तामाकोसी प्रसारणलाइन ८५ प्रतिशत पूरा
दोलखा : माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले उत्पादन गर्ने विद्युत् राष्ट्रिय ग्रिडमा जोड्ने प्रसारणलाइनको निर्माण कार्य करिब ८५ प्रतिशत पूरा भएको छ। करिब चार वर्षदेखि निर्माण कार्य सुरु गरिएको डबल सर्किट प्रसारणलाइनको निर्माण कार्य मंसिर मसान्तसम्म करिब ८५ प्रतिशत निर्माण सम्पन्न भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले जनाएको छ।
विभिन्न स्थानका ६२ वटा टावरमा ३१ किलोमिटर डबल सर्किट तार जडान भइसकेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए। आयोजनाको लट–४ अन्तर्गत बिगु गाउँपालिकाको गोंगरखोलादेखि मन्थली नगरपालिका–१३, फुलासी, साँखेसम्म ४७ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिने लक्ष्य छ। विशेषगरी टावर र तार टाँग्ने कार्य गरी दुई मुख्य काममध्ये टावर निर्माण कार्य करिब ९२ प्रतिशत र तार टाँग्ने कार्य करिब ६६ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ। कुनै आयोजनाको निर्माण कार्यभन्दा पहिला प्रसारणलाइनको निर्माण कार्य सकिने यो पहिलो हुने आयोजनाको दाबी छ।
कुल एक सय २७ टावरमध्ये एक सय १६ वटा पूर्णरूपमा निर्माण भइसकेको तथा एक सय १६ वटामै अर्थिङ गर्ने कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। नौवटाको जग खन्ने कार्य सम्पन्न भई फलामे रड, बालुवा र सिमेन्ट निर्माणस्थल पुर्याइएको छ भने दुईवटा टावरको जग खन्ने कार्य बाँकी रहेको आयोजनाले जनाएको छ। अबको करिब चार महिना अर्थात् चैत मसान्तसम्म प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गर्ने कार्यतालिका रहेको आयोजनाले जनाएको छ।
प्रसारण लाइन निर्माण गर्न कटान गरी खाली भएको निजी तथा सामुदायिक वनक्षेत्रमा आयोजनाद्वारा करिब ५५ हजार वृक्षरोपण गर्ने कार्यसमेत सँगै लगिएको आयोजनाले जनाएको छ। रामेछापको मन्थली नगरपालिका–१३, फुलासीमा निर्माण हुन लागेको सवस्टेसनको निर्माण तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ। सवस्टेसनका लागि ट्रान्सफर्मरलगायत इक्विपमेन्ट सुनकोसीसम्म ढुवानी भइसकेको आयोजनका प्रवक्ता न्यौपानेले जनाएका छन्।
आयोजनाले उत्पादन गर्ने विद्युत् प्रसारणका लागि २२० केभी डबल सर्किट प्रसारणलाइनको भारतीय कम्पनी केइसी इन्टरनेसनल लिमिटेडद्वारा निर्माण हुँदै आइरहेको छ। प्रसारणलाइनका लागि केइसीले अमेरिकी डलर एक करोड ७९ लाख चार हजार आठ सय सय ७२ तथा २५ करोड २५ लाख ५९ हजार पाँच सय २० गरी दुईवटा मूल्यमा निर्माण सम्झौता गरेको थियो। हालसम्म आयोजनाको निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भइसकेको छ भने करिब ४६ अर्ब भुक्तानी भइसकेको आयोजनाले जनाएको छ।