अस्ट्रेलियाले भारतलाई एक सय ४६ रनले हरायो
एजेन्सी : दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई एक सय ४६ रनले हराएको छ।
दोस्रो टेस्टको पाँचौं तथा अन्तिम दिन मंगलबार भ्रमणकारी टोली भारत आफ्नो दोस्रो पालीमा केवल एक सय ४० रनमा अलआउट भएपछि अस्ट्रेलियाले सजिलो जित हात पारेको हो। अस्ट्रेलियाको जितसँगै चार टेस्टको शृंखला १-१ को बराबरीमा पुगेको छ।
दोस्रो पालीमा भारतका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन्। अजिनक्या राहाने र रिसभ पन्तले सर्वाधिक ३०/३० रन बनाए। हनुमा विहारीले २८, मुरली विजयले २० र कप्तान विराट कोहलीले १७ रन बनाए।
अन्य ब्याट्सम्यानले भने दोहोरो सँख्यामा रन बटुल्न सकेनन्। अस्ट्रेलियन बलर नाथन लियोन र मिचेल स्टार्कले तीन÷तीन विकेट लिए। प्याट कुमिन्स र जस हेजलउडले पनि दुई/दुई विकेट हात पारे।
दोस्रो टेस्टमा टस जिती ब्याटिङको निर्णय लिएको अस्ट्रेलियाले पहिलो पालीमा तीन सय २६ रन बनाएको थियो। भारतले भने पहिलो पालीमा दुई सय ८३ रन जोडेको थियो।
यसैगरी अस्ट्रेलियाले दोस्रो पालीमा दुई सय ४३ रन बनाएको थियो। अस्ट्रेलियाका नाथन लियोन म्यान अफ दी म्याच घोषित भए। उनले पहिलो पालीमा पनि पाँच विकेट हात पारेका थिए।