कोटेश्वर-कलंकी सडक निर्माणमा खटेका पाँच चिनियाँ निष्कासित
काठमाडौं : गृह मन्त्रालयले पर्यटक भिसामा नेपाल आएर चक्रपथअन्र्तगत कोटेश्वर-कलंकी खण्ड सडक योजनामा कार्यरत पाँच चिनिया नागरिकलाई निष्कासन गरेको छ। उनीहरू सांघाई कन्स्ट्रक्सन ग्रुपअन्तर्गतका कर्मचारी हुन्।
उनीहरूले पर्यटक प्रवेशाज्ञा (भिसा) लिएर काठमाडांै रिङरोड सडक आयोजनामा अवैध रूपमा काम गर्दै आएका थिए। अध्यागमन विभागले उनीहरू कामदार हुन् भन्ने आधार नभएको जनाएको छ।
निष्कासित हुनेमा ताओ याङ, जाइयो जाङ, याङ जुनहुई, सिमिङ छाओ र सुएजुङ ली छन्। अध्यागमन विभागले उनीहरूलाई सामान्य कारवाही गरी उन्मुक्ति दिएको छ।
विभागले ओभरस्टे रहेका उनीहरूको भिसा नियमित गरी निष्कासन गरेको हो। ओभर स्टे रहेका चिनियाँले जरिवाना तिरेपछि निष्कासन गरिएको अध्यागमन विभागका निर्देशक विष्णुहरि उपाध्यायले बताए।
कोटेश्वर–कलंकी खण्ड चिनियाँ सरकारको करिब ५ अर्ब रुपैयाँमा निर्माण भएको हो। उक्त आयोजना अघिल्लो महिनामा सकिएको छ। चिनियाँले २०७० असारदेखि आयोजना निर्माण थालेका थिए।
सांघाई कन्स्ट्रक्सन ग्रुपका नेपाल प्रतिनिधिले भने प्राविधिक कारणले उनीहरूको श्रम स्वीकृति लिन नसकिएको बताएका छन्। पर्यटक भिसामा रहेरै केही चिनियाँ प्राविधिकले काम गरेको र योजना सकिएपछि उनीहरूलाई फिर्ता पठाउन लागिएको समेत ती प्रतिनिधिले जानकारी दिए।
विदेशीले जुन उद्देश्यका निम्ति भिसा लिएको हो, त्यसबाहेक काम गर्न पाइँदैन। कुनै पनि विदेशी नागरिक १ सय ५० दिनभन्दा बढी नेपाल बस्न पाउँदैनन्। काम गर्नुपरे जुनसुकै विदेशीले पनि श्रम स्वीकृति लिनुपर्छ।
गृह मन्त्रालयले अनुगमन गर्न नसक्दा नेपालमा बसिरहेका विदेशी नागरिकले प्रवेशाज्ञा (भिसा) को दुरुपयोग गरेको पाइएको छ। कतिपय विदेशी भिसा म्याद सकिएपछि पनि यहाँ बसिरहेका छन्।
पर्यटक भिसामा आएकाहरू विभिन्न बैंकका एटीएम मेसिनबाट गैरकानुनी रूपमा रकम निकाल्ने, लागुऔषध कारोबार, अवैध भीओआईपी सञ्चालनलगायत गैरकानुनी काममा विदेशी नागरिक संलग्न हुँदै आएका छन्।