थ्रीस्टार र आर्मी बराबरीमा राेकिए
काठमाडौं : थ्रीस्टार र विभागीय टोली त्रिभुवन आर्मी क्लबले बराबरी खेलेपछि उपाधि दौडमा रहेको मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबलाई फाइदा भएको छ। लिगअन्तर्गत नवौं चरणको अन्तिम खेलमा थ्रीस्टार र आर्मीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार भएको खेलमा थ्रीस्टारले खेलको अन्तिममा अग्रता गुमाएको थियो। निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। थ्रीस्टारले ७०औं मिनेटमा गोल गर्दै अग्रता लियो। थ्रीस्टारका नीराजन खड्काले गोल गरेका थिए। उनले पिटर सेगुनको पासमा अजयी मार्टिनले हेडमार्फत मिलाइदिएको बललाई पोस्ट नजिकबाट गोल गरेका थिए। त्यसपछि रक्षात्मक देखिएको थ्रीस्टार अन्तिममा सम्हालिन सकेन। आर्मीका स्ट्राइकर जर्जप्रिन्स कार्कीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै आर्मीलाई हारबाट जोगाएका थिए। जर्जप्रिन्सको फ्रिकिक प्रहारलाई थ्रीस्टारका गोलरक्षकले नियाल्न सकेनन्।
बराबरीसँगै थ्रीस्टारको उपाधि यात्रामा केही धक्का लागेको छ। नौ खेलबाट २२ अंक बनाएको थ्रीस्टार तेस्रो स्थानमा छ। थ्रीस्टार शीर्ष टोली मनाङभन्दा पाँच अंकले पछाडि छ। लिगका नौ खेलमा शतप्रतिशत नतिजा निकालेको मनाङको २७ अंक छ। दोस्रो स्थानमा रहेको संकटाको २४ अंक छ। यस बराबरीसँगै १८ अंक बनाएको आर्मी तालिकाको चौथो स्थानमा छ।
यसैगरी एन्फा मैदानमै भएको अर्को खेलमा नेपाल पुलिस र ब्रिगेड ब्वाइज क्लबले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। ब्रिगेडले खेलको सुरुआतमै गोल गर्दै पुलिसलाई दबाब दिएको थियो। ब्रिगेडका ऋतिक खड्काले पाँचौं मिनेटमा गोल गर्दै ब्रिगेडको उत्साह थपे। ब्रिगेडको अग्रतापछि बलमा पकड जमाएको पुलिसले पहिलो हाफमा गोल फर्काउन सकेन। दोस्रो हाफमा पनि एउटै लयमा देखिएको पुलिसले ७५औं मिनेटमा बराबरी गोल गरेको थियो। पुलिसका लागि अभिषेक रिजालले गोल गरे। उनले हेम तामाङको पासमा हेड गोल गरेका थिए। पुलिसले पहिलो हाफमा मात्र तीनवटा अवसर गुमाएको थियो। बराबरीसँगै नौ खेलबाट १५ अंक बनाएको पुलिस तालिकाको पाँचौं स्थानमा छ। समान खेलबाट पाँच अंक बनाएको ब्रिगेड ब्वाईज ११औं स्थानमा छ।
नवौं चरणको समाप्तिसँगै हिमालयन सेर्पा १४ अंकका साथ छैटौं, समान १३ अंक बनाएको च्यासल र एपीएफ सातौं र आठौं, १० अंक बनाएको सरस्वती नवौं, आठ अंक बनाएको जाउलाखेल १०औं स्थानमा छ। यसैगरी पाँच अंक बनाएको फ्रेन्ड्स १२औं, तीन अंक बनाएको मच्छिन्द्र १३औं र एक अंकमा बनाएको एनआरटी तालिकाको अन्तिममा छ।