केटाहरूका अगाडि उभिदिए पुग्थ्यो
नलिना चित्रकार गायनमा लागेको लगभग तीन दशक भयो। पछिल्लो समय अमेरिका बसाइका कारण उनका नयाँ गीत खासै आएका छैनन्। तर, अमेरिकामै रहेका साथीसँग मिलेर चाँडै कलेक्सन एल्बम निकाल्ने उनको योजना छ।
उसबेला पनि चल्तीमा थियो मरुटोल। बाक्लो बस्ती। परम्परा अँगालेको समाज। आधुनिकताको प्रभाव पनि त्यत्तिकै। काठमाडौंको मुटु मानिने वसन्तपुरको आडमै रहेको त्यही टोलमा जन्मेहुर्केकी हुन्, नलिना चित्रकार। सानैदेखि आफ्नो उमेरसमूहका साथीबीच उनी हर्ताकर्ताजस्तै थिइन्। नाच्नगाउन रुचाउने। टोलमा प्रायः सबैले चिन्थे।
वसन्तपुरस्थित नवआदर्श स्कुलमा कक्षा ७ मा पढ्दै गर्दा उनले एउटा सामूहिक गीत गाउने मौका पाइन्। त्यसपछि उनी गायनतिर अलि बढी आकर्षित भइन्। तर, गाएर करिअर बन्ला भन्ने न उनले सोचेकी थिइन् न त यस क्षेत्रमा परिवारका कोही थिए। ठूलो बुवा र बुवा गीतसंगीतप्रति रुचि राख्थे तर व्यावसायिक रूपमा लिएनन्। गीत कहिल्यै गाएनन्।
आफ्नो टोलमा हुने कार्यक्रम होस् वा स्कुल, नलिनाले नाच्नगाउन छाडिनन्। २०४५ सालमा एसएलसी दिएपछि नेवार भाषामा ‘पासा उगु दिन ओइ तिनी छिं’ बोलको गीत गाइन्। उनको एकल स्वर रहेको त्यो पहिलो गीत थियो। सायद त्यसपछि उनले आफ्नो गायकीपनको गम पाइन्। अर्को वर्ष २०४६ सालमा ‘तिम्रो अधर’ बोलको नेपाली गीत गाइन्। यो गीत गाउन थालेपछि स्टेजमा नलिनाको माग हुन थाल्यो। उनी अनायासै व्यावसायिक गायिका बनिन्। यो उनको कल्पनाभन्दा बाहिरको कुरा थियो।
श्रोतादर्शकले नलिनालाई पप गायिकाका रूपमा चिन्न थाले। त्यो उनका लागि अर्को आश्चर्य थियो। चाहेर उनी पप गायिका बनेकी होइनन्। ‘सबै खाले गीत गाउन रुचाउने मान्छे’, विगत सम्झँदै उनले भनिन्, ‘तर गायन यात्राको प्रारम्भमै श्रोतादर्शक र मिडियाले पप गायिका भनेपछि मेरो पहिचान त्यही विधामा बन्यो।’ स्टेजमा हिट भइसकेपछि २०४९ सालमा बल्ल उनले ‘तिम्रो अधर’ रेकर्ड गराएकी हुन्।
२०४७ सालतिर शान्तिराम राईले संगीत भरेको ‘धोका दियौ तिमीले कलेजीमा घाउ लाग्यो’ बोलको गीतबाट सुक्मित गुरुङले बजार पिटेकी थिइन्। धेरैले सुक्मितलाई पहिलो सफल नेपाली पप गायिका मान्थे। उनका अधिकांश गीत पपशैलीका थिए। त्यसै बेला नलिना पनि ‘तिम्रो अधर’ बोलको गीत लिएर उदाइन्। नलिना यस्ती भाग्यमानी गायिका हुन्, जो पहिलो गीतबाटै हिट भइन्। त्यसपछि उनले कहिल्यै फर्केर हेर्नु परेन।
नलिना गायनमा लागेको लगभग तीन दशक भयो। पछिल्लो समय अमेरिका बसाइका कारण उनका नयाँ गीत खासै आएका छैनन्। तर, अमेरिकामै रहेका साथीसँग मिलेर चाँडै कलेक्सन एल्बम निकाल्ने उनको योजना छ। ‘घरायसी कामले म नेपाल आएकी हुँ। तुरन्तै फर्कनु पर्नेछ’, उनले भनिन्, ‘केही समयपछि गीत रेकर्ड गर्न पुनः नेपाल आउने तयारीमा छु।’
अमेरिका बसे पनि नेपाली गीतसंगीतका बारेमा उनी अपडेट हुन्छिन्। युट्युबको व्यापकता देख्दा आफूलाई अलि पुरानो भएजस्तो लाग्छ नलिनालाई। ‘नयाँ पुस्ताजस्तो युट्युबमा एक्टिभ हुन सकेको छैन’, उनले कारण खुलाइन्।
आफ्नो पालाका पप गायक दीपक वज्राचार्यको पछिल्लो हिट नम्बर ‘मन मगन’का कारण नलिना पनि उत्तिकै खुसी छिन्। ‘हामीले धेरै स्टेज सेयर गरेका छौं। आफ्नो समयको गायकको गीत हिट हुँदा श्रोतादर्शकले हामीलाई पनि सम्झेको हुनुपर्छ।’
गायनमा लागेकोमा उनलाई पछुतो लागेको छैन। तर, गायनमा यति लामो यात्रा तय गरिन्छ भन्ने उनले कल्पना पनि गरेकी थिइनन्। ‘मैले जीवनमा जे जति पाएँ गीतसंगीतबाटै पाएँ’, नलिनाले भनिन्, ‘यति सम्मान र सफलता अन्य क्षेत्रबाट सायदै पाउँथे होला।’
गायनबाट अगाडि बढ्न नलिनालाई परिवारको महत्त्वपूर्ण साथ रहयो। ‘आफूलाई भाग्यमानी मान्छु। विवाहअघि होस् वा पछि, मैले परिवारको साथ पाइरहेँ। विवाह भएको तीन दिनपछि अल नेपाल टुरमा जानु परेको थियो। टुरको तीन सातापछि गोरखामा मलाई भेट्न उहाँ (पति सञ्जीव मिश्र) आउनुभएको थियो’, उनले सुनाइन्।
नलिना स्टेजबाट चलेकी गायिका हुन्। उनले जुन समयमा गाउन थालिन्, त्यस बेला स्टेजमा जम्न सक्ने कलाकारका लागि सुनौलो समय थियो। आफ्नो समयमा स्टेजमा एकछत्र राज गरेकी नलिना भन्छिन्, ‘गीतसंगीतबाहेक मेरो अर्को व्यवसाय छैन। अमेरिकामा पनि म म्युजिकल टुरमै व्यस्त हुन्छु। गाएरै बाँचेकी छु।’
पहिलो गीतपछि नै नलिनालाई स्टेजमा भ्याइनभ्याइ भयो। फ्यानहरूको रेस्पोन्स देखेर उनी दंग पर्थिन्। ‘अटोग्राफ दिँदा हातै गल्थ्यो। राजधानीबाहिर क्रेज झन् बढी हुन्थ्यो’, नलिनाले विगत स्मरण गर्दै भनिन्, ‘अहिलेजस्तो सामाजिक सञ्जाल, मोबाइल केही थिएन। टाढाका फ्यानले चिठी पठाउँथे। रगतले लेखेको चिठी पनि पाएकी छु।’
२०३० सालमा जन्मेकी नलिनाको अनुभवमा पहिलेका फ्यान अलि संयमित थिए। धेरैजसोले प्रशंसा गरेर चिठी पठाउँथे। केही फ्यानको आकर्षक शैली र मीठो भाषाले उनलाई त्यतिकै लोभ्याउँथ्यो पनि। ‘हेन्डसम, पर्सनालिटी भएका केटाहरूले प्रशंसा गर्दा रमाइलो पनि लाग्थ्यो’, फ्यान अनुभव सुनाउँदै नलिनाले भनिन्, ‘विवाहअघि मात्र होइन विवाहपछि पनि फ्यानको माया उस्तै रहयो।’ सामाजिक सञ्चालको प्रयोग बढेपछि त्यो क्रममा ह्रास आएको उनको अनुभव छ।
लगभग दुई सय गीतमा स्वर दिएकी नलिनाका ‘प्रियतम’, ‘नलिना’, ‘नलिनाको रङ’, ‘सेलेक्टेड नलिना’, ‘जिन्दगी’, ‘रिफ्रेस ०८’, ‘सासले’जस्ता एल्बम बजारमा आएका छन्। ‘तिम्रो अधर’, ‘किन किन’, ‘गोरी काली सानी मोरी’, ‘चाहिँदैन हीरामोती’, ‘मेहन्दी लगाऊ’, ‘काले कृष्ण’, ‘पानी पानी’जस्ता उनका गीत श्रोतादर्शकले बढी रुचाएका छन्।
सहरमा जन्मेहुर्केकाले हुनसक्छ, नलिना सानैदेखि आत्मविश्वासी थिइन्। ‘म निडर स्वभावको थिएँ। बजार निस्कँदा, मन्दिर घुम्दा, गल्लीतिर टहलिँदा साथीहरूबीच हर्ताकर्ताजस्तै हुन्थेँ’, नलिनाले भनिन्, ‘मलाई जिस्क्याउन केटाहरू धकाउँथे। जिस्क्याए भने केही भन्नै पर्दैनथ्यो, उनीहरूका अगाडि उभिदिए पुग्थ्यो।’
छोरासँग जिजिमचानमा
नलिना चित्रकारलाई शुक्रबार ललितपुरको झम्सिखेलस्थित जिजिमचान रेस्टुरेन्टमा प्रत्यक्ष सुन्न पाइने भएको छ। लामो अमेरिका बसाइपछि घरायसी कामको सिलसिलामा नेपाल आएकी उनले छोरासँग स्टेज सेयर गर्न लागेकी हुन्। ‘अमेरिकामा धेरै स्टेजमा छोरासँग गाएकी छु तर नेपालमा पहिलोपटक भएकाले खुसी र उत्साहित छु’, नलिनाले भनिन्।
कार्यक्रममा उनले पानी पानी, गोरी काली, चाहिँदैन हीरामोती, तिम्रो अधर, किन किन लगायतका गीत गाउँदै छिन्। १५ वर्षअगाडि व्यवसायी सञ्जीव मि श्रसँग विवाह गरेकी नलिनाका १३ वर्षीय छोरा सक्षम मिश्र गायनमा रुचि राख्छन्। कार्यक्रममा नलिनाले नारायणगोपालको ‘केही मीठो बात गर’ पनि गाउँदै छिन्। यो गीतमा छोरा सक्षमले पनि साथ दिनेछन्। सक्षमले केही अंग्रेजी गीत पनि गाउँदै छन्।