दलको नेतामा मुख्यमन्त्री शाही

दलको नेतामा मुख्यमन्त्री शाही

सुर्खेतः लामो रस्साकस्सीपछि कर्णाली प्रदेशको संसदमा सत्तारुढ नेकपाले संसदीय दलको नेता चयन गरेको छ। तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि कर्णाली प्रदेश सभामा नेकपाले दलको नेता चयन गर्न सकेको थिएन। तर सोमबार राति सम्पन्न नेकपा संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दलको नेतामा चयन गरेको हो।

यसअघि दलको नेताका लागि मुख्यमन्त्री शाही र तत्कालिन एमाले संसदीय दलका नेता यामलाल कँडेलबीच लामो रस्साकस्सी चल्दै आएको थियो। अन्ततः पार्टी केन्द्रको निर्देशनपछि नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज समेत रहेका कँडेल पछाडी हटेका हुन्।

कँडेल पछाडी हटेका कारण मुख्यमन्त्री शाहीलाई दलको नेता बन्ने बाटो खुलेको हो। नेकपा संसदीय दलको बैठकमा नेता कँडेलले नै मुख्यमन्त्री शाहीलाई दलको नेतामा प्रस्ताव गरेका थिए। कँडेलको उक्त प्रस्ताव सर्वसम्वत रुपमा बैठकले पारित गरेको र मुख्यमन्त्री शाही संसदीय दलको नेतामा चयन भएको सांसद धर्मराज रेग्मीले बताए। 

समितिहरु अझैं नेतृत्वबिहीन
कर्णालीमा सत्तारुढ नेकपाभित्र सहमति नजुट्दा लामो समयदेखि संसदीय समिति नेतृत्वबिहीन छन्। प्रदेश सभामा गठन भएका विभिन्न चारवटा संसदीय समितिले हालसम्म पनि नेतृत्व पाउन सकेका छैनन्। जसकाकारण संसदको काम पनि प्रभावकारी हुन सकेको छैन।

प्रदेश संसदको कामलाई प्रभावकारी र व्यवस्थित गर्न भन्दै संसदले विषयगत समितिहरु गठन गरेको छ। तर गठन भएको आठ महिना वितिसक्दा पनि समितिहरुले नेतृत्व पाउन सकेका छैनन्  प्रदेशसभामा गठन भएका विधायन तथा प्रदेश मामिला, सामाजिक विकास, अर्थ तथा प्राकृतिक स्रोत र सार्वजनिक लेखा समितिले हालसम्म अध्यक्ष पाएका छैनन्। नेकपाको दलको नेता चयनमा भएका ढिलाइका कारण पनि समितिहरुमा नेतृत्व छनौट हुन नसकेको हो।

समितिको नेतृत्वमा भागबण्डा मिलाउनुपर्ने अवस्था रहेको र दलको नेता चयनमा भएको ढीलाइका कारण संसदीय समितिहरुमा नेतृत्व चयन हुन नसकेको नेकपाले जनाएको छ। अब दलको नेता चयन भइसकेकाले पनि समितिको नेतृत्व चाँडै हुने नेकपाको दाबी छ। दलको नेतामा चयन भएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, 'हामीले दलको नेता चयन गरेका छौं, अब समितिमा पनि नेतृत्व चयन गर्नेछौं।केही दिनमा समितिले पनि नेतृत्व पाउने छन्, अब काम तीव्र गतिमा बढ्नेछ।'

अब संसदीय दलले गति लिने भन्दै मुख्यमन्त्री शाहीले तत्काल संसदीय समितिको नेतृत्व चयन गरेर संसदको कामलाई पनि प्रभावकारी बनाइने जानकारी दिए। साथै उनले संसदीय दलको प्रमुख सचेतक र सचेतक पनि केही दिनभित्र चयन गरिने जनाए। हाल समितिको नेतृत्व जेष्ठ सदस्यले गर्दै आएका छन्। तर नेतृत्व चयन नहुँदा केही समितिका बैठक नै बस्न सकेका छैनन् भने केही समितिले टुंगो लगाउन नसक्दा अधिकांश विधेयक समितिमै थन्किएका छन्। यसले संसदको कामलाई नै प्रभावित गरेको छ।

कँडेल सधैं 'ब्याक'

प्रदेश सभाका ४० सीट मध्ये नेकपाको ३३ सीट रहेको छ। जसमा तत्कालिन एमालेका २० र माओवादी केन्द्रका १३ जना सांसद छन्। तत्कालिन एमालेको प्रदेश सभामा आधा हिस्सा रहेका कारण नेता कँडेलले यसअघि मुख्यमन्त्रीका लागि अन्तिम कसरत गरेका थिए। तर उनी मुख्यमन्त्रीको दौडबाट अन्तिम समयमा ब्याक भए।

पार्टी एकतापछि कर्णालीमा मुख्यमन्त्री तत्कालिन माओवादीको भागमा परेको थियो। भागबण्डाका कारण मुख्यमन्त्री नपाउने अवस्था आएपछि तत्कालिन एमाले संसदीय दलका नेता कँडेल पछाडी हटेका थिए।

कँडेल ब्याक भएपछि शाही मुख्यमन्त्री बने। मुख्यमन्त्री नपाएपछि कँडेलले पछिल्लो समयमा नेकपा संसदीय दलको नेता बन्ने इच्छा देखाएका थिए। त्यसपछि कँडेल पक्षका सांसदहरुले मुख्यमन्त्री र दलको नेता फरकफरक व्यक्ति हुनुपर्ने बहस नै चलाएका थिए।

यसो हुँदा मुख्यमन्त्रीमा शाही र दलको नेतामा कँडेललाई चयन गर्नुपर्ने तर्क उनीहरुको थियो। तर पार्टीका शीर्ष नेताको निर्देशनपछि अन्ततः कँडेल दलको नेता बन्ने दौडबाट पनि पछाडी हट्न बाध्य भएका हुन्।                              

    
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.