ट्रम्पसँग रुष्ट हुँदै अमेरिकी रक्षामन्त्रीले दिए राजीनामा
वासिङटन : अमेरिकी रक्षामन्त्री जीम म्याटिसले आफ्नो पदबाट राजीनामा दिएका छन् । सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा लगत्तै जीमले राजीनामा दिएका हुन् ।
आगामी फेब्रुअरीको अन्त्यसम्ममा उनी औपचारिक रुपमा पदबाट बिदा हुने छन् । ट्रम्पका निकटस्थ तथा असल सल्लाहकारको रुपमा चिनिने जीमले ट्रम्पको घोषणाप्रति असन्तुष्टि जनाउँदै अचानक राजीनामा दिएका हुन् ।
उनले राजीनामापत्रमा आफूले पद छोड्दै गरेको जनाउँदै लेखेका छन्, ‘आफ्नो बिचारसँग सहमत हुनेलाई पदमा नियुक्त गर्न तिमीलाई अधिकार छ ।’
ट्रम्पले सिरियाबाट आफ्ना सैनिक हटाउने र अफगानिस्तानमा सैनिक संख्या कम गर्ने भन्दै घोषणा गरेको कुरालाई लिएर अहिले अमेरिकामा उनकै निकटस्थहरु रुष्ट बनेका छन् । केहीले उनको चर्को आलोचना नै गर्दै आएका छन् ।