राष्ट्रिय पुरुष भलिबल : साबिक विजेता आर्मी स्तब्ध
पोखरा : साबिक विजेता त्रिभुवन आर्मी क्लब पोखरामा जारी राष्ट्रिय पुरुष भलिबल लिगमा पराजित भएको छ। मंगलबारको प्रतिस्पर्धात्मक खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आर्मीलाई ३-२ ले पराजित गरेको हो।
पहिलो सेट २५-२१ ले जितेको एपीएफले दोस्रो सेट भने १८-२५ ले आर्मीलाई सुम्पिएको थियो। तर तेस्रो सेट २५-२१ ले जित्दै एपीएफ पुनः खेलमा फर्किएको थियो। पहिलो र तेस्रो सेटमा हार बेहोरेको आर्मीले चौथो सेट २०-२५ ले जित्दै खेल २-२ को अवस्थामा पुर्याएको थियो। त्यसपछि भएको पाँचौं तथा निर्णायक सेटमा आर्मीलाई १५-११ ले पराजित गर्दै एपीएफले महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।
मंगलबार नै भएको अर्को खेलमा मणिमुकुन्द भलिबल क्लब रूपन्देहीले पहिलो जित निकालेको छ। मणिमुकुन्दले ढोरपाटन स्पोर्ट्स क्लबलाई २५-२३, २५-२०, २५-१६ ले पराजित गर्यो। यसैगरी अर्को खेलमा नेपाल पुलिस क्लबलाई निर्णायक सेटमा पराजित गर्दै हेल्प नेपालले तेस्रो जित निकालेको छ।
दुई सेट पुलिसले २५-२१, २५-२० ले जितेको अवस्थामा हेल्प नेपाल स्पोटर््स क्लबले पुलिसलाई पाँचौं सेटमा पराजित गरेको हो। हेल्प नेपालले तेस्रो सेट ३१-२९ मा जित निकाल्यो भने चौथो २५-१९ र अन्तिम सेट १५-८ मा जित निकालेको हो। पुलिस चार खेलमा तीनमा जित र एक खेलमा हार बेहोल्दै १० अंक जोडेको छ। हेल्प नेपालको तीन खेलबाट सात अंक छ। आर्मी र एपीएफको समान ६ अंक छ।