निर्मला हत्या प्रकरण : यस्ता छन् प्रहरीका गम्भीर गल्ती, प्रमाण नष्ट गर्नेदेखि जबर्जस्ती बयानसम्म

निर्मला हत्या प्रकरण  : यस्ता छन् प्रहरीका गम्भीर गल्ती, प्रमाण नष्ट गर्नेदेखि जबर्जस्ती बयानसम्म

काठमाडौं : कञ्चनपुरको भीमदत्तनगर नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा १८ जना प्रहरी कारबाहीमा पर्ने भएका छन् । निर्मला प्रकरणको अनुसन्धानमा भएको लापरबाहीको छानबिन गर्न भदौ ३१ गते एआईजी धीरु बस्न्यातको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले १८ जना प्रहरीमाथि विभागीय कारबाहीको सिफारिस गरेको हो ।

बस्न्यात नेतृत्वको समितिले निर्मला प्रकरणको अनुसन्धानमा लापरबाही गरेको ठहर गर्दै हाल बर्खास्त जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसहित १८ जनामाथि कारबाहीको सिफारिस गरेको हो ।

कसकसको गल्ती ?

कारबाहीमा पर्नेहरूमा एक जना एसपी, दुई जना डीएसपी, तीन जना इन्स्पेक्टर, चार जना सई, तीन जना हवल्दार र पाँच सिपाही रहेको प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीले जानकारी दिए ।

कारबाहीको सिफारिस गरिएकाहरूमा एसपी विष्ट, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन डीएसपी ज्ञानबहादुर सेठ्ठी, केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएका डीएसपी अंगुर जिसी छन् । इन्स्पेक्टरहरूमा वडा प्रहरी कार्यालयका तत्कालीन प्रमुख जगदीश भट्ट, एकिन्द्र खड्का र गणेश सापकोटा पनि कारबाहीमा पर्ने भएका छन् ।

निर्मल प्रकरणको अनुसन्धानमा लापरबाही गर्नेहरूमा सईतर्फ रामसिंह धामी र हरिसिंह धामीसहित चार जनाको नाम समितिले कारबाहीका लागि सिफारिस गरेको छ । त्यसैगरी तीन जना हवल्दार र पाँच जना सिपाहीको पनि यो प्रकरणमा गल्ती औंल्याइएको छ । कारबाहीको सिफारिसमा पर्नेहरूमा निर्मलाको शव भेटिएको स्थानमा निर्मलाले लगाएको सुरुवाल पखाल्ने सिपाही चाँदनी साउद पनि छन् ।

‘समितिले दिएको सुझाव र सिफारिसअनुसार यी १८ जनामाथि कानुन शाखाले कारबाही अघि बढाउनेछ’, छानबिन समितिका सदस्यसमेत रहेका प्रहरी प्रवक्ता सुवेदीले भने, ‘दुई खण्डमा रहेको प्रतिवेदनले एकातिर सुझाव दिएको छ भने अर्कातिर अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीको गल्ती पनि औंल्याएको छ ।’

के छ प्रतिवेदनमा ?

एआईजी बस्न्यात नेतृत्वको समितिले करिब ७ सय पृष्ठको प्रतिवेदन सोमबार प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाललाई बुझाएको थियो । यो प्रतिवेदन फरक दुई खण्डमा छ ।

प्रतिवेदनले पहिलो खण्डमा निर्मला प्रकरणमा प्रहरी अनुसन्धानमा भएको गल्ती औँल्याएको छ । दोस्रो खण्डमा निर्मला प्रकरण भएको प्रहरीको लापरबाहीलाई केलाउँदै प्रहरी नेतृत्वलाई आवश्यक सुझाव दिएको छ ।

यी हुन् गल्ती

छानबिन समितिका सदस्य पनि रहेका प्रहरी प्रवक्ता सुवेदीका अनुसार घटनाको जानकारी पाएर पनि तत्कालै प्रहरीको टोली निर्मलाको शव भएको स्थानमा पुग्न नसक्नु नै कञ्चनपुर प्रहरीको पहिलो गल्ती हो । आमा दुर्गादेवी पन्तले निर्मला हराएको जानकारी साउन १० गते साँझ नै सालघारी प्रहरी चौकीमा गराएकी थिइन् । तर प्रहरीको टोली साउन ११ गते बिहान निर्मलाको शव भेटिएपछि मात्रै उल्टाखाम पुगेको थियो ।

निर्मलाको खोजीका लागि उनको फोटोसहितको निवेदन चाहिने भन्दै डेढ किलोमिटरको दूरीमा नपुगेका सई रामसिं धामी र वडा प्रहरी कार्यालयका त्तकालीन प्रमुख जगदीश भट्ट निर्मलाको शव भेटिएको हल्ला चलेपछि मात्रै घटनास्थलमा पुगेका थिए ।

सबैभन्दा नजिकको दूरीमा रहेको सालघारी प्रहरी चौकीका दुई प्रहरी सबैभन्दा पहिले निर्मलाको शव भएको स्थानमा पुगेका थिए । त्यसपछि मात्रै धामी र भट्टको टोली घटनास्थलमा पुगेको थियो । होमवर्क गर्न गएकी छोरी बेपत्ता भएपछि आमा दुर्गाले साउन १० गते साँझ नै छोरीकी साथी रोशनीको घरमा खानतलासी गरिदिन आग्रह गरेकी थिइन् । तर प्रहरीले फोटोबिना खोजी गर्न नसकिने भन्दै लिखित निवेदन नै ल्याउन भनेर भोलि मात्रै आउने जवाफ दिएका थिए ।

बस्न्यात संयोजकत्वको प्रतिवेदनमा घटना हुनासाथ प्रहरीले तत्काल ‘एक्सन’ नगरेको गल्ती औंल्याइएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी दिल्लीराज विष्ट घटनास्थलमा नगएर अर्को गल्ती गरेको प्रतिवेदनमा उल्लेख छ ।

यी हुन् अनुसन्धानका त्रुटि

बलात्कार जस्तो गम्भीर घटनामा कञ्चनपुर प्रहरीले सुरुबाटै एकपछि अर्को गल्ती गरेको कुरा प्रतिवेदनमा औँल्याइएको छ । प्रवक्ता सुवेदीका अनुसार निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानको सिलसिलामा घटनास्थलको राम्रो सुरक्षा नगरेको पनि बताइएको छ ।

घटनास्थलको जाँचमा आवश्यक आधारभूत प्रक्रिया पनि नपुर्‍याइएको, यसअघि राष्ट्रिय मानवअधिकार आयोगले देखाए जस्तै बलात्कार जस्तो जघन्य अपराधको घटनामा अनुसन्धानमा खटिएको प्रहरी टोलीले तालिमप्राप्त कुकुरको प्रयोग नगरेको पनि प्रतिवेदनमा छ ।

‘प्रतिवेदनले घटनास्थल जाँचमा कुकुरको प्रयोग नगरिएकोलाई पनि प्रमुख कमजोरी मानेको छ । त्यसैगरी प्रमाण संकलनमा ‘चेन अफ कस्टी’ पूरा नगरिएको अर्को गम्भीर कमजोरी देखियो’, प्रवक्ता सुवेदीले अन्नपूर्णसँग भने, ‘घटनास्थलमा सुरक्षा, सबुत प्रमाण प्याकिङ, लेबलिङ र मुचुल्कका खडा गरी सुरक्षित रूपमा कार्यालयमा लगेको पनि देखिएन । सुरुवातदेखि प्रमाण बटुलेर लैजानेसम्मको ‘स्टेज’सम्म अनुसन्धानका विधि पनि पूर्ण पालना नगरिएको पाइयो ।’

सुरुवाल र पेन्टीबारे प्रश्न ?

एआइजी बस्न्यात नेतृत्वको समितिले बलात्कारपछि निर्मलाको हत्या भएको अवस्थामा उनले लगाएको सुरुवाल र पेन्टी बरामद नगरिनु गम्भीर भएको ठहर गरेको छ । घटनास्थल जाँच प्रकृति मुचुल्का लिने क्रममा प्रहरीले निर्मलाको शरीरमा रहेको सुरुवाल तत्कालै पखालेर प्रमाण मेट्ने काम गरेको थियो ।

निर्मलाले लगाएको सुरुवाल पखालेर प्रमाण मेटाएको भन्दै सिपाही चाँदनी साउद यसअघि नै निलम्बनमा परिसकेकी छन् । छानबिन समितिले निर्मला प्रकरणका बलियो प्रमाण सुरुवाल र पेन्टी प्रहरीले बरामदै नगरी प्रमाण नष्ट गरेको उल्लेख गरेको छ । निर्मलाले लगाएको सुरुवाल र पेन्टीमा बलात्कारमा संलग्नहरूको वीर्यसहितका प्रमाण हुन सक्ने अवस्थामा यी दुवै कुरा प्रहरीले घटनास्थलबाट बरामद नै नगरी फर्किएको थियो ।

छानबिन समितिले निर्मलाको साथमा रहेको अम्बा पनि बरामद नगरी प्रमाण नष्ट गरिएको निचोड निकालेको छ । निर्मलाले उक्त अम्बा साथी रोशनीको घर प्रांगणबाट ल्याएकी थिइन् । तर उक्त अम्बा पनि बरामद नगरी प्रमाण मासिएको निचोड समितिले निकालेको छ ।

सर्टको टुक्रा झुटो प्रमाण

निर्मलाको हत्याको २४ दिनपछि प्रहरीले निर्मलाको शव फेला परेको स्थानबाट सर्टको गोजीका टुक्रा बरामद गरेको थियो । घटनाको २४ दिनपछि प्रहरी टोलीले घटनास्थलबाट दिलीपसिंह विष्टको भन्दै सर्टबाट च्यातिएको गोजी बरामद गरेको थियो । निर्मलाको शव भेटिएकै दिन प्रहरीले व्यापक सर्च गर्दा पनि नभेटिएको सर्टको टुक्रालाई छानबिन समितिले झुटो प्रमाण भनेको छ । प्रहरीले त्यस बेला प्रयोग गरिएको कन्डम पनि बरामद भएको भन्दै त्यसलाई पनि प्रमाणका रूपमा पेस गरेको थियो । तर छानबिन समितिले भने सर्टको टुक्रालाई ‘झुटो प्रमाण’ ठहर गरेको छ ।

निर्मला प्रकरणमा मुख्य अभियुक्तका रूपमा पक्राउ गरी सार्वजनिक गरिएका दिलीपसिंह विष्टका परिवारले उक्त सर्ट पक्राउ परेपछि मात्रै घरबाट लगिएको बताएका थिए । दिलीप पक्राउ परेपछि लगिएको सर्टबाट गोजी च्यातेर घटनास्थलमा प्रहरीले नै फालेर झुटो प्रमाण बनाउन खोजेको समितिको निष्कर्ष छ ।

दिलीपसिंहसँग जबर्जस्ती

निर्मलाको बलात्कारको २५ दिनपछि भदौ ४ गते पक्राउ परेका ४१ वर्षीय दिलीपसिंह विष्टलाई पनि केन्द्रीय अनुसन्धान ब्युरो र स्थानीय प्रहरीको टोलीले जबर्जस्ती घटना कबुल गर्न लगाएको समितिको निष्कर्ष छ ।

‘हाम्रो अनुसन्धान र छानबिनले दिलीपसिंहलाई निर्मलाको बलात्कार र हत्या आफैंले गरेको स्विकार्न प्रहरीले जबर्जस्ती गरेको पाइयो’, सुवेदीले भने, ‘उनीविरुद्धको प्रमाण पनि झुटो निस्किएको छ । उनलाई जबर्जस्ती घटना स्विकार्न लगाएर अनुसन्धानमा झनै गडबडी गरेको पाइएको छ ।’

समितिले के दियो सुझाव ?

समितिले निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा विभिन्न सुझाव पनि दिएको छ । समितिले निर्मला प्रकरणमा भएको गल्ती औल्याउँदै बलात्कार र हत्या जस्ता गम्भीर प्रकृतिका घटना अनुसन्धानका लागि अनुसन्धान अधिकृतहरू बढाउनुपर्ने सुझाव दिएको छ ।

प्रहरीमा अपराध अनुसन्धान गर्ने विज्ञ अभाव हुँदै गएको कुरा औल्याउँदै समितिले अपराध अनुसन्धानका लागि ‘सिन अफ क्राइम इन्भेस्टिकेसन अफिसर’ (सोको टिम) को संख्या बढाउन तालिम पनि नियमित गर्नुपर्ने भनेको छ । यो टिमले घटनास्थललाई घेर्ने, सुरक्षित गर्ने, घटनास्थलमा रहेका रगत, कपडा र अन्य सबुत प्रमाण जुटाउन भूमिका खेल्छ ।

नेपाल प्रहरीमा सिन अफ क्राइम इन्भेस्टिगेसन अफिसरको तालिम हुनै छाडेको गुनासो आएका बेला समितिले यसतर्फ पनि प्रहरी नेतृत्वलाई सुझाएको हो । ‘सोको टिम’को तालिमका लागि प्रहरीले एकै जनालाई २५ देखि ३० लाख रुपैयाँसम्म लगानी गर्नुपर्छ । पछिल्लो समय यस्तो तालिम हुनै छाडेको अवस्थामा समितिले यो सुझाव दिएको हो ।

समितिले घटनास्थल अनुसन्धानका लागि थप उपकरण आवश्यक रहेको उल्लेख गरेको छ । समितिले घटनास्थल अनुसन्धानका लागि आवश्यक ‘फरेन्सिक अनुसन्धान भ्यान’सहितका उपकरण तत्काल व्यवस्था गर्न सुझाएको छ ।

घटनास्थलबाट पोस्टमार्टमाका लागि शव ल्याउन ‘डेड बडी ब्याग’ नै नेपाल प्रहरीसँग नभएको अवस्थामा समितिले यसको आवश्यता औंल्याएको छ । ‘डेड बडी ब्याग’ अभावमा आवश्यक प्रमाण मेटिने गरेको भन्दै समितिले यसतर्फ तत्काल कदम चाल्न प्रहरी नेतृत्वलाई भनेको हो ।

६ निलम्बित, २ बर्खास्त

निर्मला प्रकरणा गम्भीर लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले यसअघि नै एसपी दिल्लीराज विष्टसहित आठ प्रहरीलाई निलम्बन गरेको थियो । निलम्बनमा पर्नेमा एसपी, अनुसन्धान अधिकृत डीएसपी ज्ञानबहादुर सेठ्ठी, घटनाको छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएका डीएसपी अंगुर जीसी, प्रहरी निरीक्षकद्वय जगदीश भट्ट र एकेन्द्र खड्का थिए । त्यसैगरी सालघारी प्रहरी चौकीका सई रामसिंह धामी र अनुसन्धानमा खटिएका सई हरिसिंह धामी निलम्बनमा परिसकेका छन् ।

यीमध्ये एसपी विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई प्रहरी प्रधान कार्यालयले बर्खास्त गरिसकेको छ । दुवैले पुनर्बहालीको माग गर्दै मन्त्रिपरिषद्मा निवेदन पनि दिइसकेका छन् । यो प्रकरणमा पछिल्लो पटक स्थानीय किशोर प्रदीप रावल र विशाल चौधरी प्रहरी हिरासतमा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.