सुधारको नाममा यातना, आफन्तलाई समेत भेट्न दिइँदैन
विराटनगर : दुव्यर्सनीमा फसेकालाई पुनर्स्थापित गराउने उद्देश्यले सामाजिक पुनर्स्थापना केन्द्र खोलिएका हुन्छन्। उनीहरूको मुख्य काम भनेकै कुलतमा फसेकालाई त्यसबाट मुक्त पार्नु हो, जीवन जिउने असल मार्ग देखाइदिनु हो। नयाँ जीवन प्रदानु गर्नु हो। तर, सुधार गृहका नाममा खोलिएको मोरङ उर्लाबारी नगरपालिका ४ रहेको जीवन बचाउ उपचार सेवा गृहले सुधारमा राखिएका बिरामीमाथि शोषण गरेको छ।
दुर्व्यसनीमा फसेकालाई शारीरिक र मानसिक यातना दिइरहेको छ। त्यहाँका कर्मचारीको काम भनेकै बिरामी कुट्ने र उनीहरूलाई धम्की दिने भएको उर्लाबारी २ का वडाध्यक्ष राजन कँडेलले बताए। ‘सुधारगृहमा राखिएकालाई परिवारका मान्छे आउँदा भेट्न पनि दिँदो रहेनछ’, उनले भने, ‘चरम यातना र धम्की दिइँदो रहेछ।’ सुधारगृहमा राखिएका आफन्तबारे बुझ्न जाँदा आफूले त्यहाँको निर्मम र दर्दनाक अवस्थाबारे थाहा पाएको वडाध्यक्ष कँडेलले बताए। भने, ‘सुधार गृह त मान्छे सुधार्न पो राख्ने हो।’
मदिरा सेवनको आरोपमा मोरङकै कानेपोखरी गाउँपालिका ३ का ४० बर्से सूर्य भट्टराईलाई सुधार्ने जिम्मा लिएर सुधारगृहले गत कात्तिकमा लगेको थियो। तर, त्यहाँ दिइएको यातनाबाट भट्टराई घाइते भएका छन्। दाहिने घुँडामा चोट लागेका कारण उनी हिँड्न सक्दैनन्। भाइलाई भेट्न जाँदा सञ्चालकले भेट्न नदिएको भट्टराईका माइला दाजु पुस्करले बताए। ७६ वर्षीया आमा विष्णुमाया र ८३ बर्से बुवा चन्द्रबहादुरले रुँदै छोरा फिर्ता दिन आग्रह गरे पनि सुधारगृहले दिन मानेको छैन। पुस्करले भने, ‘मलाई धेरै कटे भनेर भाइले निकाल्न भन्दै रोयो, तर म त्यहाँबाट फर्किएपछि दाइलाई किन बोलाइस् भनेर उल्टै कुटेछन्।’ सुधार गृहमा राम्रोसँग खान र सुत्न पनि नदिइएको भाइले गुनासो गरेको दाइ पुस्कर बताउँछन्।
सुधार गृहले भित्र प्रवेशमा रोक लगाएपछि जनप्रतिनिधि र प्रहरी प्रशासनको सहयोगमा मात्र भाइलाई भेट्न सकेको उनले गुनासो गरे। उनले थपे, ‘भाइ कसरी बिरामी भयो भन्दा उल्टै मलाई नै खाउँलाजसरी हेरे।’ खास कुरा बुझ्न खोज्दा निदिएरै त्यहाँबाट आफूलाई निकालिएको उनले बताए।
एक स्थानीयका अनुसार सुधार गृहमा दिनहुँ यातना दिने काम हुन्छ। ‘नयाँ आएकालाई त रातभर कुट्छन्’, तिनले भने, ‘कुटेर सुधार गर्छु भन्ने मानसिकता सञ्चालकको छ।’ भाइको घुँडामा इक्फेक्सन भइसकेको बताउँदै पुस्करले भने, यसरी बन्धक बनाएर सुधारको नाममा यातना दिने सञ्चालकलाई कारबाही गर्ने बाटो खोज्दै छु।’
उक्त सुधारगृहमा उर्लाबारीका च्याङ्बा भनिने दावा तामाङको २०७३ साउन १२ गते मृत्यु भएको थियो। सुधारगृहले ब्रेन ह्यामरेजको कारण मृत्यु भएको बताए पनि आफन्तले भने कुटपिट र यातनाका कारण मृत्यु भएको बताउँदै आएका थिए। दबाब र प्रभावकै भरमा त्यतिबेला पनि घटनालाई सामसुम पार्ने काम भएको थियो। इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले सुधारगृहमा धेरै व्यक्तिलाई गैरकानुनी ढंगबाट राखेको पाइएको बताए। उनले कानुनी प्रक्रिया पूरा गर्न आग्रह गर्दा गृह सञ्चालकले विभिन्न ढंगबाट दबाब सिर्जना गर्दै अटेर गरिरहेको बताए। ‘दुर्व्यसनीमा फसेकालाई सुधारगृहमा राख्न सरकारबाट मान्यता प्राप्त चिकित्सकले सिफारिस गर्नुपर्छ। प्रहरीसँग पनि समन्वय गरिनुपर्छ’, उनले भने, ‘त्यहाँ भने कुनै प्रक्रिया पूरा गरेको देखिँदैन। यसबारे थप छानबिन भइरहेको छ।’ यातना पाएकाले उजुरी दिए गृह सञ्चालकलाई कारवाही गर्न सकिने उनले बताए।
उर्लाबारी नगरपालिकाकी उपमेयर एवं न्यायिक समिति संयोजक लक्ष्मी भण्डारीले सुधारगृहबारे धेरै गुनासा आइरहेको बताइन्। सुधारगृहमा राखेर कसैलाई पनि कुट्न र यातना दिन नपाइने विषयमा सचेत गराइसकिएको उनले जानकारी दिइन्। तर, सुधारगृहका अध्यक्ष सागर राईले भने कसैलाई पनि यातना नदिएको दाबी गरेका छन्। ‘सुधार्न यातना दिइन्थ्यो, अहिले बन्द भइसक्यो’, उनले भने, ‘सुधारगृहमा काम गर्नेलाई नकुट्न भनिसकेका छौं।’ सबै जना बिरामीलाई परिवारका सदस्यकै सहमतिमा ल्याएर सुधारगृहमा राखिएको पनि उनले बताए। बिरामी भनिएका भट्टराईको घुँडाको पुरानै समस्या रहेको र सुधारगृहलाई जिम्मा दिने परिवारका सदस्य लिन नआएका कारण पठाउन नसकिएको उनले जवाफ दिए। २०६२ सालबाट सञ्चालित सुधारगृहमा २३ जना छन्।