मेलम्ची ठेक्का रद्द प्रकरणमा खानेपानी सचिव मुख्य जिम्मेवार

मेलम्ची ठेक्का रद्द प्रकरणमा खानेपानी सचिव मुख्य जिम्मेवार

काठमाडौं : निर्माणको अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द हुने अवस्थामा पुग्नुमा खानेपानी सचिव र मेलम्ची विकास समिति बोर्डका कार्यकारी निर्देशक मुख्य जिम्मेवार देखिएका छन् । ठेक्का रद्द भएको भोलिपल्टदेखि सुरु भएको वार्तामा सहमति जुट्न नसकेकाले आयोजनाको भविष्य अझै अन्योलमा छ ।

खानेपानी सचिव गजेन्द्र ठाकुर र बोर्डका कार्यकारी निर्देशक सूर्यराज कँडेललाई विवाद निरुपण बोर्ड (डीआरबी) ले कात्तिक ९ गते नै पुस १ गतेभित्र ३६ करोड रुपैयाँ भुक्तानी गर्न निर्देशन दिएको थियो । ठेकेदार सीएमसीले डीआरबीको निर्णयअनुसार कात्तिक १९ गते भुक्तानीका लागि सचिव ठाकुर र कार्यकारी निर्देशक कँडेललाई बिल दिएको थियो ।

सीएमसीको बिलउपर मन्त्रालय र बोर्ड दुवै कारबाही नगरी गुपचुप बसे । ठेकेदारले कात्तिक ३० गते स्मरणार्थ पुनः पत्र पठायो । फेरि पनि ठेकेदारको पत्रलाई वास्ता गरिएन । सीएमसीले मंसिर १८ गते डीआरबीले आदेश गरेको मिति (पुस १ सम्म) भुक्तानी नदिए ठेक्का रद्द गरी काम रोक्न आफू बाध्य हुने अर्काे पत्र लेख्यो । उक्त पत्र मेलम्चीले ‘प्राप्त गरेको’ भन्दै छाप लगाएर पठायो, तर फेरि पनि कारबाही गरेन ।

पुस १ गते पनि भुक्तानी नगरेर सचिव र कार्यकारी निर्देशकले ठेकेदारका प्रतिनिधिलाई मौखिक रूपमा ‘तिमीले काम रोकेमा ठेक्का रद्द गरी अर्काे विकल्पबाट काम अघि बढाउँछौं’ भने । त्यसको भोलिपल्ट सीएमसीले पुस २ गते ठेक्का रद्द (टर्मिनेसन) भएको चिठी पठायो । ‘मेलम्ची बोर्डले ठेक्का सम्झौता उल्लंघन गरेकाले सम्झौतामा उल्लिखित प्रावधानअनुसार ठेक्का रद्द गरिएको’, आयोजना स्रोतबाट अन्नपूर्णलाई प्राप्त सीएमसीले लेखेको पत्रमा छ ।

ठेक्का रद्द भएको पत्र लेखी सोही रात ११ बजे इटालियन ठेकेदारका कर्मचारी क्रिसमस र नयाँ वर्ष मनाउन स्वदेश फर्कने तयारीमा थिए । उनीहरूले हवाई टिकट एक महिनाअघि नै लिइसकेका थिए । यता, ठेकेदारले सम्झौता रद्द गरेको थाहा पाएपछि सचिव ठाकुर, आयोजना प्रमुख कँडेल, खानेपानीमन्त्री बिना मगरका सहयोगी विजय भट्ट ३० जना प्रहरीको फौज लिएर ठेकेदारका कर्मचारी बसेको ठमेलस्थित होटलमा पुगे । भट्टले सबै विदेशीको राहदानी खोसे । ठाकुरले उनीहरूलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिए ।

स्वदेश फर्कन लागेको ठेकेदारलाई रोकेर सचिव ठाकुरले भोलिपल्ट मन्त्रालयमा वार्ताका लागि बोलाए । भट्टले खोसेका आठवटा राहदानी सम्बन्धित विदेशीलाई फिर्ता दिए । ठाकुरले भने अध्यागमन कार्यालयमा फोन गरी आठ जना इटालियनलाई जान नदिनू भन्ने आदेश दिए ।

वार्ता क्रममा ठेकेदारले बुधबार आफ्ना माग राख्यो । ठेकेदारले आफ्नो सबैभन्दा पहिलो र मुख्य माग क्रिसमसमा आफूहरू घर जान पाउनुपर्ने राखेका छन् । सीएमसीले डीआरबीले निर्णय गरेको ३६ करोड रुपैयाँ बिनासर्त तत्काल भुक्तानी पाउनुपर्ने माग राखेको छ । अन्तरिम भुक्तानी प्रमाण (आइपीसी) अन्तर्गतको १५ करोड रुपैयाँ कट्टा नगरी आयोजनाले दिनुपर्ने, भेरियसनबापतको करिब ६० करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने अर्का माग छन् । विगतमा इन्जिनियर (परामर्शदाता) ले प्रमाणित गरी भुक्तानी भइसकेको आईपीसीहरूबाट झन्डै ३० करोड रुपैयाँ आयोजनाले कट्टा गर्ने भनेकोमा त्यो कट्टा गर्न नपाउने ठेकेदारको माग छ ।

ठेकेदारले आयोजना सम्पन्न नहुन्जेल कुनै पनि जरिवाना (लिक्विडेसन ड्यामेज) लिन नपाउने दाबी गरेको छ । ‘यी मागमा मेलम्ची सहमत भए त्यसको भोलिपल्टदेखि काम सुरु गर्ने’ ठेकेदारको पत्रमा उल्लेख छ । बिहीबार मन्त्रालयमा ठेकेदारसित भएको बैठकमा सरकारले ठेकेदारका दुई माग सम्बोधन गर्न सकारात्मक भएको छ । डीआरबीले तय गरेको ३५ करोड रुपैयाँ र आइपीसीको १५ करोड रुपैयाँ दिन मन्त्रालय राजी भएको छ भने भेरियसन अर्डरबापतको ६० करोड रुपैयाँमा असहमति जनाएको छ ।

सचिव ठाकुर र कार्यकारी निर्देशकले खानेपानी मन्त्रीले ठेकेदारले भुक्तानीका लागि गरेको ताकेता र पत्राचारबारे अवगत गराएनन् । बरु सचिव ठाकुरले प्रधानमन्त्री केपी ओलीलाई भेट गरी ‘ठेकेदार दुई अर्ब रुपैयाँ लिएर भाग्न लागेकाले आपूmले कारबाही गर्न लागेको’ भन्दै भ्रमित गराउन सफल भए । सचिवको कुरा सुनी कुपित बनेका प्रधानमन्त्री ओलीले ठेकेदारलाई तत्कालै कारबाही गर्न निर्देशन दिए । यता ठाकुरले ‘प्रधानमन्त्रीज्यूले कारबाही गर्न निर्देशन दिएको’ भन्दै ठेकेदारका कर्मचारीलाई धरपकड गर्न लगाए ।

आयोजना स्रोतका अनुसार मन्त्रालय र मेलम्चीका उपल्लो तहका पदाधिकारीले ठेकेदारसँग कमिसन माग गरेको तर ठेकेदार आपूm दिन असमर्थ रहेको जनाएपछि उसको पत्राचारप्रति उदासीन बनेका हुन् ।

ठेकेदारका माग

– डीआरबीले निर्णय गरेअनुसार ३५ करोड रुपैयाँ तत्काल भुक्तानी हुनुपर्ने

– आईपीसीको १५ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने

– भेरियसनबापतको ६० करोड रुपैयाँ पाउनुपर्ने

– इन्जिनियरले प्रमाणित गरिसकेको ३० करोड रुपैयाँ कट्टा गर्न नपाउने र

– निर्माण नसकुन्जेल आयोजनामा कुनै जरिवाना लगाउन नपाउने

सरकार सहमत

– ३५ करोड रुपैयाँ तत्काल भुक्तानी गर्न

– आईपीसीको १५ करोड रुपैयाँ दिन

– भेरियसन नदिने


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.