टाइटानिक रहस्य
टाइटानिक पानीजहाजका बारेमा विश्वका धेरै व्यक्ति आज पनि उत्तिकै रुचि राख्छन्। त्यति बेलै एक पैसावाल व्यक्तिले चाहने सबै सुखसुविधा टाइटानिक जहाजमा मिल्थ्यो।
टाइटानिक जहाज बनेर चल्न थालेपछि यो दुनियाँकै सबैभन्दा ठूलो चल्ने वस्तु थियो। तीनवटा फुटबल मैदान बराबर यसको लम्बाइ थियो भने १७ तले भवनजत्तिकै उचाइ थियो। यसलाई सीधा ठड्याएर राख्ने हो भने योभन्दा अग्लो दुनियाँमा अर्को कुनै वस्तु नै थिएन। यही अद्भुत जहाजको विषयलाई लिएर बनेको हलिउड चलचित्र ‘टाइटानिक’ले ११ वटा ओस्कार पुरस्कार जितेको थियो। विश्वमै बढी कमाइ भएकोमध्ये दोस्रो चलचित्र टाइटानिक थियो। यो जहाजका बारेमा केही तथ्य यस्ता छन् :
- टाइटानिक जहाजको पूरा नाम आरएमएस टाइटानिक हो। यसलाई बनाउने कम्पनीको नाम ह्वाइट स्टार लाइन थियो।
- सन् १९०९ मार्च ३१ मा तीन हजार मानिसको समूहले नर्थ आइल्यान्डको बेलफास्टमा यो जहाज बनाउन थालेको थियो। २६ महिनापछि यो जहाज तयार भयो। यस क्रममा दुई सय ४६ जना घाइते भए भने दुईजनाको मृत्यु भयो। यो जहाज तयार भएपछि यसलाई हेर्न मात्र एक लाख मानिस आएका थिए।
- सन् १९१२ मा टाइटानिक बनाउने कुशल कारिगरलाई साताको १० डलर र अकुशल कारिगरलाई साताको पाँच डलर दिने गरिन्थ्यो।
- सन् १९१२ अप्रिल १० मा टाइटानिक इङ्ल्यान्डको साउथम्पटनबाट न्युयोर्कतर्फ आफ्नो पहिलो र अन्तिम यात्राका लागि हिँडेको थियो।
- यात्रा सुरु गरेको चौथो दिनमा यो उत्तरी एटलान्टिक सागरको एक हिमपर्वतमा ठोक्किएको थियो।
- इतिहासमै टाइटानिक एउटा यस्तो जहाज हो जुन बरफको ठूलो ढिक्का (आइसबर्ग)सँग ठोक्किएको थियो। ठोक्किएको दुई घण्टा ४० मिनेटपछि यो पूर्ण रूपमा डुबिसकेको थियो। जहाज १६ किलोमिटर प्रतिघण्टाको गतिले डुबेको थियो। यसलाई समुद्रको अन्तिम सतहसम्म पुग्न जम्मा १५ मिनेट मात्र लागेको थियो।
- आइसबर्ग केही पहिले नै देखिन सक्थ्यो। तर, टाइटानिकका क्रु मेम्बरसँग दूरविन थिएन। दूरविन लकरमा राखिएको थियो। यसको साँचो हराएको थियो।
- जहाज विस्तारै डुबिरहेको खबर पाउँदासमेत त्यहाँभित्र संगीत बजाइरहेका संगीतकर्मीले आफ्नो अन्तिम साससम्म पनि बजाउन छाडेका थिएनन्। जहाजभित्र रहेका मानिसले आफ्नो अन्तिम पल पनि खुसीसँग बिताऊन् भन्ने उनीहरूको चाहना थियो।
- टाइटानिक जहाजमा डुब्नेमा सबैभन्दा धेरै पुरुष थिए। अप्ठ्यारो परिस्थितिमा पनि केही समझदार व्यक्ति अगाडि आएर महिला र बालबालिका पहिले भन्दै उनीहरूको उद्धार गरेका थिए।
- टाइटानिक डुबेको ठाउँमा पानीको तापमान माइनस दुई डिग्री सेल्सियस थियो। यस्तो तापमानमा मानिस १५ मिनेटभन्दा बढी बाँच्न सक्दैनथे।
- एक अनुमानअनुसार जहाजमा दुई हजार दुई सय २२ जना मानिस चढेका थिए। तीमध्ये एक हजार तीन सय १४ जना यात्रु र नौ सय आठ क्रु मेम्बर थिए। यसमा पनि एक हजार पाँच सय जनाको डुबेर मृत्यु भयो भने सात सय ६ जना बाँचेका थिए। हालसम्म जम्मा तीन सय ३७ जनाको मात्रै लास भेटिएको छ।
- टाइटानिकका यात्रुसँग नगद र गरगहनासमेत गरी करिब ६० लाख डलर बराबरको सामान थियो।
- नवविवाहित १३ जोडी हनिमुन मनाउन टाइटानिकमा आएका थिए।
- टाइटानिकमा रहेका यात्रु र स्टाफका लागि ३९ हजार किलो मासु, ४० हजार अन्डा, ४० टन आलु, एक हजार पाँच सय ९० किलो प्याज, ३६ हजार किलो स्याउ र ६३ हजार लिटर पानी खपत हुने गथ्र्यो।
- टाइटानिक डुबेसँगै इङ्ल्यान्डको अर्थव्यवस्थामा पनि ठूलो झट्का लागेको थियो। किनभने यसमा यात्रा गर्ने अधिकांश धनी व्यक्ति इङ्ल्यान्डकै थिए। यात्रीमध्ये सबैभन्दा धनी जोन ज्याकोब एस्टोर आईभी पनि इङ्ल्यान्डकै थिए। त्यति बेला उनको कुल सम्पत्ति ८५ मिलियन डलर थियो।
- मिलभिना डिन टाइटानिक दुर्घटनामा बाँच्नेमध्ये अन्तिम व्यक्ति थिइन्। सन् २००९ मे ३१ मा उनको मृत्यु भयो। टाइटानिक दुर्घटना हुँदा उनको उमेर दुई महिनाको मात्र थियो।