इलेक्ट्रोनिक्स एक्स्पोमा ५० करोडको कारोबार हुने अनुमान
भक्तपुर : भक्तपुरमा पुस २६ देखि ३० गतेसम्म पाँचदिने तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेलामा ५० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।
एक्स्पो आयोजक भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघले पत्रकार सम्मेलन गरी उक्त रकम बराबरको कारोबार हुने जानकारी दिएको हो। एक्स्पोको मुख्य प्रायोजक चौधरी समूहको एलजी यूएचडी टीभी एआई थिन्क रहेको छ।
संघका अध्यक्ष पुण्यराम खाताखोले एक्स्पो अनुमानित दुई लाखले अवलोकन गर्ने सुनाए।
‘पाँच दिनसम्म चल्ने इलेक्ट्रोनिक्स एक्स्पोमा ५० करोड रुपैयाँ बराबरको कारोबार हुने प्रक्षेपण गरेका छौं’, उनले भने, ‘एक्स्पोमा एकसय पचास व्यवसायी प्रत्यक्ष सहभागी हुनेछन्। दुई लाखले अवलोकन गर्ने अनुमान गरेका छौं।’
एक्स्पो गर्न करिब ७० लाख रुपैयाँ खर्च हुने उनले सुनाए। सल्लाघारीस्थित खुला मैदानमा एक्स्पोको लागि प्रदर्शनी कक्ष बनाउनुपर्ने, सुरक्षा पर्खाललगायतको व्यवस्थापनले बढी खर्च हुने उनी बताउँछन्।
विद्युतीय सामग्रीमा ५५ प्रतिसतसम्म छुट
एक्स्पोमा पुग्ने उपभोक्ताको सुविधाको लागि छुटको व्यवस्था गरिएको छ। एक्स्पोमा विद्युतीय सामग्रीमा १५ देखि ५५ प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको अध्यक्ष खाताखोले जानकारी दिए।
एक्स्पोमा एकसय ७० वटा स्टल हुने व्यवस्था गरिएको छ। जसमा एकसय वटा विद्युतीय सामग्रीका मात्रै स्टल हुनेछन्। जहाँ विभिन्न ब्राण्डका मोबाइल, एलईडी टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, एसी, कुकिङ रेञ्ज, कम्प्युटर, ल्यापटप, माइक्रो ओभनलगायत तीनसय थरीका विद्युतीय सामग्री प्रदर्शनी तथा बिक्री गरिने मेलाका मूल संयोजक माधवप्रसाद प्रजापतिले जानकारी दिए।
उनका अनुसार बाँकी ७० वटा नूनदेखि सुनसम्मका सामग्रीका स्टल हुने छन्। जहाँ भक्तपुरको मौलिक हस्तकला, काष्ठकला, धातुकलाका उत्पादन एवं सामग्री, खाद्यान्न, लत्ताकपडा, सुनचाँदीका उत्पादन तथा वस्तु प्रदर्शन एवं बिक्रीको लागि राखिने उनले बताए। त्यस्तै अटोमोबाइल र फर्निचरका सामग्रीसमेतको प्रदर्शनी र बिक्री स्टल हुनेछन्।
एक्स्पोमा विद्युतीय सामग्री प्रयोग गर्ने विधि सिकाउने कक्षसमेत व्यवस्था गरिएको प्रचारप्रसार संयोजक रुकेश रञ्जितले जानकारी दिए। एक्स्पो अवधिभर मनोरञ्जनको लागि डीजे, भक्तपुरको मौलिक एवं परम्परागत सांस्कृतिक तथा आधुनिक गीत र नृत्य प्रस्तुत गरिने भएको छ। ‘रोटेपिङ, मोनोरेललगायतको बालबालिकाको लागि फनपार्कसमेत व्यवस्था हुनेछ’, प्रचार संयोजक रञ्जितले भने, ‘एक्स्पोमा सांस्कृतिक फेसन सोसमेत प्रस्तुत हुनेछ।’
संघले आयोजना गर्ने यो तेस्रो एक्स्पो हो। यसअघि २०६८ सालको पुसमा भक्तपुर दरबार क्षेत्रस्थित पद्म माध्यमिक विद्यालयमा पहिलोपटक तीनदिने इलेक्ट्रोनिक्स एक्स्पो गरेको थियो। ६३ वटा स्टलको व्यवस्था गरिएको उक्त एक्स्पोमा तीन करोडको कारोबार भएको संघका अध्यक्ष खाताखोले जानकारी दिए।
त्यस्तै २०७१ सालको फागुनमा भक्तपुर बहुमुखी क्याम्पसमा पाँचदिने दोस्रो इलेक्ट्रोनिक्स एक्स्पो गरिएको थियो। ८० वटा स्टल व्यवस्था गरिएको उक्त एक्स्पोमा १० करोडको कारोबार भएको संघले जनाएको छ।