मरीचवाद
ख्यासीले निकै दिन सतायो। आमाले भन्नुयो, ‘उम्लिएको पानीमा मरीच हालेर खा।’ सिलौटोमाथि लोहोरो जब रगडिन लागेको थियो, मेरो हात टक्क अडियो। पिसिन लागेको मरीचमा एकाएक केही समीक्षकको अनुहार झल्कियो। मरीच हेरें, समीक्षकका टाउकाजस्ता। समीक्षकका अनुहारमा स्मरण दौडाएँ, ठ्याक्कै मरीचका गेडाजस्ता। पिस्न सकिन त्यसलाई।
र, जन्मियो यो मरीचवाद।
प्रकरण १
केही वर्षअघि जब पुस्तक बजारमा आयो, एक लेखक मित्रले समीक्षकको सूची बनाए। उनलाई हरेक मिडियामा समीक्षा छाप्ने नसा जाग्यो। त्यसका गौंडा पहिल्याउँदै गए। एक मिडियामा ‘ठेकेदार’ समीक्षक थिए। उनी आफूलाई समीक्षाको दुनियाँमा अब्बल सम्झिन्थे। लेखकहरू सकेसम्म उनलाई चिढ्याउँदैन थिए। भरसक खुसी तुल्याउनुमै हित ठान्थे। जब उनी बिच्किए, आफ्नो पुस्तकको बजारै सिद्धियो भन्ने अवस्था आउँथ्यो। ‘दाइ–दाइ’ भनेर भेट्दा–छुट्दै नमस्ते ठोक्थे।
उनले पनि त्यसै गरे। समीक्षार्थ समर्पण गर्न लगेका दुई थान पुस्तक थमाउन खोजे। ‘म अहिले यो पुस्तक बोकेर कहाँ जानु ? ’ समीक्षक महोदयले भने, ‘यसो गर, म कुनै दिन फोन गर्छु, भने ठाउँमा ल्याइदेऊ।’
नभन्दै भोलिपल्टै फोन आयो। अत्यन्त अपायकको महँगोत्तम रेस्टुरेन्टको ठेगाना दिँदै उनले भनेछन्, ‘भरे ५ बजे त्यहीँ भेटौं।’
संयोगवश दिन नेपाल बन्दको थियो। बबुरो लेखक स्कुटी चढेर आन्दोलनकारीका आँखा छल्दै निर्धारित समयमा निर्धारित स्थल पुग्यो। अभिवादन फर्काइनसक्दै समीक्षकको अर्डर सुरु भयो.. ब्ल्याक लेबल, मटन सेकुवा, ट्राउट फ्राई आदि।
‘जब उनी थप अर्डर गर्छन्, मलाई छातीमा मुङ्ग्राले हानेझैं लाग्थ्यो,’ ती लेखकले कहानी सुनाए, ‘किनकि, फुतुफुतु अर्डर गर्ने उनी भए पनि अन्त्यमा बिल तिर्ने मैं हुँ भन्ने मलाई हेक्का थियो। त्यतिका लागि उनले अघिल्लो दिन पुस्तक नलिएर त्यहाँ डाकेका थिए।’
‘यो देशमा को छ गतिलो लेखक ? ’ सोमरससँगै समकालीन चल्तीका साहित्यकारको नाम लिँदै पालैपालो उनले उछितो काडे, ‘छ्या, त्यस्ता पनि पुस्तक हुन्छन् ? ’ अनि, निचोड सुनाए, ‘खास लेख्ने मान्छे म हुँ।’
नलेखेका होइनन्, उनले केही पुस्तक लेखे। पारिवारिक प्रकाशन दायरामा छापे। कि बाँडे, कि भिडाए। बजारमा कुनै वितरकले राख्न मानेनन्। राख्नेले पनि केही महिना/वर्षपछि जस्ताको तस्तै फर्काए। न कसैले खोजे, न कसैले पढिदिए।
बजारमा खोजी–खोजी ज–जसका पुस्तक भटाभभट बिकिरहेका थिए, तिनलाई उनले सबैभन्दा गाली गरे। भाषामा अहम् भए पनि, भावमा कुण्ठा थियो। जलन थियो। पीडाबोध थियो। लेखक मित्रलाई ‘राम्रो समीक्षा’ को लोभ थियो। उनका हरेक भनाइमा समर्थन जनाइदिए। फगत सुने। चाहेर पनि टिप्पणी गरेनन्।
आम्दानीको सुको देख्नै नपाएको अवस्थामा केही हजारको मोटै बिल तिरे उनले। ‘डन्ट वरी’, बाटामा बाईबाईपछि समीक्षकले भने, ‘तिमीलाई चित्त बुझ्ने लेखिदिउँला।’
त्यही साता पत्रिकामा समीक्षा छापियो। सकारात्मक÷नकारात्मक दुवै पाटा केलाइएका थिए। एक ढंगको सन्तुलित थियो। लेखक पूर्ण प्रसन्न नभए पनि दुःखीचाहिँ भएनन्। तर, प्रकाशक खिन्न भए। उनले लेखकलाई सोधेछन्, ‘ती समीक्षकको कस्तो सत्कार गर्नुभयो ? ’ लेखकले वृत्तान्त कह्यो।
‘हत्तेरी,’ प्रकाशकले पछुतो जनाए, ‘थाहा पाएको भए उनलाई म आफैं पुस्तक दिन्थेँ। तपाईंले जति गर्नुभयो, त्यतिले आउने यति हो। जति गर्न सक्नुभएन, नकारात्मक कुरा त्यतिले आयो। नत्र सबै राम्रो मात्रै पथ्र्यो।’
नभन्दै अलिपछि शताब्दीकै झुर एउटा पुस्तकको ऐतिहासिक प्रशस्ति गाएर उनकै करकमलबाट समीक्षा छापियो।
प्रकरण २
बजारमा निकै लोकप्रियता पाइरहेको पुस्तकको एक मिडियामा सर्वाधिक झुर समीक्षा छापियो। यस अर्थमा झुर कि कुनै पक्ष राम्रा भनिएर लेखिएकै थिएन। त्यस्ता पुस्तकको समीक्षा नै गरिँदैन, जसमा राम्रा पक्ष केही नहुन्। पुस्तक लेखकले समीक्षाकर्तालाई फोन गर्यो।
लेखक : तपाईंले मेरो पुस्तक पढेर समीक्षा गर्नुभयो कि नपढी ?
समीक्षक : तपाईंले मलाई नपढी समीक्षा गर्ने मान्छे ठान्नुभयो ?
लेखक : पढेको भए यस्तै हुन्छ त ?
समीक्षक : म तीन दशकभन्दा लामो समयदेखि समीक्षा गरिरहेको छु, तपाईं फोगटिया आरोप लगाउने ?
लेखक : पत्याएँ मैले। त्यस्तो निकृष्ट किताबको किन समीक्षा गर्नुभयो त ? के त्यसमा राम्रा पक्ष केही थिएनन् ?
समीक्षक : मैले जे देखेँ, त्यही लेखेँ।
लेखक : तपाईंका आँखाले मान्छे हेरेर फरक देख्छ ?
समीक्षक : मलाई बढ्ता नसिकाउनुहोस्।
लेखक : तपाईं कुष्ठित हुनुहुँदो रहेछ।
समीक्षक : जे ठान्नुहोस्।
ती लेखकका अनुसार यस प्रकरणमा एउटा संयोगको ठूलो हात छ। दुईबीच सुमधुर सम्बन्ध थियो। दुवैले एउटै कालखण्डमा उही विधाका पुस्तक लेखे। लेखकलाई प्रकाशकले तानेर लग्यो। समीक्षक भनाउँदाको कसैले छापिदिएन।
त्यही कुण्ठा र विरक्ति समीक्षामा व्यक्त भयो।
स्रष्टाले मेहनत गरेर सिर्जना तयार गर्छ, तिनैबाट सौजन्यमा पाएको पुस्तक पढेजसो गरेर पाठक भड्काइदिन्छन्। कथित समीक्षाका नाममा। एउटा किताब किन्नुपर्दा दाँतबाट तिनको पसिना चुहुन्छ। तिनैले लेखकको हुर्मत लिइरहेका हुन्छन्।
प्रकरण ३
सर्वाधिक व्यापार गरेको फिल्मको समीक्षा एक पत्रिकामा छापियो.. ‘महाझुर।’ सबै कोणबाट खत्तम मात्र देखाइयो। फिल्मले व्यापारमा भने ऐतिहासिक कीर्तिमान बनायो। सर्वसाधारणले राम्रै तारिफ गरेको सुनियो।
फिल्म निर्देशक समीक्षकसँग रिसाए, ‘दर्शकले यस्तो मन पराइरहेका छन्, तपाईंले के आधारमा खत्तम भन्नुभयो ? ’
समीक्षक : यस्तो बेढंगको फिल्मलाई के म गतिलो भनिदिउँ ? ’
निर्देशक : दर्शकले के आधारमा मन पराए त ?
समीक्षक : दर्शकले मन पराएका सबै राम्रै हुन्छन् भन्ने छैन।
निर्देशक : के पुगेन त यसमा ?
समीक्षक : गुणस्तर।
निर्देशक : ५० लाखमा बन्ने नेपाली फिल्ममा करोडौं डलरमा बन्ने हलिउडको गुणस्तर खोजेर कहाँ पाइन्छ त ?
समीक्षक : तपाईं ठूलो छाती बनाउनुहोस्, समीक्षा सहने गर्नुहोस्।
निर्देशक : नसहेर के गर्नु, तपाईंहरूजस्ता प्रगति सहन नसक्नेको बोलवाला भएपछि। शाब्दिक झडप गतिलै चल्यो।
केही महिनापछि तिनै समीक्षक मूल टिममा जोडिएको फिल्म हलमा लाग्यो। लगानीसम्म उठाएन। ‘गुणस्तरयुक्त फिल्मको वकालत गर्नुहुन्थ्यो’, एउटा पार्टीमा ती निर्देशकले फ्याट्ट व्यंग्य ठोके, ‘पारा देखियो नि।’
‘हाम्रा दर्शक गुणस्तर बुझ्ने औकातमा पुगेकै छैनन्’, समीक्षकले तर्कैले जित्न खोजे, ‘यसको महŒव सय वर्षपछि थाहा हुन्छ।’
०००
भनाइ नै छ– ‘किन चाउरिइस् मरीच आफ्नै रागले।’ कतिपय समीक्षकको पारा हेर्दा यो चरितार्थ हुन्छ। अहम्ले चाउरिएको मनोवृत्तिले कृतिमाथि बज्र प्रहार गर्न पछि पर्दैनन् तिनीहरू। ‘ठूला’ लाई मान्दैनन्, ‘साना’ लाई गन्दैनन्।
त्यही रागले अरूलाई होइन, तिनैलाई चाउरी पारिदिन्छ। भइरहेको त्यही हो।
स्रष्टाले मेहनत गरेर सिर्जना तयार गर्छ, तिनैबाट सौजन्यमा पाएको पुस्तक पढेजसो गरेर पाठक भड्काइदिन्छन्। कथित समीक्षाका नाममा। एउटा किताब किन्नुपर्दा दाँतबाट तिनको पसिना चुहुन्छ। तिनैले लेखकको हुर्मत लिइरहेका हुन्छन्।
त्यस्तै निर्माता/निर्देशकको फेर समाएर फिल्म हेर्ने समीक्षकले टिकट काटेर हल जान चाहने दर्शक भड्काइदिन्छन्। हरेक सिर्जनामा श्रम परेको हुन्छ। लगानी फसेको हुन्छ। त्यसको मर्म पनि बुझ्न सक्नुपर्छ।
समीक्षक को हो ? उसको दक्षता/विज्ञता कति हुनुपर्छ ? ऊ निष्पक्ष छ÷छैन ? यसमा बहस हुनैपर्छ। समीक्षा न स्तुतिगान हो, न गालीगलौज। वस्तुनिष्ठ एवं आलोचनात्मक हेराइ हो समीक्षा। त्यो सन्तुलन ल्याउन इमान चाहिन्छ। विज्ञतामा विश्वसनीयता भएका व्यक्तिले मात्र यसमा हात हाल्नु उचित हुन्छ। जुन विधाको जे पाए पनि समीक्षा पड्काइहाल्ने प्रवृत्तिले न्याय गर्न सक्दैन।
अधिकांश समीक्षकले कृति वा सिर्जनालाई सूत्रमा हेर्ने गरेको पाइन्छ। लेखक वा निर्माताले त्यसमा मौलिकता दिन खोजेको पनि हुन सक्छ। समीक्षकले बनाएको साँचोमा आफूलाई ढाल्न उनीहरू राजी हुँदैनन्। आफ्नो दायरा जति संकुचित छ, स्रष्टा त्यहीँ साँघुरियोस् भन्ने आशयका समीक्षासमेत पाइन्छन्। ए प्लस बीको होल स्क्वायर इक्वेल ए स्क्वायर प्लस टुएबी प्सल बी स्क्वायर जस्तो गणितीय सूत्र लेखनमा प्रयोग हुँदैनन्।
सिर्जनाको मापक न स्रष्टा हो, न समीक्षक। पाठक वा दर्शक यसका मुख्य न्यायाधीश हुन्। समीक्षा पाठकको नाडी छामेर वैद्यले गर्ने उपचारजस्तो हुनुपर्छ। सामान्य रुघाखोकीमा लक्षण हेरेका भरमा टाइफाइडको औषधि चलाइहाल्ने कतिपय डाक्टरजस्तो समीक्षक हुनु हुँदैन। तर, अधिकांशतः त्यही भइरहेछ।
सबै लोकप्रिय सिर्जना राम्रा नै हुन्छन् भन्ने छैन तर राम्रा जति अवश्य लोकप्रिय हुन्छन्। धेरैले मन पराइरहेका कृतिलाई खोटैखोट देखाउने समीक्षक फगत प्रतिपक्षी बन्न चाहेको मात्र हो। वा, उसको कलमबाट पक्षपातको मसी चुहेको हो।
अर्थात्, यसमा मरीचवादले काम गरेको हो।
मरीचको गुणैगुण छ। लाभदायक पिरो फाल्ने यो आफैं भने सधैं चाउरिएको हुन्छ। ‘मरीचवाद’ ले कालान्तरमा स्रष्टालाई हानि पुर्याउँदैन, बरु तिनै समीक्षकलाई चाउरी पारिरहन्छ।
मरीचभन्दा पिरो भएर पनि खुर्सानी क्या पोटिलो, सलक्क परेको हुन्छ। बरु खुर्सानीकै एक प्रजाति छ ‘मरीचे खुर्सानी।’ त्यो अलि तिक्खर, अलि बैगुनी हुन्छ। किनकि, यसमा पनि ‘मरीचवाद’ छिरेको छ।
०००
‘मरीच–पानी खाइस् त ? ’ आमाले सोध्नुभयो।
‘खाइनँ’, मैले भनें, ‘बेसार–पानी खाएँ।’
‘मरीच पनि खा’, आमाले बट्टाबाट दिँदै भन्नुभयो, ‘छिटो निको हुन्छ।’
मैले लिएँ र खुसुक्क डस्टबिनमा फालिदिएँ।
मरीचको गुण मात्रै देख्ने आमालाई के थाहा, ‘मरीचवाद’ को पीडा कति हुन्छ भनेर !