शोकमा डुब्यो जुम्ला
जुम्ला : दाङ बस दुर्घटनामा ज्यान गुमाएका जुम्लाका ११ विद्यार्थीको शव बुझ्न विमानस्थलमा भेला भएका आफन्त हेलिकोप्टरबाट शव निकाल्नसाथ डाँके छाडेर रुवावासी गर्दा विमानस्थलमा सन्नाटा छायो ।
जुम्ला एअरपोर्टमा दाजु रुपेशजंग शाहीको शव बुझ्दै भाइ शिखर शाहीले भने, ‘मेरो दाई मात्रै होइन, पुरै घर परिवारको सपना तुहिएको छ, एसएलसी पास गरेको ६ बर्षपछि बल्ल दाजुलाई प्राविधिक शिक्षा पढ्न पठाएका थियौ, उनको मृत्युको खबरले आमाबाबा अचेतमा बोल्नै नसक्ने अवस्थामा छन् ।’ चन्दननाथ नगरपालिका १० का रितेश शाहीका बुवा मानबहादुर शाहीले आफ्नो जीवनभरको आशा र भरोसामा पानी फेरिएको बताउँछन् ।
‘लाखौं खर्च गरेर छोरालाई प्राविधिक शिक्षा पढाउने रहर, रहरमै सिमित भयो, जिल्लामै वन तथा वातवरण शिक्षा अध्ययन गर्ने ब्यवस्था भए दुर्गमका विद्यार्थीले यसरी ज्यान गुमाउन पर्दैन थियो कि’, आँशु झार्दे उनले भने ।