मोउरिन्हो म्यानचेस्टरबाट बर्खास्त
लन्डन : इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक होजे मोउरिन्होललाई मंगलबार पदबाट बर्खास्त गरेको छ।
टोलीले लगातार निराशाजनक प्रदर्शन गरेपछि उनलाई पदबाट बर्खास्त गरिएको हो। ५५ वर्षीय पोर्चुगिज नागरिक मोउरिन्हो साढे दुई वर्षअघि म्यानचेस्टर युनाइटेडको प्रशिक्षकमा नियुक्त भएका थिए।
मोउरिन्होले आफ्नो कार्यकालमा म्यानचेस्टर युनाइटेडलाई इङ्लिस लिग कप र युरोपा लिगको उपाधि चुमाएका थिए। तर, घरेलु लिगमा भने म्यानचेस्टर युनाइटेडले लामो समयदेखि निराशाजनक प्रदर्शन गर्दै आएको छ।
जारी सिजनको लिगमा पनि म्यानचेस्टर युनाइटेड तालिकाको छैटौं स्थानमा छ। हालसम्म १७ खेल खेलेको म्यानचेस्टर युनाइटेडले केवल सात खेलमा जित हात पारेको छ। पाँच खेल बराबरीमा सकिएको छ भने पाँच खेलमा म्यानचेस्टर युनाइटेडले पराजय भोगेको छ।
हालसम्म केवल २६ अंक बटुल्न सकेको म्यानचेस्टर युनाइटेड लिग लिडर लिभरपुलभन्दा १९ अंकले पछाडि छ। घरेलु लिगमा सन् १९९०÷९१ सिजनयता क्लबको यो सबैभन्दा निराशाजनक प्रदर्शन हो।
पछिल्लो खेलमा म्यानचेस्टर युनाइटेडलाई लिभरपुलले नै ३-१ गोलले हराएको थियो। ‘यो सिजनको बाँकी अवधिका लागि कामचलाउ प्रशिक्षक नियुक्त गरिने छ। त्यसपछि मात्र स्थायी प्रशिक्षक खोजिने छ’, क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
म्यानचेस्टर युनाइटेडले क्लबलाई पू¥याएको योगदानका लागि मोउरिन्होप्रति आभार पनि ब्यक्त गरेको छ। सन् २०१६ मा म्यानचेस्टर युनाइटेडमा आबद्ध हुनुअघि उनी अर्को इङ्लिस क्लब चेल्सीमा थिए।
मोउरिन्होले स्पेनिस क्लब रियल म्याड्रिड, इटालियन क्लब इन्टर मिलान, पोर्चुगिज क्लब एफसी पोर्टो र बेनफिकामा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन्।