ईपीएल हाइलाइट्स

ईपीएल हाइलाइट्स

एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता त्रिवि क्रिकेट मैदानमा जारी छ। प्रतियोगिताको समूहगत चरणका खेल सम्पन्न भइसकेका छन्। प्रतियोगिता अवधिमा भएका केही रोचक घटना :

बाबरको छक्का र आयोजकको गाडी
ईपीएलअन्तर्गत चितवन टाइगर्स र विराटनगर वारियर्सबीच खेल चलिरहेको थियो। हङकङका खेलाडी बाबर हायात विराटनगरबाट ईपीएलको जारी सिजनमा पहिलो खेल खेल्दै थिए। तेस्रो क्रममा ब्याटिङका लागि क्रिजमा छिरेका बाबरले ४२ बलमा ९० रन प्रहार गरे, जसमा बाबर एक्लैले आठ छक्का प्रहार गरेका थिए। त्यही छक्का प्रहार गरेकोमध्ये एक बलले लागेर ईपीएल आयोजक जोहरा स्पोर्टस् म्यानेजमेन्टका प्रबन्ध निर्देशक आमिर अख्तरको गाडीको सिसा फुट्यो।

छक्का प्रहार गरेको बलले लाग्दा मिडिया ट्रिब्युनभन्दा पछाडिपट्टि पार्किङ गरी राखेको अख्तरको गाडीको अगाडिपट्टिको सिसामा क्षति पुगेको छ। बाबरको सशक्त प्रदर्शन भए पनि विराटनगर सो खेलमा पाँच रनले पराजित हुन पुगेको थियो। त्यसपछि सोमबार भएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा काठमाडौं किङ्स इलाभेनसँग समेत पाँच विकेटले पराजित भएपछि साविक विजेता विराटनगर प्रतियोगिताबाटै बाहिरिएको छ।

एकहाते क्याचलाई ५० हजार

ईपीएलको जारी सिजनमा नयाँ प्रयोग बन्यो, दर्शकको एकहाते क्याच र त्यसको पुरस्कार राशि। खेलका क्रममा खेलाडीहरूले प्रहार गरेका छक्कालाई दर्शकले एक हातले क्याच गरे ५० हजार पुरस्कार दिइने घोषणा आयोजकले गरेको थियो। त्यसअनुसार समूहगत चरणको खेलमा त्यस्ता दुई दर्शक पुरस्कृत भए। तिनले खेलका क्रममा आफूतर्फ प्रहार गरिएको छक्का बललाई एकै हातले क्याच लिएका थिए।

ईपीएलको पहिलो एकहाते क्याचसहित ५० हजार पुरस्कार रकम जित्ने दर्शक रहे, सरुन भट्ट। त्यसपछि जिते दर्शन ओलीले। ईपीएलले एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेस्को प्रायोजनमा दर्शकका लागि यो व्यवस्था गरेको थियो।

कीर्तिमानी दर्शक

ईपीएल आयोजक जोहोरा स्पोर्टस् म्यानेजमेन्टले सर्वाधिक दर्शकले ईपीएलको खेल हेरेको दाबी गरेको छ। मैदानमै पुगेर झन्डै ६० हजार र टेलिभिजन र डिजिटल प्रसारणमार्फत ३० लाखले खेल हेरेको आयोजकको भनाइ छ।

ईपीएलले समूहगत चरणको अन्तिम दुई खेल अघिसम्म मैदानमै पुगेर हेर्ने, टेलिभिजन र डिजिटल प्रसारणमार्फत हेर्ने दर्शकको संख्या अहिलेसम्मकै नेपालमा भएका कुनै पनि खेलकुद प्रतियोगितामध्येको कीर्तिमानी संख्या भएको दाबी गरेको छ। ईपीएलको फाइनल खेल यही शनिबार हुँदै छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.