सुरक्षा खतरा पुष्टि गर्न ह्वावेको चुनौती
बेइजिङ : चीनको दूरसञ्चार कम्पनी ह्वावेका अध्यक्ष कन हुले अमेरिका र विश्वका अन्य सरकारलाई आफ्नो उत्पादनबाट सुरक्षा खतरा रहेको प्रमाण देखाउन चुनौती दिएका छन्। ह्वावे टेक्नोलोजी लिमिटेडको मुख्यालयमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष कनले ह्वावेका उत्पादन कुनै ‘विचारधारा र भूराजनीतिक’ धारणाबाट निर्देशित छन् भन्ने आरोपमा सत्यता नरहेको बताए। उनले अस्ट्रेलिया र अरू बजारमा पाँचौं पुस्ताको दूरसञ्चार सञ्जाल विस्तारमा भइरहेको अवरोधले उपभोक्ता ठगिने दाबी गरे। कनले भने, ‘अरू कम्पनीका उत्पादन महँगा हुनेछन् र नवीन प्रविधिको परीक्षणमा अरू कम्पनीको काम गराइ ढिलो छ।’
अस्ट्रेलिया र न्युजील्यान्डले सुरक्षा खतराको कारण दर्शाउँदै पाँचौं पुस्ता (फाइभ–जी)को सञ्जाल विस्तारमा ह्वावेलाई रोकेका छन्। यी दुई मुलुकले अमेरिका र ताइवानसँग पनि सहकार्य गरेका छन्। चारवटै देशले संगठित रूपमा ह्वावेका उत्पादनलाई आफ्ना देश भित्रिन नदिन प्रयत्न गरिरहेका छन्। जापान सरकारले ह्वावे समेतका उच्च जोखिमयुक्त संसाधन खरिद नगर्ने बताएको छ।
पछिल्ला कदमले ह्वावेमाथि खासै असर भने परेको छैन। ह्वावे अहिले विश्वकै सबैभन्दा ठूलो दूरसञ्चार नेटवर्क निर्माणकर्ता तथा पाँचौं पुस्ता (फाइभ–जी) को विकासमा अग्रणी कम्पनी हो। विश्लेषकहरूका अनुसार ह्वावेमाथिको दबाब यथावत् रहेमा सन् २०२२ सम्म यसको व्यवसायमा २० अर्ब डलरले कमी आउनेछ। प्रायः अन्तर्वार्ता दिन नचाहने अध्यक्ष कनले यसपटक पत्रकारहरूसँग झण्डै २ घण्टा २० मिनेट कुराकानी गरे। ‘यदि तपाइँसँग कुनै प्रमाण छ भने त्यसलाई सार्वजनिक गर्नुप¥यो’, कनले भने, ‘शायद ह्वावेविरुद्ध होइन र आमजनतासँग सम्बन्धित पनि होइन। यो कार्य अरू टेलिकम कम्पनीका कारण भइरहेको हुन सक्छ किनभने उनीहरू ह्वावेका सामग्री खरिद गर्न बाध्य भइरहेका छन्।’
चिनियाँ सेनाका पूर्वइन्जिनियरले सन् १९८७ मा स्थापना गरेको ह्वावेले चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो कम्पनीलाई नियन्त्रण गरेको भन्ने आरोपमा सत्यता नरहेको दाबी गरेको छ। अथवा यसले गोप्य उपकरण चिनियाँ सरकारका लागि डिजाइन पनि गरेको छैन।
खासगरी पाँचौं पुस्ताको उपकरण विकास गरेपछि ह्वावेमाथि आक्रमण शुरु भएको हो। यो प्रविधिले स्वचालित कार, मेडिकल उपकरण तथा विद्युतीय प्लान्ट समेतका स्थानमा टेलिकम प्रदायक कम्पनीलाई मद्दत गर्दछ। यसको अथाह आर्थिक सम्भावना छ। पाँचौं पुस्ताको प्रविधि विकासले टेलिकम नेटवर्कलाई मुलुकको रणनीतिक राष्ट्रिय पूँजीका रूपमा लिन थालिएको छ। ‘हाम्रा उपकरणले कुनै पनि किसिमको सुरक्षा खतरा निम्त्याएको कहीँ पाइएको छैन’, कनले भने, ‘कुनै पनि देशले आफ्ना नेटवर्क नष्ट गर्न हामीलाई अनुरोध पनि गरेको छैन।’
ह्वावे चीनको विश्वव्यापी प्रभाव राख्ने प्रविधि क्षेत्रको पहिलो कम्पनी हो। यो कम्पनीमा हाल १ लाख ८० हजारले रोजगारी पाएका छन् भने यो वर्ष कम्पनीको बिक्री १ खर्ब डलर पुगेको छ। केनका अनुसार ह्वावेलाई प्रतिस्पर्धा गर्न नदिने हो भने अस्ट्रेलियामा फाइभ–जी नेटवर्क निर्माणमा १५ देखि ४० प्रतिशत बढी महँगो पर्नेछ। ह्वावेका अनुसार ह्वावेले २५ वटा टेलिकम कम्पनीका लागि फाइभ–जी उपकरण आपूर्ति गरिरहेको छ। हालसम्म १० हजारभन्दा बढी फाइभ–जीका आधारभूत स्टेशन अन्य देशमा आपूर्ति गरिएको कम्पनीले जनाएको छ। ‘हाम्रा ग्राहकले हामीलाई निरन्तर विश्वास गरेकामा गर्व लागेको छ’, कनले भने। ह्वावेकी प्रमुख वित्तीय अधिकृत मङ वानचाउलाई क्यानडामा पक्राउ गरिएकामा कम्पनी दुःखी बनेको उनले बताए।
तेस्रा क्यानडाली पक्राउ
चीनमा तेस्रा क्यानडाली नागरिक पक्राउ परेको क्यानडाको नेशनल पोस्ट पत्रिकाले समाचार प्रकाशन गरेको छ। चिनियाँ टेलिकम कम्पनी ह्वावेकी प्रमुख वित्तीय अधिकृतलाई अमेरिकी अनुरोधमा क्यानडामा गिरफ्तार गरेयता चीन र क्यानडाबीच कूटनीतिक तनाव सिर्जना भएको छ। क्यानडाको विदेश मन्त्रालयले एक क्यानडाली नागरिक गिरफ्तार भएको जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ताले विस्तृत विवरण दिन भने अस्वीकार गरे।
अखबारले ह्वावेकी वित्तीय प्रमुख मङको गिरफ्तारीसँग पछिल्लो गिरफ्तारी सम्बन्धित रहे नरहेको खुलाएको छैन। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले पत्रकार भेटमा क्यानडाका नागरिकको गिरफ्तारीका बारेमा जानकारी नभएको बताइन्। मङको डिसेम्बर १ मा क्यानडामा भएको गिरफ्तारीपछि चीनले दुई क्यानडाली नागरिकलाई गिरफ्तार गरेको थियो।
चीनले क्यानडाका कूटनीतिज्ञ माइकल कोभरिग र चीनस्थित व्यवसाय परामर्शदाता माइकल स्पाभोरलाई चीनको आन्तरिक सुरक्षामा खलल पुर्याएको भन्दै डिसेम्बर १० मा गिरफ्तार गरेको छ। कोभरिग हङकङस्थित इन्टरनेशनल क्राइसिस ग्रुपका वरिष्ठ सल्लाहकार हुन्। चीनले मङलाई क्यानडाले निःशर्त मुक्त नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिँदै आएको छ। मङको गिरफ्तारी राजनीतिक प्रेरित रहेको भन्दै चीनमा आलोचना भइरहेको छ।