हाइट भए हिरो बन्थेँ होला

हाइट भए हिरो बन्थेँ होला

जितु नेपाल ‘मुन्द्रे’ हास्यव्यंग्यमा चर्चित अनुहार हो। आफूलाई बेफुर्सदिलो बनाउन मन पराउने उनी हाल मुन्द्रेको कमेडी क्लब चलाइरहेका छन्। भइपरी आएका कार्यक्रमहरू लिइरहे पनि हाल धेरै समय कमेडी क्लबकै काममा व्यस्त छन्। यही प्रसंगमा उनीसँग समीरबाबु कट्टेलले गरेको कुराकानी :

मुन्द्रेको कमेडी क्लबको आवश्यकता किन पर्‍यो?

केही वर्ष अघिसम्म सिरियल ज्यादै लोकप्रिय थिए। कलाकार कथामा अभिनय गर्थे। आजकल ‘स्ट्यान्ड अप कमेडी’को माग छ। मुन्द्रे भएर झन्डै ११ वर्ष सिरियलमा बिताएँ। एकातिर त्यही मुन्द्रे भएर काम गरिरहन मन लागेन भने अर्कातिर दर्शक पनि बदलिएका छन्।

दर्शक सिरियल केमा रोकियो, अर्को हप्ता के हुन्छ भनेर पर्खिने अवस्थामा छैनन्। समय भए हेर्छन्, नभए हेर्दैनन्। दर्शकको चाहना बुझेर नै कमेडी क्लब ल्याइएको हो।

मुन्द्रेको कमेडी क्लबलाई बलिउड कलाकार कपिल शर्माको नक्कल भन्छन् नि?

दुवै कार्यक्रमको बीउ एउटै हो। हामीले नेपाली सेटअपमा गरेका छौं। कतिपय प्रसंग मिलेका पनि छन्। यसलाई एकदमै नयाँ भन्न मिल्दैन। प्रभावित भएको चाहिँ पक्कै हो।

तपाईंका सिरियलमा ‘बल्ल बल्ल थर्ड डिभिजन एसएलसी पास गरेको’ कथा धेरै आयो। यसको खास अन्तर्य के हो?

हाम्रो पालासम्म एसएलसी ठूलो कुरा थियो। एसएलसी गर्दा साह्रै ठूलो काम गरेजस्तो लाग्थ्यो। सिन्धुपाल्चोकको हाम्रो गाउँमा एसएलसी गरेको मान्छेको इज्जत छुट्टै थियो। फलानाका छोराले पनि एसएलसी गरेछ भन्थे। एसएलसी गरेका छोरीचेली माग्न निकै राम्रा मान्छे आउँथे।

सिरियलमा लाहुरेको छोरा मुन्द्रेका लागि त झन् ठूलो कुरा हुने नै भयो। सिरियलमा त्यसैको प्रभाव हो। मैले भने सेकेन्ड डिभिजनमा एसएलसी गरेँ। मरेर आईए गरेँ। त्यसपछि पढाइमा समय र चाख भएन।

तपाईंको मुन्द्रे उपनाम कसले जुरायो? यसको अन्तरकथा के हो नि?

‘जिरे खुर्सानी’को सुरुआती सुटिङका बेला मुन्द्रे दादागिरी गर्ने, फाइँफुइँ गर्ने, मुन्द्रा लाउने पात्रका रूपमा थियो, जो ठूलो गुण्डा पनि होइन। मेरो नाम के राख्ने भनेर पहिलो सुटिङमै कुरा भयो। मैले नै मुन्द्रे राख्दा कस्तो हुन्छ भनेर प्रस्ताव गरेँ। सबैले समर्थन गरेपछि ओके भयो। पछि त्यही नाम स्थापित पनि भयो।

मुन्द्रा कहाँ किन्नुहुन्छ?

सुरुमा मेरो कान छेडेकै थिएन। च्यापेर मुन्द्रा लाउँथे। हङकङ गएका बेला मुन्द्रा किन्ने कुरा भयो। कान छेडेको छैन भन्दा त्यहीँ दुवै कान छेडियो। अमेरिका जाँदा वर्षा ज्वेलर्सका दाइले झन्डै एक तोलाको मुन्द्रा गिफ्ट भन्दै लगाइदिए।

सुनको मुन्द्रा, मान्छेको मन न हो, मैले पनि लाइदिएँ। मकाउ जाँदा बम लिम्बूले दिनुभएको हीराजडित मुन्द्रा लगाएको छु। सुटिङको बेला नक्कली लगाउँछु।

सपिङ कहाँ गर्नुहुन्छ?

प्रायः न्युरोडतिर सपिङ गर्छु। सुटिङका लागि रत्नपार्कमा समेत किन्छु। मास्क लगाएर मोटरसाइकलमा जाने गरेकाले कसैले चिन्दैनन्।

तपाईंको मासिक खर्च कति हुन्छ?

ट्याक्कै भन्न गाह्रो छ। आजकल फेसबुकमा फोटो हालेपछि फेरि त्यही कपडा लगाएर कार्यक्रममा जान गाह्रो हुन्छ। हाम्रो उद्योगको व्यापार पनि सानो छ।

ब्रान्ड कसरी छान्नुहुन्छ?

म ब्रान्डको पछि लाग्दिनँ। यनिक्लो भन्ने जापानिज पाइन्ट मेरै साइजमा पाइन्छ। यसले पाइन्ट काटिरहनु पर्ने झन्झट परेन। यो प्रायः हङकङतिर जाँदा ल्याउने गरेको छु। तीन हजार रुपैयाँसम्म पर्छ। श्रीमतीले पनि ल्याइदिन्छिन्। चस्माचाहिँ विदेशमा बस्ने नेपाली साथीहरूले उपहार पठाइदिन्छन्।

श्रीमतीसँग सपिङमा जानुहुन्छ?

खासै गइँदैन। दसैंको बेलामा मात्र।

तपाईंलाई हाइटले धोका दिएको हो?

हो। सुटिङमा हिरोइन अग्लो भएर हैरान हुन्छ। अग्लो भएको भए कमेडी छाडेर हिरो हुन्थेँ होला। अहिले भने ठीक लाग्छ। सिक्किममा ‘के साइनोले बोलौं’ भन्ने फिल्मको सुटिङ गर्दा हिरोइन सोनिया केसी निकै अग्ली थिइन्। म ट्रलीमाथि उभिएर हिँड्नु पर्‍यो। त्यतिले नभएर उनले जुत्ता खोल्नु पर्‍यो।

श्रीमतीसँग हाइट र रुचि मिल्छ?

मिल्छ, पहिले साइज पनि मिल्थ्यो। अहिले उनी अलि मोटी छिन्। घरकै सल्लाहअनुसार हाम्रो बिहे भएको हो। आज जे जति सफलता हात लागेका छन्, यसमा श्रीमतीको प्रत्यक्ष र परोक्ष योगदान छ।

दर्शकले भेट्दा कस्तो प्रतिक्रिया दिन्छन्?

दर्शकले मलाई अरू बेला पनि पर्दामा जस्तै स्वभाव र गेटअपमा ठान्छन्। मलाई देख्दा छक्क पर्छन्। म स्टेजमा लगाएकोे लुगा खोल्न मन पराउँछु।

दुइटा औंठी लगाउनुभएको छ नि?

यो सुनको हो (देखाउँदै)। श्रीमतीले जागिर खाएर किनिदिएको। हेर्दा हीरा जस्तो पनि लाग्छ। अर्को पनि उनैले लाइदिएको फलामको औंठी हो। यसले ग्रहदशा काट्छ रे।

तपाईं आस्तिक कि नास्तिक?

म आस्तिक हुँ। हरबखत भगवान्लाई सम्झिन्छु, ध्यान गर्छु। पूजाआजा श्रीमतीले गर्छिन्। इमानदारिता नै धर्म हो भन्ने लाग्छ। मबाट केही पनि गल्ती नहोस् भनेर भगवान्लाई सम्झिन्छु।

समय व्यवस्थापन कसरी गर्नुहुन्छ?

यो अलि असहज छ। आफन्त, साथीभाइ सँगै बसौं भन्छन्। म सकेसम्म घरमा समय दिन्छु। श्रीमती जागिरे भएकाले घरको काम पनि सघाउँछु। खाना बनाउँछु। घर सफा गर्छु। लुगाचाहिँ धुन्न। योजना बनाएर काम गर्दिनँ। कहिलेकाहीँ हतारमा निर्णय गरेर फुर्सदमा पछुताउँछु।

ड्रिङ्स गर्नुहुन्छ?

पिउने काम अहिले कम गरेको छु। जोसुकैसँग बसेर खान्नँ। धेरैजसो घरमै खाइन्छ।

युवालाई के सल्लाह दिनुहुन्छ?

नेपाली युवा उद्देश्यमा प्रस्ट छैनन्। विदेशको सपनामा रुमल्लिएका छन्। अभिभावक र बुवाआमाप्रति पूर्ण निर्भर हुने प्रवृत्ति छ। दुःख र अभाव पनि सहन सक्नुपर्छ। यसैले सम्भावना खोज्दै जान्छ।

जनवरी आउँदै छ। नयाँ वर्ष कसरी मनाउने सोचमा हुनुहुन्छ?

नयाँ वर्षको अवसरमा गलकोट सेवा समाजले जापानमा गर्ने कार्यक्रममा सहभागी हुँदै छु।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.