नेपाल पुलिस शीर्ष स्थानमा
पोखरा : पोखरामा जारी आरबीबी एनभीए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगितामा तीन खेल जितेर नेपाल पुलिस क्लब नौ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। पुलिसले सोमबार दुई खेलमा जित हात पार्यो। त्रिभुवन आर्मी क्लब र एपीएफ समान ६-६ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्। पाँच अंक बनाएको हेल्प नेपाल चौथो स्थानमा छ। तीन खेलमा पराजित नयाँबजार सामाजिक युवा क्लब एक अंकका साथ पाँचौं स्थानमा छ।
नेपालले सोमबार जावलाखेललाई २५-२१, २५-१४, २५-१८ को सेटमा हरायो। अर्को खेलमा नेपालले भारतीय खेलाडी सम्मिलित नयाँबजारलाई २५-२२, २५-२१, १९-२५, २५ -१३ को सेटमा हराउँदै अपराजित यात्रा कायम राख्यो। एपीएफ क्लबले रूपन्देहीको मणिमुकुन्द भलिबल क्लबलाई २५-१८, २५-१५, २५-१७ को सोझो सेटमा हरायो
आर्मीले ढोरपाटन स्पोर्टस् क्लबलाई २५-१९, २५-१७, २५-१२ को सोझो सेटमा पराजित गर्यो। हेल्प नेपाल स्पोर्टस्ले नयाँबजारलाई २०-२५, २५-२२, २५-२१, १६-२५, १५-११ को सोटमा हरायो।
प्रतियोगिताका विजेताले नगद दुई लाख रुपैयाँ पाउनेछन्। यसैगरी उपविजेताले एक लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पाउनेछन्। यसैगरी उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्दा विधागत रूपमा उत्कृष्ट हुनेले जनही पाँच हजार रुपैयाँ पाउनेछन्।