मनाङलाई सेटिङको चिन्ता
काठमाडौं : पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होडमा रहेको मनाङ मस्र्याङ्दी क्लबले उपाधिका लागि आफ्नो टोली अझै ढुक्क नभएको बताएको छ। आठौं चरणको खेलसम्म अपराजित यात्रा कायम राखेको मनाङ लिगमा शतप्रतिशत जित हात पार्ने पहिलो टोली हो।
तर पनि मनाङलाई लिग जित्न नदिन धेरै सेटिङ (खेल मिलेमतो)हुने आरोप मनाङका सहायक प्रशिक्षक सुमन श्रेष्ठले लगाए। आठौं चरणको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोलले हराएपछि सुमनले यस्तो चिन्ता गरेका हुन्। ‘हामीले मैदानमा राम्रो खेलिरहेका छौं।
मनाङले टोली निर्माणका लागि धेरै मेहनत र लाखौं रुपैयाँ खर्च गरिरहेको छ। जब मैदानमा मनाङ खेल्छ, रेफ्रीले अनावश्यक फल दिने गरेका छन्। मनाङको हरेक खेलमा इन्जुरी समयसमेत सात÷आठ मिनेट थप्ने गरिएको छ। हामीलाई कतै जित्न नदिने हो कि भन्ने डर लागिरहेको छ,’ आर्मीलाई हराएपछि सुमनले भने।
रेलिगेसन बिनाको लिग भएकाले जस्तोसुकै सेटिङ हुने आशंका पनि उनले गरे। ‘हामी लगभग ७५ प्रतिशत उपाधि नजिक पुगेका छौं। तर ढुक्क छैनौं। रेलिगेसन नहुँदा एउटै खेलाडीको कारणले पनि लिगको नतिजामा तलमाथि हुन सक्छ। सेटिङ खेलाडीमा मात्र होइन। महत्वपूर्ण खेलाडीलाई कार्ड दिएर पनि हुन्छ। लिगको व्यवस्थापनबाटै मनाङलाई जित्न नदिने सेटिङ भइरहेको जस्तो लाग्छ। हामीले यस विषयमा लिखित उजुरी दिएका छैनौं। मनाङबाट एन्फा कार्यसमितिमा सदस्य पनि हुनुहुन्छ। पहिला उहाँलाई जानकारी गराएर आवश्यक परे लिखित उजुरी दिनेछौं,’ सुमनले भने। उनले आफ्ना खेलाडीले सेटिङ नगर्नेमा क्लब व्यवस्थापन ढुक्क रहेको पनि बताए।
लिगको तेस्रो चरणमा बलियो प्रतिद्वन्द्वी थ्रीस्टारलाई २-१ गोलले हराएपछि उत्साहित देखिएको मनाङ आठौं खेलमा आर्मीलाई हराएपछि थप बलियो बनेको छ। मनाङले अबको मुख्य प्रतिस्पर्धी च्यासल, संकटा र पुलिस क्लबलाई ठानेको छ।