ललितपुर फाइनलमा, भारतीय खेलाडी सन्नी पटेललाई कारबाही
काठमाडौं : योगेन्द्रसिंह कार्कीको अलराउन्ड प्रदर्शनमा ललितपुर प्याट्रियट्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ललितपुर मंगलबार भएको पहिलो क्वालिफायर खेलमा काठमाडौं किङ्स इलाभेनलाई एक विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
ललितपुर ईपीएलको फाइनलमा पुगेको यो पहिलो पटक हो । गत संस्करणमा दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्लाडिएसर्टसँग पराजित भएपछि ललितपुर उपाधि होडबाट बाहिरिएको थियो ।
ललितपुरसँगको पराजयसँगै काठमाडौंका लागि भने दोस्रो क्वालिफायर खेल खेल्नु पर्ने भएको छ । बुधबार भैरहवा ग्लाडिएटर्स र चितवन टाइगर्सबीच हुने इलिमिनेटर खेलको विजेतासँग ललितपुरले बिहीबार दोस्रो क्वालिफायर खेलमा प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि ललितपुरसँग यही शनिबार हुने फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ ।
त्रिवि क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको काठमाडौं १९.५ ओभरमा एक सय आठ रनमै समेटिएको थियो । जवाफमा ललितपुरले निर्धारित ओभरको अन्तिम बलमा नौ विकेट गुमाउँदै जित निश्चित ग¥यो ।
ललितपुरलाई विजयी बनाउन युवा खेलाडी योगेन्द्रले जिम्मेवारपूर्ण ब्याटिङ गरेका थिए । सहज योगफल पछ्याउँदासमेत ललितपुरका भरपर्दा ब्याट्सम्यान ठूला सट् खेल्ने प्रयासमा चाँडै आउट भए । योगेन्द्रले भने एक दुई रन लिँदै टोलीलाई जिततर्फ डोहो¥याए । उनी २९ बलमा २८ रन जोड्दै अविजित रहे । उनले आफ्नो पालीमा मात्रै एक चौका प्रहार गरे ।
त्यसअघि उनले नै तीन विकेट लिँदा काठमाडौं सहज योगफलमा समेटिन पुगेको थियो । बल र ब्याटबाट अलराउन्ड प्रदर्शन गरेका उनी म्यान अफ दी म्याचसमेत चुनिए । ‘अन्तिम बलसम्म टिकेर खेल्ने निर्णय गरेको थिएँ । यदि त्यसरी खेल्न सके भने जित दिलाउन सक्नेछु भन्ने विश्वास थियो’, योगेन्द्रले भने, ‘खेल त्यस्तै भयो । खुसी लागेको छ ।’
उनी बाहेक ललितपुरका लागि ब्याटिङमा कुशल भुर्तेलले २७ बलमा २९ रन, कप्तान ज्ञानेन्द्र मल्लले २२ बलमा २१ रन तथा पवन सर्राफले २१ बलमा १९ रनको योगदान दिए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।
काठमाडौंका लागि कप्तान रोहन मुस्तफाले अलराउन्ड प्रदर्शन गरे पनि जित सम्भव भएन । मुस्तफाले ब्याटिङतर्फ २० बलमा ३२ रन जोड्दै बलिङमा दुई विकेटसमेत लिएका थिए । रोहनले आफ्नो पालीमा दुई छक्का तथा तीन चौका प्रहार गरेका थिए । यस्तै सागर पुनले ३० बलमा २९ रन, सिद्धान्त लोहनीले २४ बलमा १६ रन जोडे । अन्य खेलाडी सहजै आउट भए।
काठमाडौंलाई सस्तो योगफलमा समेट्न योगेन्द्रसँगै पवनले पनि तीन विकेट लिएका थिए । योगेन्द्रले २.५ ओभरमा १८ रन खर्चेका थिए भने पवनले चार ओभरमा एक मेडनसहित १३ रन खर्चिएका थिए । उनीहरूबाहेक सन्नी पटेलले दुई विकेट लिए । काठमाडौंका भारतीय खेलाडी प्रदीप साहुले ललितपुरको तीन तथा आइरिस खेलाडी केभिन ओब्राइनले दुई विकेट लिएका थिए ।
खेलपछि काठमाडौंका कप्तान मुस्तफाले विपक्षी टोलीले राम्रो खेल्दा पराजित हुनु परेको प्रतिक्रिया दिए । ‘आज उनीहरूले राम्रो खेले । विशेषगरी योगन्द्र र कुशलले धेरै राम्रो खेले’, मुस्तफाले आफ्नो आगामी योजना सार्वजनिक गरे, ‘अब अर्काे खेलमा सशक्त प्रदर्शन गर्दै फाइनल पुग्ने प्रयास गर्नेछौं ।’
ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले पनि टोलीको जितमा योगेन्द्र प्रशंसा गरे । ‘उनीसँग क्षमता छ । आजको खेलमा उनले जसरी सेन्सिबल क्रिकेट खेले त्यसले पनि उनको क्षमता दर्शाउँछ’, ज्ञानेन्द्रले भने, ‘योगेन्द्र र कुशलले जसरी खेले त्यसले नै जित सम्भव भएको हो ।’
सन्नीलाई कारबाही
काठमाडौं किङ्स इलाभेनविरुद्धको खेलमा रेफ्रीको निर्णयको विरोध गरेका ललितपुर प्याट्रियट्सका भारतीय खेलाडी सन्नी पटेललाई कारबाही गरिएको छ । प्राविधिक समितिले सन्नीलाई म्याच फीको ७५ प्रतिशत रकम र तीन डिमेरिट प्वाइन्टसको कारबाही गरेको जनाएको छ । काठमाडौंविरुद्धको खेलमा रेफ्रीले आउट भएको निर्णय गर्दा उनले निर्णयको बारेमा रेफ्रीसँग तर्क गरेका थिए ।