शरदको वर्चस्वविरुद्ध ज्ञानेन्द्रको चुनौती
काठमाडौं : घरेलु टीट्वेन्टी फ्रान्चाइज क्रिकेट प्रतियोगितामा शरद भेषावकरले नेतृत्व गरेको टोली हरेक पटक फाइनलमा पुगेको छ। ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको टोलीले भने घरेलु फ्रान्चाइज प्रतियोगितामा शरद अनुपस्थित रहेको सन् २०१८ को धनगढी प्रिमियर लिग (डीपीएल) मा मात्रै फाइनल खेलेको छ।
नेपाली राष्ट्रिय टोलीका समेत महत्त्वपूर्ण यी दुई खेलाडीले कप्तानी गरेका दुई टोली शरदको भैरहवा ग्लाडिएटर्स र ज्ञानेन्द्रको ललितपुर प्याट्रियट्सबीच शनिबार त्रिवि क्रिकेट मैदानमा एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ।
विगतको तथ्य र जारी प्रतियोगिताको अघिल्लो चरणको प्रदर्शनले समेत यी दुई टोलीबीचको उपाधि भिडन्त रोमाञ्चक हुने निश्चित देखिन्छ। नेपालमा अहिलेसम्म आयोजना हुँदै आएको प्रमुख तीनमध्ये ईपीएल, डीपीएल र पोखरा प्रिमियर लिग (पीपीएल) को अहिलेसम्म भएका पाँचमध्ये शरदले चारवटा संस्करणमा कप्तानको हैसियतमा सहभागिता जनाएका छन्। ती चारवटै संस्करणमा टोलीलाई फाइनलसम्म पनि पुर्याएका छन्।
सन् २०१७ मा भएको डीपीएलको पहिलो संस्करण र गतवर्ष भएको ईपीएलको फाइनल खेलमा पारस खड्का नेतृत्वको टोलीसँग पराजय बेहोरेका शरदले यसै वर्ष भएको पीपीएलको पहिलो संस्करणको फाइनलमा भने पारसकै टोलीलाई पराजित गर्दै बदला लिएका थिए। यो वर्ष पारसले कप्तानी गरेको टोली फाइनलमा पुग्न सकेन। पारसको टोली विराटनगर वारियर्स राउन्ड रोबिन लिग चरणबाटै बाहिरिएको छ। त्यसैले शरदले कप्तानको हैसियतमा यस पटक उपाधिका लागि पारस नेतृत्वको टोलीको अनुपस्थितिमा ज्ञानेन्द्र नेतृत्वको टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो।
प्रतियोगिताको अघिल्लो चरणको प्रदर्शनलाई हेर्दा दुवै टोली सशक्त देखिएका छन्। उद्घाटन खेलमा विराटनगरसँग पराजित भएको ललितपुर त्यसपछिका सबै खेलमा जित हात पार्दै फाइनलसम्मको यात्रा तय गरेको टोली हो। त्यसको तुलनामा समूहगत चरणका अन्तिम दुई खेलमा पराजय बेहोर्दासमेत भैरहवा प्ले अफमा पुग्न सफल भएको हो। त्यसपछि प्ले अफ चरणका दुवै खेल जित्दै शरदको टोलीले फाइनलको यात्रा तय गरेको थियो।
प्रतियोगिताभर दुवै टोलीमा रहेका नेपाली र विदेशी खेलाडीले समेत सशक्त प्रदर्शन गर्दै आएका छन्। भैरहवाबाट युवा खेलाडी रोहित पौडेलसँगै कुशल मल्लले समेत महत्त्वपूर्ण खेलमा टोलीलाई विजयी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। यसैगरी विदेशी खेलाडीमध्ये डच रायन टेन डोस्काटे र भारतीय रभिइन्दर सिंहले प्रायः खेलमा महत्त्वपूर्ण योगदान पुर्याएकै छन्।
ललितपुरका लागि प्रतियोगिताभर भारतीय खेलाडी गौरव तोमर, जयकिशन कोल्सावाला र सन्नी पटेल हाबी देखिएका छन्। यसैगरी ललितनारायण राजवंशी, योगेन्द्रसिंह कार्की, पवन सर्राफजस्ता युवा खेलाडीको प्रदर्शन पनि उच्चस्तरको रहँदै आएको छ। त्यसैले शनिबार यी दुई टोलीको उपाधि भिडन्त रोमाञ्चक हुने निश्चित छ। दुवै टोलीका कप्तानले एकअर्काको क्षमता पनि राम्ररी बुझेका छन्।
त्यसैले जसले राम्रो खेल्यो उपाधि त्यही टोलीको पोल्टामा पर्ने पक्का छ। ‘ललितपुर राम्रो टोली हो। राम्रा खेलाडी पनि छन्। प्रतियोगिताभर उसले एकमात्र हार बेहोरेको छ’, भैरहवाका कप्तान शरदले भने, ‘त्यसैले सकेसम्म राम्रो खेल्ने प्रयास गर्नेछौं। दुवै टोली सशक्त रहेकाले त्यो दिन जसले राम्रो खेल्यो उपाधि त्यसैले जित्नेछ।’
ललितपुरका कप्तान ज्ञानेन्द्र पनि शरदको भनाइमा सहमत देखिन्छन्। ‘भैरहवासँग अन्तिमसम्म राम्रो ब्याटिङ गर्ने खेलाडी छन्। उनीहरूलाई कमजोर आँक्न सक्ने अवस्था छैन’, ज्ञानेन्द्र भन्छन्, ‘हाम्रो उद्देश्य पनि उपाधि नै हो। फाइनल खेल भएकाले सशक्त प्रदर्शन गर्ने प्रयास गर्नेछौंं।’