण उत्तर निःशस्त्रीकरणसम्बन्धी कार्यक्रम रोक्ने चेतावनी दिएको हो । गत जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्तापछि उत्तर कोरियामा निःशस्त्रीकरणको विषयमा सहमति भएको थियो यद्यपि यस विषयमा पछिल्लो समयमा प्रगति हुन सकेको छैन ।
सिंगापुर बैठकमा भएको सहमतिअनुसार यी दुई नेताले उत्तर कोरियामा निःशस्त्रीकरण गर्ने बारेमा हस्ताक्षर गरेका थिए । त्यसपछिका दिन सहज हुन सकेका छैनन् । वार्तामा पछिल्लो समयमा अवरोध उत्पन्न हुने गरेको छ । अमेरिकाले अहिलेकै अवस्थामा निःशर्त उत्तर कोरिया निशस्त्रीकरण गरोस् भन्नेमा छ । उत्तर कोरियाले भने अमेरिकाले लगाउँदै आएका नाकाबन्दी हटाओस् भन्ने चाहन्छ । अहिले उत्तर कोरियाले अमेरिकाले लगाएका नाकाबन्दी तत्कालै नहटाउने हो भने निःशस्त्रीकरणको प्रक्रिया पनि आरम्भ नहुने र आगामी दिनमा पनि यो प्रक्रियाले कहिल्यै पूर्णता नपाउने चेतावनी दिएको छ ।
अमेरिकाले गत साता उत्तर कोरियाली तीन अधिकारीका विरुद्धमा मानवअधिकार हननको आरोप लगाएको छ । उनीहरूविरुद्ध पनि अमेरिकाले नाकाबन्दी जारी गरेको छ । तीमध्येका एकजना चो योङ हाय उत्तर कोरियाली नेता किमका दाहिने हात मानिन्छन् ।
उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले भनेको छ, ‘अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार आफ्ना अभिव्यक्तिबाट उत्तर कोरियासँगको सम्बन्धमा सुधार ल्याउने चाहन्छन् । तैपनि अमेरिकी विदेश मन्त्रालयले भने बारम्बार उत्तर कोरियाविरुद्ध नाकाबन्दीका साथै सम्बन्धलाई गत वर्षकै अवस्थामा पुर्याउने खेल प्रदर्शन गरिरहेको छ ।’
हाल अमेरिकी विदेश मन्त्रालयले हरेक साताजस्तो विज्ञप्ति प्रकाशन गरेर उत्तर कोरियाल पछिल्लो समयमा कपटपूर्ण काममा लागेको र उसले निःशस्त्रीकरणको लागि प्रक्रिया शुरु नगरेको बताउने गरेको छ । उत्तर कोरियाले भने आपूm सिंगापुर सम्झौताको पक्षमा इमानदारी साथ लागि परेको तर त्यस सम्झौताबमोजिम अमेरिका भने नाकाबन्दी हटाउने पक्षमा नदेखिएको जनाएको छ ।