फेवातालमाथि वाटर वाक
पोखरा : गण्डकी प्रदेश सरकारले पोखरालाई दक्षिण एसियाकै पर्यटकीय सुविधा सम्पन्न सहरका रूपमा विकास गर्न नयाँ तीन पर्यटकीय आकर्षणका केन्द्र बनाउने योजना अघि सारेको छ। फेवातालमा हिँड्न मिल्ने गरी वाटर वाक, फेवातालको दक्षिण रानी वनमा जंगलमाथि हिँड्न मिल्ने क्यानोपी वाक र फेवातालमै पानीको फोहोरा मल्टिमिडिया फाउन्टेन निर्माण गर्ने प्रदेश सरकारको योजना छ।
चैतमा गण्डकी प्रदेश सरकारको आयोजनामा हुने लगानी सम्मेलनमा प्रदेशको राजधानी पोखरामा मात्रै नभएर सबै जिल्लामा के–कस्ता योजना अगाडि सार्न सकिन्छ भन्ने अध्ययन भइरहेको पनि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए। लम्सालका अनुसार वाटर वाक, क्यानोपी वाक, मल्टिमिडिया फाउन्टेन डीपीआर निर्माण गर्न ५०/५० लाख बजेट विनियोजन गरेको छ।
पोखरा महानगरपालिकाको सहकार्यमा एकीकृत फेवा ताल संरक्षण कार्यक्रमसहित क्यानोपी वाक, वाटरवाक र मल्टिमिडिया फाउन्टेनको विस्तृत परियोजना निर्माण गर्न प्रदेश सरकारले ८ करोड छुट्ट्याएको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव दिवाकर पौडेलले जानकारी दिए। निजी क्षेत्रको लगानीमा पोखरामा भएका साहसिक खेल प्याराग्लाइडिङ, अल्ट्रलाइट, बञ्जिजप, जिपफ्लाइन, क्यानोनिङ, र्याफ्टिङलगायत खेलले पर्यटकको बसाइ लम्ब्याउन प्रयत्न गरिरहेका छन्। सन् २०२२ सम्म गण्डकी प्रदेशमा २० लाख पर्यटक भिœयाउने प्रदेश सरकारको लक्ष्य छ। यसै लक्ष्यलाई पूरा गर्न पनि गण्डकी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरका पर्यटकीय केन्द्रका रूपमा आयोजना निर्माण गर्ने योजना ल्याएको मन्त्री लम्सालले बताए।
प्राकृतिक सुन्दरताको संरक्षण गर्दै मानवनिर्मित अन्तर्राष्ट्रिय स्तरका आकर्षक योजना लगानी सम्मेलनमा प्रस्तुत गर्ने गरी तयारी गरिरहेको मन्त्री लम्सालले बताए। पोखरा आउने पर्यटकको बसाइ औसत साढे दुई दिन मात्र हुने गरेकाले पोखरा र प्रदेशमै पर्यटकको बसाइ लम्ब्याउने गरी पर्यटक आकर्षण गर्न नयाँ योजना अघि सारेको प्रदेशको पर्यटन मन्त्रालयले बताएको छ।
फेवाताल र रानी वनमा बनाइने प्रोेजेक्ट अघि बढाउनुअघि केन्द्र सरकारसँग सहमति लिनु पर्नेछ। फेवाताल रामसार सूचीमा सूचीकृत भएको र रानीवन विश्व शान्ति जैविक विविधता उद्यान भएकाले केन्द्र सरकारसँग सहमति लिएर प्रदेश सरकारले डीपीआर तयार गर्ने योजनामा रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बताएको छ।
चैतभित्र डीपीआर तयार पारिने र त्यसपछि कुन मोडेलमा तीन वटै प्रोजेक्ट निर्माण अघि बढाइने प्रदेश सरकारले निर्णय गर्नेछ। पोखराको रानी वनमा बन्ने क्यानोपी वाकबाट जंगलमा हिँड्दै चराचुरुंगी, जंगली जनावर, ताल, पोखरा बजार, हिमाल अवलोकन गर्न मिल्ने गरी बन्ने भएकाले पर्यटकको आकर्षणको केन्द्र बन्ने प्रदेश सरकारको विश्वास छ।
जंगलमाथि करिब रूखको टुप्पोको लेबलमा हिँड्न मिल्ने गरी खम्बा गाडेर आकाशमा वाकिङ ट्रेल बनाइन्छ। यस्तै गरी तालको केही भागमा पानीमा हिँड्न मिल्ने गरी वाटर वाक निर्माण गरिने योजना प्रदेश सरकारको छ। तालमा पानीको फोहोरा निर्माण भने रत्नमन्दिर नजिकै फेवातालमा बनाइने प्रारम्भिक योजना छ।
पदयात्रामा जाने पर्यटक पछिल्लो समय काठमाडौंबाट सवारी साधनमा सोझै मनाङ, मुस्ताङतर्फको पदयात्रामा जाने र पदयात्रा सकेपछि पोखरालाई ट्रान्जिट मात्र बनाएर काठमाडांै प्रस्थान गर्न थालेको पोखराका पर्यटन व्यवसायी बताउँछन्। नेपालमा आउने पर्यटकमध्ये ६४ प्रतिशत पर्यटक पदयात्रा गर्न आउने गरेको तथ्यांक छ।
पोखरामा पर्यटकलाई आकर्षण गर्ने हिमाल र तालले नै हो। अन्नपूर्ण हिमालको काखमा पुगेका पर्यटकलाई पोखरामा रोक्न पनि पोखरामा नयाँ पर्यटकीय गन्तव्य बनाउनुपर्ने पोखराका पर्यटन व्यवसायीको सुझाव छ। यस्ता योजनाले पर्यटकको बसाइ लम्बिने पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईले बताए।