राष्ट्रिय पुरुष भलिबल : एपीएफ शीर्ष स्थानमा
पोखरा : सशस्त्र प्रहरी बलको एपीएफ क्लब राष्ट्रिय पुरुष भलिबल लिगको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार दोहोरो जित हात पार्ने क्रममा ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको एपीएफले अर्को खेलमा हेल्प नेपाल स्पोर्टस् क्लबसँग वाकओभर पाएपछि १४ अंकका साथ लिगको शीर्ष स्थानमा उक्लिएको हो। एपीएफले ढोरपाटनलाई २५–१२, २५–२१, २५–१५ ले पराजित गर्दै तीन अंक जोड्यो।
बुधबारको अन्तिम खेलमा हेल्प नेपाल मैदान नआएपछि आयोजकले एपीएफलाई वाकओभर दिएको थियो। एपीएफले हेल्प नेपालका भारतीय खेलाडी रोहितको परिचयपत्र मागे पनि हेल्प नेपालले देखाउन सकेको थिएन। नेपाल भलिबल संघको आयोजना भएको प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पनि दोहोरो जित निकालेको छ। पहिलो खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई पराजित गरेको आर्मीले अर्को खेलमा मणिमुकुन्द भलिबल क्लबलाई पाखा लगायो। आर्मीले पुलिसलाई ३–० र मणिमुकुन्दलाई ३–२ को सेटमा पराजित गर्यो।
पुलिसविरुद्धको खेलमा आर्मी २५–१९, २५–२१, २५–१५ ले विजयी भयो। यसैगरी मणिमुकुन्दविरुद्ध जित निकाल्न भने निकै संघर्ष गर्नुप¥यो। पहिलो सेट १७–२५ ले गुमाएको आर्मीले दोस्रो सेट २६–२४ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किएको थियो। आर्मीले तेस्रो सेटमा पुग्दा पुनः लय गुमाएको थियो। तेस्रो सेट २४–२६ ले मणिमुकुन्दलाई सुम्पिएको आर्मीले चौथो सेटमा प्रभावशाली प्रदर्शन गर्दै २५–९ ले जित निकालेको थियो। यस्तै निर्णायक सेट पनि एकपक्षीय रूपमा १५–२ ले जित्दै आर्मीले दुई अंक जोड्न सफल भयो। आर्मीले पाँच खेलबाट १२ अंक जोडेको छ। नेपाल पुलिस क्लबले पाँच खेलबाट १० अंक जोडेको छ।
यसैगरी बुधबार नै भएको अर्को खेलमा नयाँ बजार सामाजिक क्लबले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१९, २५–१७, २५–२१ ले पराजित गरेको छ। प्रतियोगिताका विजेताले नगद दुई लाख रुपैयाँ पाउनेछन्। यसैगरी उपविजेताले एक लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पाउनेछन्। यसैगरी उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्दा विधागत रूपमा उत्कृष्ट हुनेले जनही पाँच हजार रुपैयाँ पाउनेछन्।