सडक बढार्दै बितेको एउटा जुनी
काठमाडाैँ : ७६ वर्षीय कृष्णबहादुर भण्डारीले नागढुंगा उकालोको सडक सफा गर्न थालेको ३३ वर्ष बित्यो। १९ वर्ष भारतका गल्लीहरूमा बिताएका उनी खासमा आर्मी बन्न चाहन्थे। तर, जीवन बित्यो सडक सफा गर्दागर्दै। जीवनमा घुम्ती, मोड, र गल्छेँडाहरू सम्झँदै उनी भन्छन्, ‘सबै तगदिरकोे खेल रहेछ।’
कृष्णबहादुरको हत्केला खस्रो छ। हातका ठेलाहरू फुटेर पनि सुकिसकेका छन्। हातमा बुढौलीका नसा दौडिएका छन्। तीन दशकदेखि उनको भोगाइ एकै किसिमको छ। बिहान खोक्दै उठ्नु, पहेँलो कपडा लगाउनु, गैँची र बेल्चा ठेलामा हालेर गुडाउँदै सडक किनारमा निस्कनु, कुप्रिँदै सडकका ढुंगा पन्छाउनु, घाम डुब्दै गएपछि लखतरान शरीर लिएर फेरि ठेला गुडाउँदै घर फर्किनु उनको तीन दशकदेखिको दैनिकी हो।
०००
करिब साढे तीन दशक सडकमा बिताउँदा उनले दुर्घटनाका अनेक दृश्य देखे। दुई वर्षअघिको घटना सम्झिन्छन्, उनी। औँलाले अगाडिको घुम्ती देखाउँदै भने, ‘ऊ त्यो मोडमा एउटा बाइक दुर्घटना भयो। क्याम्पस पढ्ने उमेरका विद्यार्थी त्रिपुरेश्वरबाट २८ मिनेटमा यहाँ आइपुगेछन्। स्पिडमा आएको बाइक ट्रकमुनि छि¥यो। कलिलो केटो, ठाउँको ठाउँ ठहरै !’
उनले अलि परको मोड देखाउँदै भने, ‘दिउँसोको ठीक १२ बजे। म ऊ त्यो डिलमा काम गरिरहेको थिएँ। सडक फुत्तै नाघेर ट्रक खोल्चीमा पुग्यो। ट्रक खस्दाखस्दै खलासी उछिट्यिो। ड्राइभर घाइते भयो। धन्न कोही मान्छे मरेन। गाडी निकाल्न सकेन। टुक्राटुक्रा पारेर निकाल्यो।’
यस्ता अनगिन्ती घटना उनको स्मृतिमा कैद छन्। ७२ घण्टासम्मको सडक जामदेखि दुर्घटनामा मान्छे ठहरै भएका कैयन घटना उनले देखेका छन्।
बम्बईको गल्लीमा १९ वर्ष
१९९९ सालमा धादिङ खानीखोलामा जन्मिएका थिए, कृष्णबहादुर। त्रिभुवन राजपथ बन्दा उनी २० वर्षका लक्का जवान थिए। आर्मीमा जागिर खाने रहर चल्यो। जागिरे पनि भए तर २८ दिन मात्रै। ‘तलब नै चित्त बुझेनँ,’ उनले भने, ‘दिनको दुई रुपैयाँ पनि नपर्ने। छाडिदिएँ।’
त्यसपछि उनी जागिरको खोजीमा वीरगञ्ज, रक्सोल हुँदै कलकत्ता पुगे। १९ वर्ष कलकत्ताको गल्लीहरूमा बिताए। मजदुरी गरे। भाँडा माझे। नेपालीलाई बहादुर भन्दै हेपेको उनले देखे, भोगे। निरक्षर नेपाली भाँडा माझ्दै, भारी बोक्दै भारतका गुमनाम गल्लीहरूमा उतै हराएका कति भेटे, भेटे। ‘दिनको चार रुपैयाँ कमाइ हुन्थ्यो,’ उनले सुनाए, ‘त्यसपछि गाउँ आएँ।’
नेपाल आएर दुई भाइको बिहे गरिदिए। आफूले पनि बिहे गरे। गोपिनी भण्डारी उनकी जीवनसाथी बनिन्। बिहेपछि उनी भारत फर्किनन्, सडकमा काम गर्न थाले। ‘२०४२ साल माघ २ गते सडक विभागले मलाई सडक सफा गर्ने कुल्लीको रूपमा नियुक्ति दियो,’ उनले भने।
सडक विभागमा काम गर्न आइपुग्नुको पनि रोचक कहानी छ, उनको। उनले पाएको अंश नै बाटो पर्यो। सुरुमा सानो बाटो पछि बढाउँदै लैजाँदा उनको खेत मिचियो। उनका बुबा पनि सडकमै काम गर्थे। सडक विभागका कर्मचारीसँग उनको बुबाको सामान्य चिनजान थियो। उनैले
मिलाइदिए कृष्णबहादुरलाई सडक सफा गर्ने काम।
सरकारी ऐनमा ५८ वर्षमा अवकाश लिने व्यवस्था छ। तर, कृष्णबहादुरको जीवनमा त्यो ऐन लागू भएन। करारमै बित्यो ३३ वर्ष। ‘हामी करारमा काम गर्नेलाई कसले हेर्छ र,’ उनले भने। कृष्णबहादुरले कहिलेसम्म सडक किनारमा बुढो हाड घोट्नुपर्ने हो उनलाई नै थाहा छैन। उपदानको केही व्यवस्था छैन। केही उपदान पाइन्छ कि भन्ने उनलाई आशा छ। तर, बोलिदिने कसले ? भन्छन्, ‘हामी कुल्लीको कुरा कसले सुन्छ र ?’
सुरुमा उनको तलब चार रुपैयाँ थियो। अहिले बढेर दिनको पाँच सय रुपैयाँ पुगेको छ। ड्युटी अवधिमै दुर्घटना भए दुई लाख पाउने गरी दुर्घटना बिमा गरेका छन्। दिनभरि काम गरेपछि साँझ सुपरभाइजर आइपुग्छ।
०००
राजमार्गको टायलघर मोडदेखि खानीखोला पुलिस चौकीसम्म सडक सफा गर्ने कृष्णबहादुरको भागमा पर्छ। बाह्रै महिना त्यही सडक खण्डमा कहिले खाल्टाखुल्टी सम्याइरहेका भेटिन्छन्। कहिले झार उखेलिरहेका भेटिन्छन्। कहिले ढुंगा पन्छाइरहेका भेटिन्छन्। सडक सफा भएपछि कृष्णबहादुरको भागमा धुलोको एक मुस्लो छाडेर गाडी हुँइकिन्छ। कृष्णबहादुर सडक छेउमा उभिएर हेरिबस्छन्।
टन्टलापुर घाम, वर्षे झरी, पुसको जाडो प्रकृतिले जुनसुकै रूप धारण गरोस् कृष्णबहादुरलाई मतलब छैन। उनको चाउरिएको निधारबाट डोबैडोब पसिना नबगेको दिन हुँदैन।
सामान्य रुघाखोकीबाहेक गम्भीर बिरामी आजसम्म भएका छैनन्, उनी। जीर्ण बन्दै गएको छ शरीर। नागढुंगाको उकालो चढ्न नसकेर घक्याक्क थन्किएको थोत्रो ट्रकजस्तै कतिबेला कहाँनिर थन्किन्छ एउटा बुढो ज्यामीको लीला उनलाई थाहा छैन। भन्छन्, ‘जहिलेसम्म काम दिन्छ त्यसबेलासम्म काम गर्ने।’
कुरा गर्दागर्दै काठमाडौँ उक्लिँदै गरेको भारतीय ट्रकको धुवाँले छोपिए कृष्णबहादुर। ट्रकले फ्याँकेको धुँवाले उनको चाउरिएको अनुहारमाथि एक छिन रजाइँ गर्यो। धुवाँभित्रै बेस्सरी खोके उनी। हत्केलाले आँखा पुछे अनि गुडिरहेको ट्रक हेर्दै भने, ‘सबै तगदिरको खेल रहेछ।’