यसरी बनाउनुस् माछाको सुप
विभिन्न पौष्टिक खानामध्ये माछा पनि एक हो। माछामा प्रशस्त मात्रामा न्युट्रोन्स, प्रोटिन, आयोडिन, मिनरल्स र भिटामिन डी पाइन्छ।
जाडो होस् वा गर्मी, जुनसुकै मौसममा माछा खान सकिन्छ। यसलाई फ्राई गरेर वा सुप बनाएर पनि खान सकिन्छ। माछाको अचार पनि मीठो हुन्छ। तर, यसका लागि सुकेको माछा हुनुपर्छ।
कतिपय मानिस माछा खान झन्झटिलो मान्दै डराउँछन्। माछामा हुने ठूला र मसिना काँडा घाँटीमा अड्किने डरले माछा मुखमै राख्न मान्दैनन्। तर, हप्तामा दुईपटक सबै उमेरसमूहका मानिसले माछा खानु राम्रो मानिन्छ। माछामा पाइने न्युट्रोन्स, प्रोटिन, आयोडिन, मिनरल्स र भिटामिन डी मानव शरीरलाई नभई नहुने तत्त्व हुन्। शरीरमा यी तत्त्वको कमी भयो भने विभिन्न रोग लाग्न सक्छ। त्यसैले जुनसुकै उमेर समूहका मानिसका लागि माछा खानु राम्रो हुन्छ।
माछामा ‘ओमेगा ३’ बोसोयुक्त एसिड रहेको हुन्छ। यो मानव स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण तत्त्व हो। यसले मस्तिष्क र आँखाको रेटिना निर्माण, वृद्धि र विकासमा ठूलो भूमिका खेल्छ। नियमित माछा खाने मानिसमा मुटुको समस्या कम हुन्छ। यसले मानसिक तनावबाट मुक्त हुनसमेत सहयोग गर्छ। जाडोमा माछाको सुप बनाएर खानुको मज्जा नै बेग्लै हुन्छ। पकाउने विधि सजिलो छ। भान्सामै भएका मसला प्रयोग गरी माछाको स्वादिलो सुप बनाउन सकिन्छ।
आवश्यक सामग्री
माछा – एक किलो
अदुवा – सय ग्राम
लसुन – सय ग्राम
खुर्सानी – दुईवटा
बेसार – सानो एक चम्चा
धनियाँ – सानो एक मुठा
धनियाँ दाना – पाँच ग्राम
टिमुर – आधा चम्चा
जीरा – छ ग्राम
कागती – एक दाना
नुन – आवश्यकताअनुसार
प्याज – एउटा
टमाटर – चारवटा
मैदाको पीठो – सय ग्राम
तेल – सय ग्राम
पानी – आवश्यकताअनुसार
पकाउने विधि
माछालाई सानो र पातलो टुक्रा पारेर काट्ने। काटेको माछालाई पानीले सफा गरेपछि एउटा भाँडोमा राख्ने। अदुवा, लसुन, टिमुर, खुर्सानी, जीरा र धनियाँ दाना पिसेर पेस्ट बनाउने। उक्त पेस्ट अलिकति झिकेर माछा राखेको भाँडोमा राख्ने। त्यसमा अलिकति बेसार, आवश्यकताअनुसार नुन पनि राख्ने। त्यसपछि मैदा राख्ने।
माछालाई मसला र मैदाको पीठोसँगै लगभग तीन मिनेटजति मुछ्ने। त्यसमा कागतीको रस राख्ने। मुछिएको माछालाई आधा घन्टा जति राख्ने। कराईमा तेल तातिसकेपछि माछाको टुक्रालाई पकाउने। अब सुपका लागि फ्राई माछा तयार भयो।
कराईमा तेल तताएर मसिनो गरी काटिएको प्याज राख्ने। प्याज हल्का खैरो भएपछि अघि तयार पारिएको मसला राख्ने। टमाटर राख्ने। आवश्यकताअनुसार नुन राख्ने। आवश्यकताअनुसार राखिएको पानी उम्लिएपछि फ्राई गरेको माछा राख्ने। करिब एक मिनेट पाकेपछि सुप तयार हुन्छ। सुपमा आवश्यकताअनुसार कागतीको रस र मसिनो गरी काटिएको धरियो धनियाँ राख्न सकिन्छ।