भैरहवा क्वालिफायरमा
काठमाडौं : भैरहवा ग्लाडिएटर्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। बुधबार भएको इलिमिनेटरमा चितवन टाइगर्सलाई चार विकेटले पराजित गर्दै भैरहवाले उपाधि आशा जीवितै राखेको हो। पराजयसँगै चितवन भने उपाधि होडबाट बाहिरिएको छ।
साविक उपविजेता टोली भैरहवाले फाइनल प्रवेशका लागि बिहीबार हुने दोस्रो क्वालिफायरमा काठमाडौं किङ्स इलाभेनसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायर खेलको विजेता टोलीले उपाधिका लागि शनिबार हुने फाइनल खेलमा ललितपुर प्याट्रियट्ससँग प्रतिस्पर्धा गर्नेछ। ललितपुर पहिलो क्वालिफायर खेलमा काठमाडौंलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
त्रिवि क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३९ रनको योगफल तय गरेको थियो। भैरहवाले जवाफमा १८.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पार गरेको हो। भैरहवाको जितमा युवा ब्याट्सम्यानद्वय रोहित पौडेल र कुशल मल्लले आकर्षक पालि खेले। रोहित १४ बलमा २४ तथा कुशल १३ बलमा २७ रन जोड्दै अविजित रहे। रोहित र कुशलले अविजित सात विकेटका लागि अविजित ५१ रनको साझेदारी गरेका हुन्। टोली हारतर्फ अग्रसर देखिएका बेला यी दुई ब्याट्सम्यानले भैरहवालाई जितसम्म डोहोर्याएका थिए।
रोहितले आफ्नो पालिमा एक छक्का र दुई चौका तथा कुशलले दुई छक्का र दुई चौका प्रहार गरेका थिए। त्यसअघि प्रारम्भिक ब्याट्सम्यान प्रदीप ऐरीले ३८ बलमा ४२ तथा कप्तान शरद भेषावकरले २७ बलमा २९ रन जोडेका थिए। प्रदीपले आफ्नो पालिमा ६ तथा शरदले तीन चौका प्रहार गरेका थिए। म्यान अफ दी म्याचसमेत चुनिएका प्रदीपले टोलीमा जितमा योगदान पुर्याउँदा खुसी लागेको बताए। ‘आफ्नै खेल सुधार्ने प्रयासमा लागिरहेको थिए। त्यसमा आज राम्रो ब्याटिङ प्रदर्शन भयो’, प्रदीपले भने, ‘त्योभन्दा महŒवपूर्ण टोलीको जितमा योगदान पुर्याउन पाउँदा खुसी लागेको छ।’
त्यसअघि संयुक्त अरब इमिरेट्स (यूएई)का खेलाडी मोहम्मद नाभिदले तीन विकेट लिँदा चितवन ठूलो योगफल बनाउनबाट रोकिएको थियो। चितवनका लागि दीपेन्द्रसिंह ऐरीले ४५ बलमा ५६ रनको अर्धशतकीय योगदान दिए पनि टोलीको जित सम्भव भएन। दीपेन्द्रले आफ्नो पालिमा एक छक्का र ६ चौका प्रहार गरेका थिए।
उनीपछि आइरिस खेलाडी पल स्टर्लिङ र इङ्लिस खेलाडी जोन सिम्पसनले समान १४÷१४ रन जोड्दा कमलसिंह ऐरीले १३ रन जोडे। अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्। चितवनविरुद्ध नाभिदले चार ओभरमा मात्रै २४ रन दिएर तीन विकेट लिएका थिए। यस्तै अविनाश बोहोराले थप दुई विकेट लिए। चितवनका कमलसिंह ऐरीले पनि भैरहवाको तीन विकेट लिएका थिए।
राउन्ड रोबिन लिग चरणको अन्तिम दुई खेल जित्दै मुस्किलले प्ले अफ चरणमा पुगेको चितवन उपाधि होडबाट बाहिरिएपछि कप्तान पृथु बाँस्कोटाले केही रन कम हुँदा जित असम्भव देखिएको बताए। ‘हामी भाग्यले प्ले अफ चरणमा पुगेका थियांै’, पृथुले भने, ‘यद्यपि यो पराजयसँगै उपाधि होडबाटै बाहिरिएका छौं। हामी केही रन कम थियौं। त्यसका बीच पनि अन्त्यतिर केही बाउन्ड्री रोक्न नसक्दा पराजय टार्न सकेनौं।’
भैरहवाका कप्तान शरदले दोस्रो प्ले अफमा सशक्त प्रदर्शन गर्दै फाइनल खेल्ने योजनामा रहेको प्रतिक्रिया दिए। ‘आज विशेष गरी युवा खेलाडी रोहित र कुशलले निकै राम्रो प्रदर्शन गरे। त्यसैले कुनै समय मुस्किलजस्तो देखिएको अवस्थाबाट पनि जितसम्म पुग्न सफल भयौं’, शरदले भने, ‘अब भोलि दोस्रो क्वालिफायर खेल छ। त्यसमा सशक्त प्रदर्शन गर्दै फाइनल पुग्ने योजना छ।’