बाहिरियो साविक विजेता, प्ले अफमा चितवन

बाहिरियो साविक विजेता, प्ले अफमा चितवन

काठमाडौं : जित्नैपर्ने बाध्यतामा रहेको काठमाडौं किङ्स इलाभेनविरुद्धको खेलमा पाँच विकेटले पराजित भएपछि साविक विजेता विराटनगर वारियर्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको समूहगत चरणबाटै बाहिरिएको छ। यो नतिजाले काठमाडौं भने प्रतियोगिताको पहिलो क्वालिफायरमा प्रवेश गरेको छ।

 विराटनगर बाहिरिँदा चितवन टाइगर्स प्रतियोगिताको प्ले अफ चरणमा प्रवेश गरेको छ। मंगलबार हुने पहिलो क्वालिफायर खेलमा काठमाडौंले ललितपुर वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ भने चितवन र भैरहवाले इलिमिनेटरमा भिडन्त गर्नेछन्।

पहिलो क्वालिफायरको विजेता टोली सीधै फाइनलमा प्रवेश गर्नेछ। पराजित टोलीले इलिमिनेटरको विजेता टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ। विराटनगरलाई प्ले अफ चरणको यात्रा निश्चित गर्न काठमाडौं विरुद्धको खेलमा पराजित नै भएको अवस्थामा समेत १८ ओभरसम्म खेल्न आवश्यक थियो। यद्यपि विराटनगरले आवश्यक नतिजा निकाल्न सकेन। दुई जितबाट समान चार अंक बनाए पनि चितवन नेट रन रेटमा विराटनगरलाई पछि पार्दै प्ले अफ चरणमा प्रवेश गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गरेको विराटनगर १७.५ ओभरमा एक सय रनको योगफलमै समेटिएको थियो। जवाफमा आएको काठमाडौंले १७.५ ओभरमै पाँच विकेट गुमाएर लक्ष्य पार गरेको हो। काठमाडौंलाई विजयी बनाउन आईरिस खेलाडी केभिन ओब्राइनले अल राउन्ड प्रदर्शन गरे। बलिङतर्फ सर्वाधिक तीन विकेट लिएका ओब्राइनले ब्याटिङतर्फ अविजित ४५ रन प्रहार गरे।

ओब्राइनले नै विराटनगरका कप्तान पारस खड्काले गरेको १८औं ओभरको बलिङमा तीन छक्का प्रहार गरेका थिए। प्ले अफको निकै नजिक रहेको विराटनगर ओब्राइनको त्यही तीन छक्कापछि प्रतियोगिताबाट बाहिरिएको हो। ओब्राइनले आफ्नो पालिमा तीन छक्कासहित दुई चौका प्रहार गरेका थिए। बलिङमा पनि तीन ओभरमा मात्रै १८ रन खर्चिएका ओब्राइन म्यान अफ दी म्याच चुनिए। उनीबाहेक भारतीय खेलाडी पर्दिप साहुले २१ रन जोड्दा प्रारम्भिक ब्याट्सम्यान अमित श्रेष्ठ १४ तथा सागर पुन १० रनमा आउट भए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

विराटनगरका लागि सुमित महर्जनले २५, कप्तान पारसले २१ रन तथा हरिबहादुर चौहानले २२ रन जोडे पनि जित सम्भव भएन। सुमितले आफ्नो पालिमा दुई छक्का र एक चौका, पारसले एक छक्का र दुई चौका तथा हरिले तीन चौका प्रहार गरेका थिए। हङ्कङेली खेलाडी बाबर हायातले ११ रन जोड्दा बाँकी खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

विराटनगरलाई सस्तो योगफलमै रोक्न ओब्राइनबाहेक काठमाडौंका कप्तान रोहन मुस्तफा, विक्रम भुसाल र पर्दिपले दुईदुई विकेट लिएका थिए। विराटनगरका कप्तान पारस र डच खेलाडी रोइलोफ भान डर मर्वीले पनि काठमाडौंको दुईदुई विकेट लिएका थिए। कप्तान पारसले ब्याटिङमै कमजोर प्रदर्शन हुँदा समूहगत चरणबाटै बाहिरिनु परेको प्रतिक्रिया दिए।

बढ्यो पुरस्कार राशि

यसैबीच, ईपीएल आयोजकले विजेता टोलीले पाउने पुरस्कार रकममा वृद्धि गरेको छ। ईपीएलले सोमबार सार्वजनिक गरेअनुसार जारी प्रतियोगिताको विजेता टोलीले २५ लाख प्राप्त गर्नेछ। गत वर्षको विजेता टोली विराटनगर वारियर्सले २० लाख प्राप्त गरेको थियो। ईपीएलले दोस्रो हुने टोलीले १० लाख प्राप्त गर्ने तथा प्रतियोगिताको एक सर्वाेत्कृष्ट खेलाडीले टीभीएसको अपाच्चे आरटीआर १६० सीसीको बाइक प्राप्त गर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.