कमेडी अर्थात खिसीट्युरी
सीताराम कट्टेल ‘धुर्मुस’को नाम र सान बेग्लै छ। टेलिभिजन कार्यक्रम हुन् वा स्टेज सो, सामाजिक कार्यका लागि उनी प्रशंसित छन्। चर्चित हास्यव्यंग्य टेलिसिरियल ‘मेरी बास्सै’ मा उनी खड्काजी बनेका छन्। खड्काजीको अनुहार काटिएको छ। तालु फाटिएको छ। खड्काजीमार्फत् धुर्मुसले सम्पूर्ण खड्काहरू र तालु फाटेका व्यक्तिको हुर्मत लिएको ठहरियो। खड्काहरूले त्यसको विरोध गरे। अपांगता भएका व्यक्तिहरूले मिडिया हबको कार्यालयमै पुगेर विरोध गरे। ‘अपांग संघबाट पहिले सामान्य विरोध भयो, पछि उनीहरू कन्भिन्स भए,’ सीताराम भन्छन्।
बरु ‘कन्भिन्स’ गरियो, यसको संवेदनशीलता बुझिएन। आत्मसम्मानमा घोचपेच चलिरह्यो।
कुञ्जना घिमिरे ‘सुन्तली’ ‘मेरी बास्सै’ मा अगाडिका दाँत बाहिर निस्केको हुलियासहित वृद्धाको भूमिकामा अभिनय गरिरहेकी हुन्छिन्। उनले पनि ज्येष्ठ नागरिक समुदायमाथि व्यंग्य गरेकी छन्। ‘माग्ने बुढा’ को रोलमा केदार घिमिरेले सम्पूर्ण गरिबप्रति व्यंग्य गरेको अनुभूत हुन्छ। मानिसको व्यक्तिगत स्वभावलाई लिएर ठूलो समुदायको आत्मसम्मानमाथि मजाक गरिएको छ।
चर्चित टेलिसिरियल ‘हरिबहादुर-मदनबहादुर’ मा मदनबहादुर (मदनकृष्ण श्रेष्ठ) को अनुहारमा मासुको अस्वाभाविक डल्लो छ। बेलाबेला उनी त्यसलाई सुम्सुम्याइरहन्छन् पनि। के यसले अनुहारमा मासु पलाएका व्यक्तिहरूमाथि व्यंग्य गर्दैन ? ‘मेकअपम्यानले यसो गर्दा राम्रो हुन्छ भने, त्यसैले गरेको’, मदनकृष्णको मत छ। हरिबहादुर (हरिवंश आचार्य) ले पनि मुख बंग्याएर, आवाज बिगारेर त्यस्तै अनुहार हुने, उस्तै आवाज भएका मानिसमाथि व्यंग्य कसेका छन्। दशकौंदेखि चलेको दर्शक हँसाउने यो ‘सस्तो स्टाइल’ अझै अनवरत चलिरहेकै छ।
फिल्म ‘रेशम फिलिली’ र ‘होस्टेल रिटन्र्स’ मा मधेसी चरित्रलाई मुख्य चरित्रको सहायक र त्यसमाथि पनि हास्यपात्रका रूपमा प्रस्तुत गरियो। ‘होस्टल रिटन्र्स’ मा मधेसी युवा इन्जिनियरिङ कलेजको होस्टल आउँदा उसको हातमा शिवको मूर्ति हुन्छ। सामान्यतः अनुमान गर्न सकिन्छ, इन्टरनेट सर्वत्र छ, कुनचाहिँ नेपाली युवाले त्यसो गर्ला ? ‘यो त सीधै इतर समुदाय र संस्कृतिलाई ‘रेडिक्युल’ (उडाउने) उद्देश्यले प्रेरित छ’, फिल्म निर्देशक, समीक्षक नवीन सुब्बा भन्छन्, ‘यो ‘रेडिक्युल’ रेशम फिलिलीमा त झन् पराकाष्ठामा छ, त्यहाँ मधेसी चरित्रलाई बाख्रासँग शारीरिक संसर्ग राखिरहेका भाव मात्र होइन, पात्रले पिसाव फेर्दा बसेर फेर्ने गरेको देखाइएको छ।’
‘रेशम फिलिली’ रिलिजपछि केही मिडियाले मधेसी पात्र मुलधारमा स्थापित भएको प्रकृतिको फिचर पनि छापे। खासमा यी चलचित्रमा मधेसी चरित्रलाई उपाहास गरेर हास्य सिर्जना गर्न खोजिएको छ। ‘थाहा छैन किन यसैलाई नेपाली मिडियाले मधेसको मूलधारीकरण भनेको हो’, सुब्बाको प्रश्न छ, ‘यहाँ त मधेसको मूलधारीकरणभन्दा उनीहरूलाई हेय दृष्टिले मात्र प्रस्तुत गरिएको देखिन्छ।’
हाम्रा फिल्म, टेलिसिरियलमा नेवार समुदायका व्यक्तिले बोल्ने शैली टिपेर ‘ट’ लाई ‘त’, र ‘त’लाई ‘ट’ बोली व्यंग्य गर्न थालिएको उहिल्यैदेखि हो। ‘मेरी बास्सै’ को मुस्कान पासा यसैको उदाहरण हो। नयाँ फिल्म निर्देशकले पनि यस्ता पक्षमा खासै ध्यान दिएनन्। निर्देशकले यो संवेदनशीलता बुझेको भए ‘लुट’ को हाकु कालेको जन्म हुने नै थिएन। पछिल्लो समय नेपाली फिल्म र टेलिसिरियलमा जयनन्द लामाको अवतार भिन्न छ। ‘छक्का पञ्जा’ सिरिजदेखि ‘घामपानी’ सम्म उनी तामाङलगायत हिमाली समुदायले प्रायः ‘आकार’ लाएर बोल्ने लवजमा प्रस्तुत छन्। हास्यसिरियल होस् या फिल्म, यस्तै लबजमा प्रस्तुत हुने अर्की कलाकार हुन् डोमा ह्योल्मो। जयनन्द र डोमालाई बोल्न लगाइने लबजले सिंगो हिमाली समुदायको आत्मसम्मानमा कति ठेस पुग्छ ? निर्देशकहरूको ध्यान खासै गएको देखिँदैन। सिर्जनात्मक उत्पादन मानिने फिल्ममा यसरी अरूलाई गिज्याउनु त अब परम्पराजस्तै भयो।
प्रायः कमेडी शृंखलामा गरिब नै सबैभन्दा धूर्त, ठग र बदमास देखाइएको हुन्छ। फरक क्षमता भएकामाथिको यो ‘असभ्य व्यंग्य’ ले स्वस्थ समाज निर्माण गर्छ कि आफू मात्रै अब्बल ठान्ने परम्परागत समान्तवादी सौन्दर्य चेतको मलजल ? बहुरंगी, बहुभाषी र बहुसांस्कृतिक मनहरूलाई जोडेर एकताबद्ध र समृद्ध नेपाली राष्ट्रवादको निर्माण गर्छ कि हीनताबोधी मनोग्रन्थीको बढोत्तरी ?
आफूले निर्वाह गरेको चरित्रले आफ्नै समुदायलाई उडाएको छ भन्ने मर्मको बोध सम्बन्धित कलाकारलाई होला कि नहोला ? त्यस्ता टेलिसिरियल या फिल्म निर्देशन गर्नेले ती समुदायबारे, तिनका सामाजिक मनोविज्ञानबारे कतिको अध्ययन-अनुसन्धान गर्छन् ? यसरी कसैलाई होच्याएर व्यंग्य गर्नुले हामी बाँचिरहेको समाजमा कस्तो प्रभाव पार्ला ?
हास्यकलाकर्मीले हाम्रो समाजको खास अन्तर्य नबुझेसम्म उनीहरू मधेसीलाई व्यंग्य गर्न उनीहरूकै ‘लवज’ (हिन्दीमि िश्रत नेपाली भाषा) मा बोलेर उडाइरहनेछन्। रेडियोमा त निकै अघि ‘रामबिलास-धनियाँ’ नामक कार्यक्रम व्यापकै हिट थियो। यही रामविलास-धनियाँकै छविबाट नेपाली कलाक्षेत्रमा दीपकराज गिरी र दीपा श्री निरौलाको जन्म भएको हो, जबकि यी पात्रको जन्म मधेसी समुदायको सम्मानको उपज नभई ‘मधेसलाई खिसिट्युरी गर्ने पहाडी मनोविज्ञान’ को उपज थियो।
पान चपाइरहेको, टाउकोमा गम्छा बेरेको, हुँदाखाँदाको सेतो अनुहारमा कालो रंग पोतेर सन्दीप क्षेत्री मिठाईलाल जादव बनेर ‘ह्वाट द फ्लप’ मा हाजिर हुन्छन्। यो खासमा आममधेसी समुदाय, उनीहरूको जीवनशैली र बोलीवचनमाथिको ठूलो व्यंग्य हो। ‘पपुलर मिडियामा मधेसी समुदायलाई जसरी प्रस्तुत गरिएको छ, त्यसले त्यो समुदायप्रति ‘ह्युमिलेट’ गरिरहेको छ’, प्रोफेसर अरूण गुप्ता भन्छन्, ‘आफ्नो (एकल) दृष्टिकोणबाट मात्र समाजलाई हेरिँदाको नतिजा हो यो।’
राम्रा भनिएका फिल्ममा होचा मानिसलाई हास्य भूमिकामा खेलाएर हँसाउने परम्परा त झन् पुरानै हो। अरूको पहिचानलाई सम्मान नगर्ने र आफूलाई मात्रै केन्द्रमा राखेर हेर्ने परम्पराको उपज मान्न सकिन्छ यसलाई। विश्लेषक तुलानारायण साहको मत छ, ‘समाजमा स्थापित शक्ति सम्बन्धसँग सम्बन्धित छ यो। असहाय र प्रतिकार गर्न नसक्नेलाई जे गरे पनि हुन्छ भन्ने सोचाइले पनि यस्तो भएको हो।’
खासगरी टेलिभिजनका हास्य कार्यक्रममा धेरैजसो व्यंग्य फरक स्वभाव वा विशेषता भएकामाथि नै भइरहेको हुन्छ। नेवार, मगर, तामाङ, मधेसी, शेर्पा वा त्यस्तै अन्य आदिवासी जनजाति समुदायका कुनै व्यक्तिले प्रस्ट खस नेपाली भाषा बोल्न नसक्दा हास्यको विषय बनाइन्छ। सांसद एवं अखिलका अध्यक्ष नवीना लामाको लबजलाई लिएर सामाजिक सञ्जालमा धेरैले धेरैपटक खिसिट्युरी गरेको भेटिन्छ। यो उनीमाथि मात्रै होइन, उनी जोडिएको समुदायमाथिकै अपमान हो।
यो नेपाली कला क्षेत्रको मात्र समस्या भने होइन। केही वर्षअघि भारतीय हास्य प्रस्तोता कपिल शर्मा नेपाल आउँदा होटल याक एण्ड यतिमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको थियो, ‘तपाइँको कमेडी शोमा किन तेस्रोलिंगीलाई उडाउने गरी कन्टेन्ट निर्माण गरिन्छ ? ’ कपिल शर्मा बोल्न सकेनन्। किनभने, उनले पनि जानी-नजानी भारतीय संस्थापन मनोविज्ञानको पक्षपोषण गरिरहेका थिए कलामार्फत। आफूले निर्माण गरेको चरित्रमाथि यसरी फरक कोणबाट पनि औंलो ठडिन सक्छ भनेर उनले सायदै सोचेका थिए।
यी त केही नमुना टीभी सिरियल हुन्। यिनको सूची लामै हुन सक्छ। हरेक टेलिसिरियल, हास्यव्यंग्य कार्यक्रममा यस्ता कुनै जात विशेष, अपांग या कुनै समुदायका विशेष शैलीलाई लिएर गरिने व्यंग्य सहरमा चलिरहेकै छन्। तर, गम्भीर पक्षचाहिँ के हो भने जुन वर्ग, समुदाय, लिंग वा क्षेत्रलाई व्यंग्य गरिएको छ- आफैंलाई उडाएको सामग्री हेरेर उनीहरू पनि दंग हुन्छन्। ‘अरू त अरू शारीरिक रूपमा अशक्तप्रति पनि संवेदनशील छैनन् हाम्रा टेलिसिरियल’, अरूण गुप्तो भन्छन्, ‘आफूभन्दा फरक समुदायका मानिसलाई जोक बनाउँदा उनीहरूलाई मान्यता नदिएको र उडाएको ठहरिन्छ।’
हास्य कलाकारहरूले जातीय सद्भाव माथि उठाउने हिसाबले गह्रुंगो र कलात्मक व्यंग्य पस्किनुपर्छ भन्ने मत छ कलाकार हरिवंश आचार्यको। ‘कुनै-कुनै सन्दर्भमा कुनै विशेष जातको क्यारिकेचर गर्नुपर्ने पनि हुन सक्छ’, उनी भन्छन्, ‘तर, त्यो क्यारिकेचरले त्यो समुदायको प्रतिष्ठामा आँच पुर्याउनुहुन्न।’ उनीहरूले पछिल्लो समय एउटा सिरियल बनाएका छन्- ‘मदनबहादुर नेवारबहादुर’। त्यसमा हरिवंश नेवार बनेका छन्। मदनकृष्ण चाहिँ बाहुन्। ‘त्यो सिरियल बाहुनले हेर्दा पनि उसलाई चित्त दुख्दैन, नेवारले हेर्दा पनि चित्त दुख्दैन’, हरिवंश भन्छन्।
व्यंग्य अर्थात् खिसीटिउरी। समाजमा बहुसंख्यामा रहेकाहरूले आपूmभन्दा फरक स्वभाव भएकालाई जहिल्यै ‘सधँै खिसीटिउरी गर्छन् र मनोरञ्जन लिइरहन्छन्। व्यंग्य भनेकै अरूलाई हेपेर मजा लिने हो भन्ने चेतमा परिवर्तन आउनै बाँकी छ जबकि कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘देश, भाषा, शरीर, संस्कृतिलाई उडाएर गरिएको व्यंग्य स्वस्थ होइन। कलाकारले त समाज जोड्नुपर्छ।’
फिल्म र टेलिसिरियल पनि सिर्जनशील उत्पादन हुन्। यस्ता हरेक सामग्री निर्माण आफैंमा राजनीतिक क्रिया हो। यस्तो राजनीतिक क्रियामा शक्तिको अभ्यास गरिन्छ। त्यसैले मूलधारका सिरियलले मूलधारकै शक्ति-संरचना र त्यसको मनोविज्ञान आफूमा परावर्तित गराएका हुन्छन्। लेखक एवं समीक्षक उज्ज्वल प्रसाईंको मत छ, ‘शक्ति-संरचनाबारे आलोचनात्मक दृष्टि नभएका मानिसले बनाएका टेलिसिरियलमा अपांगता भएका, गरिब, महिला, दलित, मधेसी र जनजातिलाई त्यही शक्ति-संरचनाले जस्तै तल्लो दर्जा दिन्छन्।’
उपन्यासकार एलफ्रिड जेलिनेक (नोबेल पुरस्कार विजेता) को पनि त्यस्तै विचार छ। ‘साहित्य आवाजहीनहरूको पक्षधर हुन्छ।’ यसलाई कलाको व्यापक फलकमा राखेर हेर्नु जरुरी हुन्छ। अर्थात् व्यंग्य सत्ता र शक्तिशालीमाथि हुनुपर्छ। तर, हामीले सिरियलहरूमा देखिरहेको व्यंग्य फरक क्षमता भएका र सीमान्तकृतमाथि भइरहेको छ। कवि-स्तम्भकार अभय श्रेष्ठ भन्छन्, ‘फरक क्षमता भएकामाथिको व्यंग्य मूर्खता र संवेदनहीनताको हद हो।’
यस्तामा कलाकार मनोज गजुरेल अलिक भिन्न छन्। उनी प्रायः शक्तिशालीहरूलाई गिज्याइरहेका हुन्छन्। कहिले डोनाल्ड ट्रम त कहिले प्रचण्ड बनेर। गत तिहारमा आयोजित सिस्नुपानी देउसी भैलीमा पनि उनी प्रचण्डको डुब्लिकेट बनेर प्रस्तुत भए। ‘जात, धर्म, संस्कृति अति संवेदनशील विषय हुन्। तीमाथि हल्का टिप्पणी गर्नुअघि धेरैपटक सोच्नुपर्छ’, गजुरेल भन्छन्, ‘मानिसलाई ह्युमिलेट गर्नेखालका विषयमा सेल्फ एडिट गर्नुपर्छ। आफूले गर्ने व्यंग्यले समाजलाई जोड्छ कि तोड्छ भन्नेमा गम्भीर भएर सोच्नुपर्छ।’
आफूभन्दा फरक समुदाय, जातजातिलाई मजाक गरेर उडाएर बनाइएका सिरियल अब नेपाली समाजमा नौला होइनन्। तर, हास्यकलाकार दीपकराज गिरी यसो गर्नुलाई ‘उडाइएको’ मान्दैनन्। भन्छन्, ‘यसलाई उडाएको भन्न मिल्दैन। कमेडीबारे जानकारी नभएको व्यक्तिले भन्ने कुरा हुन् यी।’ उनको विचारमा सिरियलमा मधेसी वा नेवारी लवज बोलिनु ‘उसको मदर टोनमाथि न्याय गर्नु’ हो।
उनी यसलाई ‘विश्वव्यापी चलन’कै रूपमा दाबी गर्छन्। उनका अनुसार तराई मूलको मान्छेले शुद्ध नेपाली बोल्यो भने दर्शक कन्भिन्स हुँदैन। ‘जुन जातजातिलाई रिप्रिजेन्ट गरी सिरियलमा प्रस्तुत गरिन्छ, त्यसको मदर टोन आउनै पर्छ,’ गिरी भन्छन्, ‘कलाबारे सामान्य पनि ज्ञान नभएका मानिसले भन्ने कुरा हुन् यी। तर, सिरियलमा हसाउनकै लागि मात्रै नेवार राखिन्छ भने त्यो उडाएको भन्नुपर्छ।’
अहिले सबैभन्दा ‘चल्ने’ कमेडी फिल्म बनाउने उनै गिरी हुन्। कुनै समय उनको सिरियल ‘तीतो सत्य’ मा कविलाई उडाइन्थ्यो, मानौं कविता लेख्नु घोर अपराध हो। फिल्म ‘वडा नम्बर ६’ मा पनि कविलाई नै उडाइएको छ। आखिर किन उडाइन्छ कविलाई ? कवितालाई ? ‘कविको बानी हुन्छ- आफ्नो रचना कसैलाई सुनाइहालुँ र फिडब्याक लिइहालुँ’, ‘तीतो सत्य’का निर्देशक गिरी भन्छन्, ‘समाजमा कविको यथार्थ जे छ, त्यही गरेका हौं।’
आममानिसभन्दा कविको जीवन र चिन्तनप्रणाली केही फरक हुन्छ। अलिकति आवेग, अलिकति भावुकता, अलिकति संवेदना र अलि बढी आक्रोशले नै सामान्य मान्छेबाट उठेर एक व्यक्ति कवि बन्छ।
पहिलो संविधानसभामा समानुपातिक निर्वाचनमार्फत राज्य संयन्त्रमा पहुँच नभएका समुदायबाट चुनिएका सभासद्लाई पनि कमेडी सोहरूले व्यंग्य गरेका थिए। खासमा कुनै जातिमाथि उसको लवजलाई लिएर व्यंग्य गरिनु समाजमा जमेर बसेको जातिभेदी मानसिकताकै प्रतिफल हो। समाज नबुझेका र फिल्मलाई बौद्धिक र सिर्जनात्मक उत्पादन हो भन्ने गहिरो ज्ञान नभएका मानिसले बनाएका सिरियलमा यस्तो व्यंग्य हुने गर्छ।
‘जसको मातृभाषा खस नेपाली होइन, जसको जिब्रोमा त्यो भाषा अभ्यस्त छैन, त्यसले जसोतसो त्यो भाषा बोल्नु नै ठूलो कुरा हो। त्यो बोल्दा उसको आफ्नै भाषाको ध्वनि आउनु अस्वाभाविक होइन। यस्तो व्यंग्य गर्नेले खस नेपाली भाषीले नेवारी, तामाङ वा मैथिली बोल्नुपर्यो भने के हालत होला भन्ने महसुस गरेका छैनन्,’ अभय श्रेष्ठ भन्छन्, ‘व्यंग्य गर्नेले नबुझेको के भने शिक्षित नभए पनि ती सभासद् आफ्नो क्षेत्रका अग्र्यानिक बुद्धिजीवी थिए। खासमा उनीहरू आफ्नो समुदायको दुःख निदानको उपाय संविधानमा समावेश गर्न आएका थिए। तिनको भोगाइ र दुःख निवारणको उपाय राजधानीका कुलीन र उच्च शिक्षितले महसुस गर्न सक्ने कुरै थिएन।’
विविध भाषाभाषीको क्यारिकेचर गर्नु ठीक हो तर पात्रको भूमिकामा न्याय गरिनुपर्छ भन्छन् हास्यकलाकार जितु नेपाल। ‘पहिरन लगाउनु, क्यारिकेचर गर्नु भाषा नमरोस् भनेर हो। त्यसमा कुनै एउटा समुदायको पात्रलाई खराब, चोरको रूपमा प्रस्तुत गर्नु, कसैलाई नकारात्मक असर पुर्याउने गरी व्यंग्य गर्नु राम्रो भएन’, नेपाल भन्छन्, ‘दृष्टिविहीनकै या अपांगकै पात्रको अभिनय गर्दा पनि उनीहरूलाई पोजेटिभ्ली प्रमोट गर्नुपर्छ।’
फिल्म होस् या टेलिफिल्म, कन्टेन्ट निर्माणमा गम्भीरतापुर्वक सोचविचार, विवेचना र विश्लेषण गर्ने नेपालमा खासै अभ्यास छैन। समाजमा के सन्देश दिने भन्नेमा मिडिया र सिरियलहरू गम्भीर नभएको कारण पनि यस्तो भएको ठान्छिन्, समाजशास्त्री निर्मला ढकाल। ‘खस आर्य र बाहुन क्षेत्रीको बाहुल्य छ भने त्यो मेजर ग्रुपले अर्को माइनर ग्रुपलाई होच्याउने गर्छ। यसले एक जातिलाई सामाजिक बहिष्करणतिर लैजान्छ’, ढकाल भन्छिन्, ‘उदाहरणका लागि मिडियामा त्यस्तो सिरियल हेर्ने पुस्ताले मधेसीसँग वा नेवारसँग सिरियलमा देखाइएजस्तै खराब व्यवहार गर्नुपर्छ भन्ने सोच्छ।’ उनका अनुसार नलेज प्रडक्सन हाउस हो मिडिया। मिडियाले जस्तो ज्ञान दिन्छ, त्यस्तै नलेज लिन्छ समाजले। ‘समाजमा के सन्देश दिने भन्नेमा मिडिया गम्भीर देखिँदैन,’ उनको मत छ।
हाम्रा टेलिसिरियलहरूले गम्भीर हुनुपर्ने संवेदनशील विषयमा हँसाइरहेका छन्। यस हिसाबले कमेडी सिरियलले हाँसोमाथिको अपव्याख्या गरिरहेका छन्। त्यस्ता सिरियल बनाउने निर्देशकहरूले ‘युनिभर्सल भ्यालुज’ र ‘कलात्मक वजन’ बुझेका छन् कि छैनन् ? प्रश्न उठ्छ।
कानुनी बन्दोबस्त
मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा ३०५ को उपदफा २ ले ‘कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा निजले गाली गरेको मानिनेछ’ भन्ने व्यवस्था गरेको छ। सो व्यवस्थालाई अझ प्रस्ट गर्दै गाली मात्र नभई दफा ३०६ को उपदफा २ को खण्ड ‘क’ र ‘ग’ ले ‘बेइज्जत गरेको मानिने’ भन्ने व्याख्या गरेको छ।
त्यस व्याख्याअनुसार विद्युतीय सञ्चारमाध्यम, शब्द, आवाज, संकेत समेतबाट अरूको इज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी वा विश्वास गर्ने मनासिव कारण भई लेखेर, आचरण वा आकार वा चिह्न वा प्रचार प्रसारद्वारा पनि गाली र बेइज्जती गर्न नहुने प्रावधान राखिएको छ। त्यस्तो गाली वा बेइज्जती गराउने सञ्चार सामग्री पनि उत्पादन गरी बेचिने वस्तु भएकाले त्यस्तो रूपमा कुनै जाति समुदाय विशेषलाई होच्याउने प्रकृतिका सञ्चार सामग्री मनोरञ्जनका रूपमा बिक्री वितरण गर्नु पनि कानुनी दृष्टिमा अपराध नै हो।
उक्त उपदफाको खण्ड (ग)मा त अझ व्यंग्य गरी वा अरू कुनै घुमाउरो तवरले कुनै आक्षेप लगाएमा पनि बेइज्जती गरेको मानिनेछ भन्ने व्यवस्था गरिएको छ।
त्यस्तो गाली र बेइज्जती बाँचेका व्यक्तिको मात्र नभई मृत्यु भइसकेका व्यक्तिहरूको हुने व्यवस्था पनि कानुनमा छ। मरिसकेका व्यक्ति वा लोप भइसकेका समुदाय कुनै रहेछ भने उनीहरूको बेइज्जत गर्नेलाई समेत सजायको व्यवस्था गरिएको छ।
त्यस्तो कसुर गर्ने व्यक्तिलाई सो ऐनको दफा ३०७ ले दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ। तर, महत्वपूर्ण कुरा के छ भने त्यसरी होच्याउने, व्यंग्य गर्ने, गाली वा बेइज्जती गराउने काममा विद्युतीय वा अन्य आमसञ्चारका माध्यम प्रयोग भएको रहेछ भने दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायमा पनि थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था ऐनमा छ।
समाजमा यस्तो विभेद छ भन्ने प्रदर्शन गर्न, अध्ययन-अनुसन्धानका लागि, सूचना प्रवाह गर्नका लागि, सत्यतथ्य बाहिर ल्याउन त्यही उद्देश्यले त्यस्तो सामग्री प्रयोग भएको छ भनेचाहिँ गाली-बेइज्जती गरिएको नमानिने व्यवस्था पनि अपराध संहिताले गरेको छ। होच्याउने उद्देश्यले हो भने मात्र सजायको व्यवस्था गरिएको छ।
गिज्याएझैं लाग्छ
तुलानारायण साह, विश्लेषक
म ०४८ सालमा जनकपुरबाट काठमाडांै आएको हुँ। त्यतिबेला काठमाडौंमा तरकारी तथा फलफूल बेच्ने काममा मधेसी अनुहार प्रशस्तै देखिन्थे। तिनीहरूलाई व्यापारका लागि यहाँको समाजमा बोलिने भाषा बोल्नै पर्ने बाध्यता थियो। तर, तिनले बोल्ने नेपाली भाषा पहाडे समुदायले बोलेजस्तो हुँदैन्थ्यो। हिन्दी, मैथिली वा भोजपुरी मि िश्रत नेपाली हुन्थ्यो जो गैरमधेसीलाई सुन्दा उटपट्याङ लाग्थ्यो। पढेलेखेका मधेसीको पनि हिन्दी, मैथिली वा भोजपुरी टोन आइहाल्थ्यो।
सहर बजारमा घुम्दा, तरकारी वा फलफूल किन्दा त्यस्ता व्यापारीसँग पहाडे समुदायका व्यक्तिले तिनकै शैलीमा नेपाली बोलेर संवाद गरेको सुनिन्थ्यो। त्यो सामान्य कुरा थियो। तर, कहिलेकाहीँ सरकारी कार्यालय, सार्वजनिक स्थल वा कलेजमा मसँग पनि कसै-कसैले त्यस्तै हिन्दीमि िश्रत नेपाली भाषा प्रयोग गर्थे। मलाई त्यस्तो पटक्कै मन पर्दैनथ्यो। आफैंलाई गिज्याएजस्तो लाग्थ्यो। रिस पनि उठ्थ्यो तर केही गर्न सक्ने अवस्था हुँदैनथ्यो।
के कुराले तिनलाई हामीसँग गिज्याउने शैलीमा कुरा गर्न उक्साउँदो रहेछ जस्तो प्रश्न मनमा उब्जिरहन्थ्यो। म २७ वर्षदेखि कुपण्डोलमै बस्दै आएको छु। कुपण्डोलमा पञ्जावी अनुहारका मानिस टन्न देखिन्थे। तिनीहरूसँग पहाडेहरूले गर्ने कुराकानी, व्यवहार हेर्दा हामी मधेसीभन्दा फरक थियो। तिनीसँग हिन्दी मि िश्रत नेपाली वा मैथिली वा भोजपुरी मि िश्रत नेपाली बोलिँदैनथ्यो।
पञ्जावी त पक्का भारतीय हुन, उनीहरूको जनसंख्या पनि थोरै छन्। उनीहरूसँग काठमाडौंका मानिसले इज्जतपूर्ण व्यवहार गर्ने, शिष्ट शैलीमा बोल्ने तर हामी मधेसीसँग किन गिज्याउने, होच्याउने शैलीमा कुरा गर्छन् होलाजस्तो प्रश्नले सताइरहन्थ्यो। हामीलाई गिज्याइन्छ। चुप लागेर, सहेर वा हाँसेर टालिदिन्छौँ। त्यसले गिज्याउने मानिसको मनोबल बढ्छ।
यो ०४९÷५० तिरको प्रसंग हो। यी कुरा मनमा खेलिरहँदा म त्रिचन्द्र कलेजमा बीएससी पढ्थेँ। अब प्रतिवाद नगरी हुन्न भनेर जहाँ त्यस्तो व्यवहार हुन्थ्यो प्रतिवाद गर्न थालेँ। त्यसपछि दिनदिनै झगडा हुन थाल्यो। जहाँ पनि भनाभन भइहाल्ने। पछि ०५१ सालमा पुल्चोक इन्जिनियरिङ पढ्न थाल्दा पनि त्यही व्यवहार हुन्थ्यो र त्यसरी नै प्रतिवादको प्रयास गरिन्थ्यो।
०५३÷५४ सालतिरको कुरा हो। ‘बुधबार’ साप्ताहिक पत्रिकामा धीरेन्द्र प्रेमर्षिले ‘रामचलितरको चिठी’ शीर्षकमा साप्ताहिक कोलम लेख्न थाल्नुभयो। भाषाचाहिँ त्यही हिन्दी, मैथिली र भोजपुरी मिश्रित हुन्थ्यो। पुल्चोक क्याम्पसको होस्टलमा विद्यार्थीहरू बडो रमाइरमाई त्यो पत्रिका पढ्ने गरेको सम्झिन्छु। त्यस्तो लेखमा कन्टेन्ट जे भए पनि पहाडे साथीहरूका लागि त्यसको भाषाचाहिँ रमाइलो गर्ने मेसो बनेको थियो, हामी मधेसीका लागि चाहिँ गिज्याएको अनुभव हुन्थ्यो। हामी सुनेर पनि नसुनेझैँ गर्दै बाटो लाग्थ्यौँ।
त्यसपछि रेडियोमा ‘रामविलास-धनियाँ’को कार्यक्रममा त्यस्तै भाषाको प्रयोग हुन थाल्यो। टेलिभिजनका कतिपय कार्यक्रममा पनि मधेसीसँगको संवादमा त्यस्तै भाषा, शैली प्रयोग हुन थाल्यो। केही हदसम्म अहिले त्यो जारी छ।
यस्तो किन हुन्छ ? कसैले जानी-जानी किन कसैलाई होच्याएर बोली, व्यवहार गर्छन्। मलाई लाग्छ, यो समाजमा स्थापित शक्ति सम्बन्धसँग सम्बन्धित कुरा हो। कसैलाई पनि यदि यो ठानिन्छ कि यो असहाय हो, यिनलाई जे गरे पनि केही गर्न सक्दैनन्। अथवा मलाई मन लागेको कुरा भनिदिँदा पनि यसले के गर्न सक्छ र ? जस्तो विचार मनमा आयो भने मान्छेले अर्काको भावना नजरअन्दाज गर्न थाल्छन्।
काठमाडौंको समाजमा मधेसीबारे त्यस्तै धारणा छ। ०६० को दशकसम्म नेपाली राज्य र राजनीतिमा मधेसीको कुनै खास हैसियत थिएन। सामाजिक रूपमा पनि प्रतिवाद गर्न सक्ने हैसियत थिएन। त्यसकारण प्रारम्भमा व्यक्तिहरूलाई अनौपचारिक ठाउँमा गिज्याउने शैली प्रयोग गर्थे। पछि त्यो आम भयो र समुदायलाई गिज्याउन त्यो शैली प्रयोग हुन थाल्यो।
पञ्जावीहरू प्रतिवाद गर्थे। त्यसकारण तिनीहरूसँग अहिले पनि त्यस्तो होच्याउने व्यवहार हुँदैनन्। गोराहरू विश्वमै शक्तिशाली समुदाय हुन्। त्यसकारण तिनको भाषा, शैली नेपाली समाजमा अनुकरणीय बनेको छ।
(-कुराकानीमा आधारित)