हिउँदे झाडापखालाको उपचार यसरी गरौँ
सहरबजारमा मर्निङवाक र गाउँघरमा कामका लागि एकाबिहानै घरबाहिर निस्कँदा घट्दो तापक्रम, चिसो हावाले रक्तनली खुम्चने तब रक्तसञ्चार कमी भई रगत र अक्सिजन नपुगी तथा खुम्चेको नसामा रक्तप्रवाह गर्दा पर्ने अतिरिक्त परि श्रमले मुटुमा असर परी हृदयाघातको सम्भावना बढाएको छ। रक्तप्रवाहको कमीले स्ट्रोक, मांसपेसी र जोर्नीको पीडा, श्वासनली खुम्ची दम, निमोनिया ६० वर्ष बढी उमेरमा हाड खिइने, एलर्जी, टन्सिल, हातखुट्टा सुन्निने र नीलो हुने गर्छ।
सामान्य रक्तचाप भएकोमा बढ्ने, नियन्त्रणमा रहेकोमा अनियन्त्रित हुने र पहिलेदेखि नै अनियन्त्रित भएकोमा अचानक बढेर आकस्मिक उपचारमा जाने गर्छन्। जाडोमा रगतको प्लेटलेट बढी सक्रिय भई रगत जम्न सक्छ, रगतको गाढापनामा २० प्रतिशत बढ्छ। जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप मात्र बढ्दैन, प्रायः सबै दीर्घकालीन रोग बढी गम्भीर बन्छन्। स्विडिस अध्ययनमा हृदयाघातको जोखिम तापक्रम ६८ बाट ३२ डिग्री फरेनहाइट घट्दा १४ प्रतिशतले बढ्छ। जाडोयाममा गर्भधारण गर्ने महिलामा गर्भावस्थामा मधुमेहको खतरा बढी रहने युनिभर्सिटी अफ एडिलेडको खोजले देखाएको छ।
झाडापखाला
जाडोयाममा प्रायः क्लिनिक तथा निजी र सरकारी अस्पतालमा हिउँदे झाडापखालाका रोगीहरूको चाप बढेको छ, जसमा नवजात शिशु र पाँच वर्ष कम उमेरका बढी छन्। चिसो वा हिउँदको समयमा देखिने झाडापखालालाई हिउँदे झाडापखाला भन्ने गरिन्छ। खासै चासो नराख्ने यो पाँच वर्षमुनिका बालबालिकामा देखिने नेपालको मात्र नभई विश्वभरिको प्रमुख समस्या तथा अत्यधिक बिरामी हुने र मृत्युको मुखमा धकेलिने श्वासप्रश्वासपछिको दोस्रो प्रमुख मृत्युदर पनि हो।
कारण
एक्कासि हुने झाडापखाला रोटा भाइरल, भी कोलेरी, सालमोनेला, क्लोस्ट्रोडियम आदि ब्याक्टेरिया, ई हिस्टोलाइटिका, जियारडिया लाम्बलिया आदि प्रोटोजोबल र विषाक्त खानाबाट हुने गर्छ, तथापि जाडोमा देखिने झाडापखाला भाइरल त्यसैमा अझ रोटा भाइरसको देखिने गर्छ।
भाइरल डायरियामा ८० प्रतिशत तथा झाडापखाला लागेर अस्पतालमा भर्ना भएकामध्ये करिब ३३ प्रतिशतलाई रोटा भाइरसको संक्रमण देखा पर्ने गरेको छ। त्यसो त विन्टर डायरियाको नामले परिचित रोटा तथा नोरो भाइरस चिसो मौसममा मात्र होइन, अन्य मौसममा पनि र केटाकेटीलाई मात्र नभई बयस्कहरूमा पनि कडा रूपमा देखिँदै आएको साइन्स जर्नलले बताएको छ। बयस्कमा देखिने बयस्क रोटा भाइरसको नामले समेत चिनिने यो भाइरस हाल चीन, भारत, बंगलादेश तथा म्यानमारमा देखा परिसकेको छ र आगामी दिनमा अन्य देशमा पनि देखा पर्नेमा दुविधा छैन। गर्मी तथा वर्षायाममा हुने झाडापखाला भन्दा हिउँदे झाडापखाला बढी कडा र खतरनाक हुन्छ।
कसरी सर्छ ?
फोहोर मन पराउने रोटा भाइरस संक्रमित खानेकुरा, खाने, पिउने तथा सरसफाइमा प्रयोग गरिने पानी र असुरक्षित व्यवहारको माध्यमबाट अर्थात् फिको–ओरलबाट एकअर्का व्यक्तिमा सजिलै सर्छ। धेरै बच्चासँगै रहने वा सामूहिक आबास भएकोमा एकजनालाई संक्रमण भएमा अरू धेरैजनालाई खाना, पानी, हात र बच्चाका खेलौनालगायतका माध्यम भई दिसाबाट मुखमा पुगी फैलने गर्छ। संक्रमित र सामान्य अवस्थामा फर्केको तीन दिनसम्मको संक्रमितको दिसाबाट बढी फैलिन्छ।
लक्षण
गर्मी तथा वर्षायाममा हुने झाडापखाला भन्दा हिउँदे झाडापखाला बढी कडा र खतरनाक हुन्छ।
संक्रमणको दुई दिनमा लक्षण देखा पर्छन्। पानीजस्तो पखालासँगै पेट दुख्ने, बान्ता तथा मन्द ज्वरो आउन सक्ने तीनदेखि आठ दिनसम्म रहन सक्छ। बच्चाहरू झिज्झिने, रुने, खानामा अरुचि देखिन्छ। स्मरण रहोस्, एक दिनमा तीन वा सोभन्दा बढीपटक पानीजस्तो पातलो दिसा लाग्नु झाडापखाला हो। हुन त प्रत्येक उमेर तथा लिंगका व्यक्तिलाई यो रोग लाग्ने भए पनि दीर्घरोगी, प्रतिरोधात्मक क्षमता कमजोर भएका बालबालिका र वृद्धवृद्धालाई बढी सताउने गर्छ। धेरै तिर्खा, छटपटी, पेटको छाला तान्दा नफर्किने, पिसाब कम लाग्नु (बच्चाले दैनिक कम्तीमा सातपटक पिसाब फेर्नुपर्छ), मुख सुक्नु तथा रिंगटा लाग्नुजस्ता जलवियोजनका लक्षण देखा पर्न सक्छन्। बच्चाले खान, पिउन र दूध चुस्न नसक्ने र बेहोस हुने कडा जलवियोजनका लक्षण हुन्।
यद्यपि लक्षण सबैमा कडा नभए पनि रोटा भाइरसको संक्रमण पहिलो भए कडा हुन सक्छ। बच्चाको उमेर जति कम छ, भाइरस संक्रमण उति नै कडा हुन्छ। बाह्र महिनाभन्दा कम उमेर, कुपोषित र पटकपटक बिरामी परिरहने बच्चामा झाडापखाला भए जटिलता आउने र ज्यान जाने सम्भावना बढी रहन्छ। माथिका लक्षणसँगै बच्चाको आ“खा गड्यो, पेटमा मुजा पर्यो, खाएपछि बान्ता गर्यो वा बेहोस भयो भने खतरनाक अवस्था सम्झेर तत्कालै चिकित्सककहाँ लैजानुपर्छ।
व्यवस्थापन
रोटा भाइरल डायरियाको विशेष औषधी उपलब्ध छैन। शरीरमा पानीको मात्रा कम हुने भएकाले प्रशस्त पुनर्जलीय झोल दिनुपर्छ तर बान्ता पनि सँगसँगै भए नशामार्फत स्लाइन दिनुपर्छ। दही र केराले चिसो लाग्छ भन्ने आमधारणा भए पनि दहीले आन्द्रामा राम्रा कीटाणुमार्फत पखालामा कमी र केराले पखाला हुँदा खेर गएको पोटासियमलाई परिपूर्ति गरी फाइदा गर्छ।
प्रशस्त मात्रामा घरेलु झोल कुरा खुवाउने, कुपोषणबाट जोगाउन भरिशक्य बढी नभए कम्तीमा साविककै जस्तो खानेकुरा खान दिने र झाडापखालाबाट खेर गएका लवण, पोषकतत्वहरू र पानी क्षतिपूर्ति गर्न पुनर्जलीय झोल बनाएर खुवाउनु नै झाडापखालाको घरेलु उपचार हो। दुधेबालकलाई अरू बेलाभन्दा छिटोछिटो दूध चुसाइरहने वा पिलाउने र प्रशस्त जीवनजल, साधा पानी, गेडागुडी, दालको रस, दही, मही तथा कालो चिया पीउन दिनुपर्छ। तर ग्लुकोज पानी, जंकफुड, जुस, कोल्ड ड्रिंकले ग्याँस उत्पादन तथा ब्याक्टेरिया वृद्धि गर्ने भएकाले खान दिनु हुँदैन। दूध पचाउन नसके जिरो ल्याक नामक दूध दिन सकिन्छ। झोल पदार्थसँगै जिंक चक्की खुवाउनु फाइदाजनक हुन्छ।
घरेलु उपचारमा सामान्यतः तीनचार दिनमा झाडापखालाको अवस्था सुध्रिँदै जान्छ र ठीक हुन्छ तर तीन दिनसम्म सुधारोन्मुख नभएमा, धेरै पातलो दिसा, तारन्तार बान्ता, ज्यादै तिर्खा, खान पिउन नसकेमा, ज्वरो, कम्पन आएमा, मुख, खुट्टा सुन्निएमा, नाडी कमजोर र छिटोछिटो चलिरहेमा, रक्तचाप कम भएमा, दिसामा रगत देखिएमा तथा मुखबाट पुनर्जलीय उपचार गर्न नसकिएमा तुरुन्तै स्वास्थ्य संस्थामा लगी चिकित्सकीय उपचार लिनुपर्छ।
रोकथाम
रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ, जसका लागि जुनसुकै उमेर, वर्ग तथा तप्काका मानिसले स्वास्थ्यप्रति सचेत हुनुपर्छ। रोगबाट बच्न सबैभन्दा महत्वपूर्ण कुरा सरसफाइमा ध्यान हो। वातावरण स्वस्थ बनाउनुपर्छ। पानी उमालेर मात्र प्रयोग गर्नुपर्छ। ताजा र सरसफाइयुक्त खाना खाने, घरवरपर तथा चर्पी सफा राख्ने गर्नुपर्छ। तिर्खा नलागे पनि जाडोमा प्रशस्त पानी पिउनुपर्छ। दिसा शौचालयमा व्यवस्थापन, अनिवार्य साबुनपानीले हात धुने बानी बसाल्नुपर्छ। रोटा भाइरसका खोपहरू हाल बजारमा उपलब्ध भइसकेका छन् यद्यपि महँगो र छोटो समयका लागि छ। एकतिहाइ बालबालिका अस्पताल भर्ना गराउने डायरियाका कारण रोटा भाइरस भएकाले राज्यले नियमित खोप कार्यक्रममा खोप समाहित गनुपर्दछ।
डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन्।